प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)



 

भदौ दोस्रो सातासम्म एकीकृत भइसक्ने नेकपाका प्रदेश र जिल्ला कमिटीहरुमा लगभग बराबरीकै हैसियतमा भागबण्डा हुने भएको छ । जिल्ला कमिटीहरुलाई आफैं मिलाउन प्रेरित गरिएको एकता प्रक्रिया प्रदेश कमिटीमा पुग्दा आमरुपमा बराबरीकै सिद्धान्तमा हुन लागेको हो ।

 

स्रोतका अनुसार प्रदेश १ मा पूर्वएमाले ५० र पूर्वमाओवादीले ४१ प्रतिशत पाए पनि अन्य प्रदेशमा केही संख्यामात्र तलमाथि हुनेछ । प्रदेश ६ मा माओवादीले एमालेभन्दा एकजना बढी सदस्य पाएको छ ।

 

आम चुनावदेखि प्रदेश सरकार गठन हुँदै पार्टी एकतासम्म पुग्दा ६०/४०, ७०/३० र ५५/४५ को भागबण्डा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका तल्ला कमिटीहरुको एकीकरण भने बराबरी संख्यामा गर्न लागिएको हो । केही संख्या तलमाथि भए पनि आमरुपमा प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गर्दा बराबरीकै आधारमा दुवैतर्फबाट सदस्यहरु सिफारिस भइरहेका छन् ।

 

सातै प्रदेशमा एकीकरणका लागि गठित कार्यदलले जिल्ला कमिटीसम्मको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुर्‍याएका छन् । एकीकरण गर्दा हिजोको पूर्वएमाले वा माओवादीको आधारमा होइन योग्यता, क्षमता, आवश्यकता, बरिष्ठता जस्ता आधारमा व्यक्तिहरुको नाम कमिटीमा सिफारिस गर्न सर्कुलर पठाइएको महासचिव बिष्णु पौडेलले बताए ।

यसका साथै सम्बन्धित स्थानीय तहमा पूर्ववत् अवस्थामा कुन पार्टी जितेको थियो भन्ने कुरालाई पनि आधार बनाइएको छ ।

 

प्रदेश र जिल्ला कमिटी कसलाई कति ?

स्रोतका अनुसार ७ वटा प्रदेशमध्ये पूर्वएमालेले चार र पूर्वमाओवादीले तीन प्रदेशको अध्यक्ष पाउने गरी शीर्ष तहमा छलफल भएको छ । त्यसो गर्दा प्रदेश १, २, ६ र ७ मा पूर्वएमालेले प्रमुख नेतृत्व पाउनेछ भने प्रदेश २, ४ र ५ को नेतृत्व पूर्वमाओवादीका नेताले पाउनेछन् ।

 

प्रदेश अध्यक्ष जसले पाउँछ, प्रदेश सचिव अर्को पक्षले पाउनेछ । प्रदेश अध्यक्ष र सचिव केन्द्रीय कमिटी सदस्यबाट चयन हुने सम्भावना छ । प्रदेश इन्चार्ज स्थायी कमिटी र सहइन्चार्ज पोलिटव्यूरो सदस्यबाट पठाइने सम्भावना छ ।

त्यस्तै ७७ जिल्ला कमिटीमा पनि बराबरीकै आधारमा अध्यक्ष र सचिव तोकिने स्रोतले जनाएको छ ।

 

कुन जिल्ला कमिटीको नेतृत्व कसले पाउने भन्ने प्रदेश कमिटीको कार्यदलले नै सिफारिस गर्ने र सो आधारमा केन्द्रले निर्णय लिनेछ । केन्द्रले माथिबाट जिल्ला बाँडफाँट नगर्ने नेताहरुले बताए । जिल्लाको एकीकरण पनि प्रदेशकै मोडेलमा हुनेछ ।

 

स्रोतका अनुसार कर्णाली प्रदेशमा त्यहीँको कार्यदलले ५ जिल्लामा पूर्वएमाले र ५ मा पूर्वमाओवादीले अध्यक्ष पाउने गरी सिफारिस गरेको छ । प्रदेश ७ मा पूर्वएमालेले ६ र पूर्वमाओवादीले ३ जिल्लाको नेतृत्व पाउने गरी सहमति हुन लागेको छ । यद्यपि कार्यदलका सदस्य लक्ष्मी जोशीले २ जिल्लाको छलफल बाँकी रहेको बताए ।

