३३ किलो सुनको यस्तो छ नयाँ रहस्य, गोरे ग्याङ का तीन सय सदस्य जो फरार छन् , विशेष अनुसन्धान टोली गठन



हाम्रो इकोनोमि

 

तस्करीको गायब साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणको बाँकी अनुसन्धान गर्ने जिम्मा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पाएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय अनुसन्धान समितिले दुईपटक समय थपेर तीन महिना अनुसन्धान गर्दासमेत सुन भेट्टाउन नसकेपछि गृहमन्त्री रामबहादुर थापाले महाशाखालाई जिम्मा दिएका हुन् । सुन तस्करी र तस्करीसँगै जोडिएको सनम शाक्य हत्याका फरार अभियुक्त खोज्ने जिम्मा महाशाखाले पाएको छ ।

 

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गायब सुन र उक्त प्रकरणका फरार अभियुक्त खोज्ने जिम्मा पाएको बताए । ‘तस्करीको साढे ३३ केजी सुन खोज्ने जिम्मा महाशाखाले पाएको छ । यस क्रममा महाशाखाले घटनाका फरार अभियुक्त पनि खोज्नेछ । तर, अनुसन्धान चुनौतीपूर्ण छ,’ एसएसपी सिंहले भने, ‘अनुसन्धानलाई टुंगोमा पु-याउन महाशाखा जिम्मेवारी भएर लाग्छ ।’

 

 एसपीको नेतृत्वमा विशेष अनुसन्धान टोली
महाशाखाले सुन र अभियुक्त खोज्न एसपी सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा विशेष टोली बनाएको छ । टोलीले यसअघि सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धान प्रतिवेदन अध्ययन सकेको छ ।

 

एसएसपी सिंहले भने, ‘साढे ३३ केजी सुन तस्कर र सनम शाक्य हत्या सम्बन्धमा यसअघि गरिएका प्रतिवेदन अध्ययनसँगै फरार अभियुक्तको खोजी सुरु भइसकेको छ । यसका लागि विशेष टोली गठन भइसकेको छ । टोलीले आफ्नो काम सुरु गरिसकेको छ । केही दिनबाटै यसको परिणाम आउन थाल्नेछ ।’

 

 ‘गोरे ग्याङ’का तीन सय सदस्य जो फरार छन्
साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरे पक्राउ परिसकेका छन् । गोरेको सुन तस्करी धन्धामा संलग्न प्रहरी अधिकारीलगायत ४५ जना पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन् ।

 

सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानले विमानस्थलबाट तीन वर्षको अवधिमा यिनीहरू संलग्न एउटै समूहले ३८ क्विन्टल सुन तस्करी गरेको देखाएको छ । तर, ‘गोरे ग्याङ’का तीन सयजना अझै देशभित्र र देशबाहिर फरार रहेको दाबी छ । भारतमा लुकेका अधिकांश सुन व्यापारी रहेको अनुसन्धान समितिको प्रतिवेदनमा छ । १० व्यापारी भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा छन् ।

 

केही तस्कर दुबईमा छन् । त्यसमध्ये डिफ्युजन नोटिस जारी गरिएका बेनु श्रेष्ठ, प्रमोद श्रेष्ठ, किमित भनिने कालु अग्रवाल, सन्दीप खड्का, गुप्तलाल भनिने रोशनलाई इन्टरपोलमार्फत प्रक्राउ गरिने भनिएको छ । डिफ्युजन नोटिस जारी गरिएका रमेश उप्रेती भने पक्राउ परिसकेका छन् ।

 

तीन वर्षयता त्रिभुवन विमानस्थलबाट मात्रै एउटै समूहले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ मूल्यबराबरको झन्डै ३८ क्किन्टल सुन तस्करी गरेको भन्दै छानबिन समितिले अदालतमा मुद्दा पेस गरेको छ । बिगोबराबरको यो रकम ३७ लाख ९९ हजार ५ सय ६५ ग्राम अर्थात् ३ हजार सात सय ९९ केजी सुनको हो । समितिको प्रतिवेदनअनुसार गोरे समूहले सन् २०१५ देखि सुन तस्करी गर्दै आएको थियो ।

 

पूर्वराजदूत झा हत्या अनुसन्धानका कारण सुन तस्करी छानबिन प्रभावित
पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणका कारण सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान प्रभावित भएको छ । झा हत्याले गम्भीर मोड लिएपछि महाशाखाका अनुसन्धान टोली त्यसैमा केन्द्रित भएको छ । यद्यपि महाशाखाले भने सुन तस्करी अनुसन्धान सूक्ष्म ढंगले अघि बढेको बताएको छ ।

 

एसएसपी खत्रीका अंगरक्षक र ड्राइभरलाई पुनः थुनामा राख्न आदेश
विराटनगर/ उच्च अदालत विराटनगरले सनम शाक्य हत्या र सुन तस्करी मुद्दामा जिल्ला अदालतले तारेखमा पुर्पक्ष गर्ने गरी छाडेका दुई अभियुक्तलाई पुनः थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतको आदेश उल्टी गराउन माग गर्दै उच्च अदालतमा निवेदन गर्ने तीस थुनुवामध्ये प्रहरी हवल्दार विष्णुबहादुर खड्का र जवान अम्मरबहादुर थापालाई पुनः थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

 

बिहीबार भएको थुनछेक बहसपछि उच्च अदालतका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको इजलासले थुनामा रहेका एसएसपी श्याम खत्रीका अंगरक्षक खड्का र ड्राइभर थापालाई पुनः थुनामा राख्न आदेश गरेको हो । जिल्ला अदालतले गत ८ जेठमा जवान खड्कालाई १५ हजार धरौटी र हवल्दार थापालाई साधारण तारेखमा रहेर पुर्पक्ष गर्न पाउने गरी छाडेको थियो ।नयाँपत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...