 

त्यस्तै प्रदेश ५ मा पूर्वमाओवादीले ६ र पूर्वएमालेले ६ जिल्लाको नेतृत्व गर्ने गरी समझदारी बनेको छ । यद्यपि पूर्वमाओवादीले ५ र पूर्वएमालेले ७ जिल्लाको नेतृत्व लिने गरी अर्को छलफल पनि चलिरहेको स्रोतले जनाएको छ ।

 

गण्डिकी प्रदेशमा पूर्वएमालेले ७ र पूर्वमाओवादीले ४ जिल्लाको नेतृत्व पाउने गरी छलफल अघि बढेको छ । प्रदेश २ मा आठमध्ये दुवैले चार–चार जिल्लाको नेतृत्व गर्ने सम्भावना छ । प्रदेश १ मा पूर्वएमालेले ८ र पूर्वमाओवादीले ६ जिल्लाको नेतृत्व पाउने सम्भावना छ ।

 

प्रदेश ३ मा पूर्वएमालेले पूर्वएमालेले ८ र पूर्वमाओवादीले ५ जिल्लाको नेतृत्व पाउने गरी अनौपचारिक छलफल अघि बढेको छ । कार्यदलको नेतृत्व गरिरहेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भने जिल्ला नेतृत्वको बारेमा निर्णय नभएको बताइन् ।

 

भूगोलका ७७ जिल्ला कमिटीमध्ये पूर्वएमालेले बढीमा ४४ र पूर्वमाओवादीले ३३ जनाअध्यक्ष पाउने संकेत देखिए पनि तल्ला कमिटीलाई नै नेतृत्व टुंग्याउन दिँदा अझ राम्रोसँग एकीकरणको भावना व्यक्त हुने नेताहरुको बुझाइ छ । सकेसम्म तलबाटै मिलाएर पठाउने र नमिलेका ठाउँमा मात्र केन्द्रबाट मिलाउने मोडालिटी अपनाइँदैछ ।

 

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने– जिल्लाहरुले आ–आफ्नै मोडेलमा काम गरिरहेका छन् । आमरुपमा संख्यामा एक दुई सिट तलमाथि भए पनि समानताकै आधारमा एकीकरण हुँदैछ ।

प्रदेशको सिट बाँडफाँट यस्तो छ


 

पार्टी स्थाायी कमिटीले गठन गरेका कार्यदलहरुले प्रदेश कमिटीमा रहने सदस्यहरुको सिट बाँडफाँड टुंगो लगाउँदैछन् । प्रदेश ४ र ७ बाहेक अन्य कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीले कति–कति सिट पाउने भन्ने टुंगो लागिसकेको छ ।

 

प्रदेश १ः प्रदेश नम्बर १ को प्रदेश कमिटी र स्थानीय कमिटीहरुको एकीकरणका लागि गठित कार्यदललमा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले सदस्य छन् । यो कार्यदलले २०७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १२२ र पूर्वमाओवादीबाट ८५ सदस्य रहने सहमति गरेको छ ।

यो भनेको पूर्वएमाले ५९ प्रतिशत र पूर्वमाओवादी ४१ प्रतिशत हो ।

प्रदेश १ को प्रदेशसभामा तत्कालीन एमालेको एकल बहुमत थियो । सोही आधारमा कमिटीहरुको एकीकरण गर्न लागिएको नेताहरुले बताएका छन् ।

 

प्रदेश २ः प्रदेश २ को पार्टी एकीकरण कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, प्रभु साह र नागेन्द्र चौधरी सदस्य छन् । कार्यदलले एक चरण सबै जिल्लाका नेताहरुसँग छलफल गरेको मण्डलले जानकारी दिए ।

 

२१५ सदस्यीय रहने प्रदेश कमिटीमा पूर्व एमालेबाट १०८ र पूर्व माओवादीबाट १०७ सदस्य रहने प्रस्ताव गरिएको छ ।

प्रदेश ३ः प्रदेश नम्बर ३ का स्थानीय कमिटी एकीकरण गर्न गठित कार्यदलमा अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशिनाथ अधिकारी र नारायण दाहाल सदस्य छन् । २१७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट ११६ र पूर्वमाओवादीबाट १०१ सदस्य रहने सहमति भएको छ । यो भनेको ५४ प्रतिशत र ४६ प्रतिशत हो ।

 

गण्डकी प्रदेशः गण्डकी प्रदेशका स्थानीय कमिटी एकीकरण कार्यदलमा किरण गुरुङ, हरि अधिकारी, जगत विश्वकर्मा र हितराज पाण्डे सदस्य छन् । १८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादी कति कति रहने भन्ने टुंगो नलागेको गुरुङले बताए । स्रोतका अनुसार पूर्वएमालेबाट ९९ र पूर्वमाओवादीबाट ८८ जना रहने गरी प्रदेश कमिटीको एकीकरण गर्ने बारे छलफल भइरहेको छ ।

प्रदेश ५ः प्रदेश नम्बर ५ का कमिटी एकीकरण गर्न गठित कार्यदलमा शंकर पोखरेल, दलबहादुर राना, मणि थापा र गणेशमान पुन छन् । २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले १०६ र पूर्वमाओवादी ९७ जना रहने सहमति भएको छ

 

कर्णाली प्रदेश: कर्णाली प्रदेशको कार्यदलले आफ्नो प्रतिवेदननै बुझाइसकेको छ । कार्यदलमा युवराज ज्ञवाली, जनार्दन शर्मा,यमलाल कडेल,मायाप्रसाद शर्मा छन् । १७५ सदस्यीय प्रदेश कमिटीमा पूर्व माओवादीबाट ८८ र पूर्व एमालेबाट ८७ सदस्य रहने सहमति भएको छ ।

 

प्रदेश ७ः प्रदेश नम्बर ७ का कमिटीहरुको एकीकरण गर्ने कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मी जोशी छन् । १८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १०० र पूर्वमाओवादीबाट ८३ जना राखेर एकीकरण गर्ने सहमति भएको छ ।

 

रामेछापको मोडल

नेकपाका तल्ला कमिटी एकीकरणमा रामेछाप जिल्लाको मोडल धेरै जिल्लामा उपयुक्त हुने भन्दै पार्टीभित्र बहस शुरु भएको छ । प्रदेश ३ कमिटीले रामेछाप जिल्लामा एकीकरण गर्न गठन गरेको कार्यदलले सहमतिमै जिल्ला कमिटी र स्थानीय तह हुँदै वडासम्मको एकीकरण मोडल तय गरेको छ ।

 

जसअनुसार जिल्ला कमिटी बराबरीका आधारमा एकीकरण हुनेछ । पूर्वएमालेले ६९ र पूर्वमाओवादीले ६६ सदस्य पाउने सहमति भएको केन्द्रीय सदस्य तथा कार्यदलमा रहेका नेता माधव ढुंगेलले बताए ।

त्यस्तै स्थानीय तह कमिटी एकीकरण गर्दा पूर्वएमालेले जितेका नगर र गाउँपालिकाको अध्यक्षसहित ५५ प्रतिशत पूर्वएमाले र सचिवसहित ४५ प्रतिशत पूर्वमाओवादीले पाउनेछ ।

 

पूर्वमाओवादीले जितेको स्थानीय तहमा सोही मोडलअनुसार पूर्वएमालेले सचिवसहित ४५ प्रतिशत पाउनेछ । कांग्रेसले जितेका स्थानीय तह र वडामा बराबरी सहभागितामा एकीकरण गर्ने सहमति भएको अर्का केन्द्रीय सदस्य युवराज चौलागाईले बताए ।

 

त्यसो गर्दा रामेछापमा ५ स्थानीय तहको अध्यक्ष पूर्वएमाले र ३ वटाको पूर्वमाओवादीले पाउनेछ । वडाहरु पूर्वएमालेले ३५ र पूर्वमाओवादीले २९ वटामा नेतृत्व गर्नेछ । रामेछापको यो मोडल अन्य जिल्लामा पनि अनुसरण गर्न सकिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको