नेकपाको तल्ला कमिटी एकीकरण : प्रदेश र जिल्लामा यस्तो छ मापदण्ड



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छ । यसकै आधारमा पूर्वएमाले र माओवादीका तल्ला कमिटीहरू एकीकरण गरिने नेताहरूले बताएका छन् ।

 

‘एउटा विधि, प्रक्रिया र मापदण्डभित्रै रहेर मूल नेतृत्व तथा संख्यात्मक हिस्सेदारी टुंग्याउने गरी छलफल चलिरहेको छ,’ प्रदेश १ कार्यदल सदस्य भीम आचार्यले भने, ‘सकेसम्म मूल नेतृत्व पनि टुंग्याउने प्रयास गर्छौँ, टुंगिएन भने केन्द्रीय सचिवालयमा सिफारिस गर्छौँ ।’

 

कार्यदलहरूले जिल्ला र प्रदेशमा अध्यक्षलाई मूल नेतृत्व मानेर संख्यात्मक हिस्सेदारी हुने गरी एकता मोडालिटी तयार पारिरहेका छन् । अध्यक्ष केपी ओली र प्रचण्डले साउन मसान्तभित्र एकीकरण प्रतिवेदन बुझाउन दिएको निर्देशनअनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा एकीकरणसम्बन्धी छलफल तीव्र भएका छन् ।

 

अधिकांश कार्यदल संख्या र नामावली टुंग्याएर प्रदेश र जिल्लाका अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमा सिफारिस गर्ने तयारीमा छन् । नेकपाको विधानअनुसार दुवै तहमा अध्यक्ष र सचिव मात्र पदाधिकारीका रूपमा रहनेछन् भने केन्द्रले इन्चार्ज र सहइन्चार्ज खटाउनेछ ।

 

सबै जिल्लामा एकीकरण कार्यदल
जिल्लामा एकीकरण टुंग्याउन पूर्वएमाले र माओवादीका जिल्ला इन्चार्ज तथा अध्यक्ष र पदाधिकारी रहेको पाँचदेखि सातजनाको कार्यदल बनेका छन् । सबै जिल्लामा कार्यदलले संख्या र नेतृत्वमा छलफल चलाइरहेको प्रदेश ४ का कार्यदल सदस्य जगत विश्वकर्माले बताए ।

 

नेकपाको नियमावलीले १ सय २५ जनाको जिल्ला कमिटी हुने, तर एक संघीय निर्वाचन क्षेत्रबराबर १० जना थप्न सक्ने व्यवस्था गरेको छ । मन्त्री, सांसद र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि जिल्ला र त्यसभन्दा तलका पार्टी कमिटीमा रहन नपाउने नेकपाको सचिवालयले निर्णय गरेको छ ।

 

नेतृत्व बाँडफाँडको मोडल
केन्द्रीय सचिवालयले सातवटै प्रदेशका कार्यदलले प्रतिवेदन बुझाइसकेपछि प्रदेश र जिल्लाको नेतृत्व टुंग्याउनेछ । केन्द्रीय सचिवालयका एक सदस्यका अनुसार पूर्वएमाले र माओवादीमध्ये एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव पाउनेछन् ।

 

नेकपाको विधानले प्रदेश र जिल्लामा इन्चार्ज, अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने व्यवस्था गरेको छ । तर, एकीकरणको स्पिरिटअनुसार सन्तुलन मिलाउन प्रदेश र जिल्ला दुवैतिर सहइन्चार्जको समेत व्यवस्था गर्ने तयारी भइरहेको ती सदस्यले बताए ।

 

 

प्रदेश एकीकरण रिपोर्ट  प्रदेश १ (१४ जिल्ला)
कार्यदल :भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले
प्रदेश कमिटी : २०७ सदस्यीय
पूर्वएमालेबाट १२२ र माओवादीबाट ८५ (टुंगिएको)
प्रदेश अध्यक्षका दाबेदार : जगन्नाथ खतिवडा, राम कार्की, सावित्रीकुमार काफ्ले

 

 

अन्तिम तयारी : गृहकार्य अन्तिम चरणमा पुगेकाले दुई दिनभित्र प्रदेश संगठन कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएर सचिवालयलाई बुझाउने तयारी भइरहेको कार्यदल सदस्य भीम आचार्यले बताए । प्रदेश अध्यक्ष र सचिवका दाबेदारहरूको नामसहित प्रतिवेदन बुभाउने तयारी छ । प्रदेश कमिटी टुंगो लागेलगत्तै १४ जिल्लाको संख्या र नेतृत्वसहितको सिफारिस गर्ने तयारी छ । यीमध्ये तत्कालीन माओवादी केन्द्रले झापा, मोरङ र सुनसरीमध्ये एकसहित कम्तीमा चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।

 

 

प्रदेश २ (८ जिल्ला)
कार्यदल : सत्यनारायण मण्डल, विश्वनाथ साह,
नागेन्द्र चौधरी र प्रभु साह
प्रदेश कमिटी :२१५ सदस्यीय (५ प्रतिशत रिक्त राखिने)
पूर्वएमाले र माओवादीबाट हाराहारी संख्या (टुंगो लाग्न बाँकी
अध्यक्षका दाबेदार : नागेन्द्र चौधरी, शत्रुधन महत्तो, प्रभु साह, विश्वनाथ साह

 

 

अन्तिम तयारी : दुई दिनभित्र प्रदेश संगठन कमिटीको संख्या र नाम टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी भइरहेको कार्यदल सदस्य सत्यनारायण मण्डलले बताए । प्रदेश कमिटी र जिल्ला कमिटीमा समेटिने संख्या र नेतृत्व पनि हाराहारी नै हुने गरी छलफल चलिरहेको उनले जनाए । पूर्वएमालेले कम्तीमा पाँच र माओवादी केन्द्रले कम्तीमा चार जिल्लामा नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । तर, कार्यदल सदस्य मण्डलले एउटै पार्टी भइसकेपछि बाँडफाँडभन्दा पनि आवश्यकता र पार्टी हितलाई ध्यान दिएर कमिटीको संख्या र नेतृत्व टुंगो लगाउनेगरी समझदारी बन्दै गएको बताए ।

 

 

प्रदेश ३ (१३ जिल्ला)
कार्यदल : अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ
अधिकारी र नारायण दाहाल
प्रदेश कमिटी :२१७ सदस्यीय
संख्या टुंगो लागिसकेको छैन । तर, पूर्वएमालेको जोड ६०÷४० र पूर्वमाओवादीको जोड ५५÷४५ को अनुपातमा प्रदेश कमिटी बनाउनुपर्नेमा छ ।
अध्यक्षका दाबेदार : पशुपति चौलागाईं, काशीनाथ अधिकारी, नारायण दाहाल

 

 

अन्तिम तयारी : कार्यदल सदस्यहरूले काठमाडौंसहित १३ भूगोलका जिल्ला र चारवटा विशेष जिल्ला कमिटीसहित १७ कमिटीको संख्या र नेतृत्व कसले लिनेबारे छलफल चलिरहेको छ । यसमा टुंगो लागेपछि मात्र प्रदेश कमिटी र जिल्लामा समेटिने नाम एकैपटक बुझाउने कार्यदलको तयारी छ । ‘हामी पहिले जिल्ला तहको संख्या र नेतृत्व सकभर सर्वसम्मत गर्ने कसरतमा छौँ,’ कार्यदल सदस्य अग्नि सापकोटाले भने, ‘तल टुंगिएलगत्तै तीन दिनभित्र प्रदेश कमिटी पनि टुंग्याउने गरी छलफल गरिरहेका छौँ ।’

 

 

अहिलेसम्म पूर्वमाओवादीले दोलखा र मकवानपुरको नेतृत्व पूर्वएमालेलाई छाडेको छ । सिन्धुली, रामेछाप, चितवन र रसुवासहित कम्तीमा चार जिल्लाको नेतृत्वमा माओवादीको जोड छ । रामेछापमा पूर्वएमालेबाट ६९ र माओवादीबाट ६६ जना रहेको जिल्ला कमिटी बनाउने सहमति भएको छ ।

 

अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा पूर्वमाओवादीले अनुकूलताका लागि जिल्ला अध्यक्षकै लागि बढी जोड गरेको छ । तत्कालीन एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल सांसद रहेकाले पनि स्वाभाविक नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ । अन्य जिल्लामा छलफल जारी छ । प्रदेश ३ का सबै जिल्लामा तत्कालीन एमालेको बढी संख्या रहने गरी कमिटी बन्दै छ ।

 

गण्डकी प्रदेश (११ जिल्ला)
कार्यदल : किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी
अध्यक्षका दाबेदार : किरण गुरुङ, तुलबहादुर गुरुङ, हितराज पाण्डे, हरि अधिकारी
प्रदेश कमिटी : १८७ सदस्यीय
पूर्वएमाले र माओवादीबाट ६०/४० या ५५/४५ को अनुपातमा टुंग्याउने गरी छलफल

 

 

अन्तिम तयारी : २८ भदौभित्र प्रदेश संगठन कमिटी र ९ वटै जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउन निर्णायक बैठक गरिने कार्यदल सदस्य जगतबहादुर विश्वकर्माले बताए । अहिलेसम्म मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच–पाँचजनाको कार्यदलले छलफल चलाइरहेको छ । पूर्वमाओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ ।

 

प्रदेश ५ (१३ जिल्ला)
कार्यदल : शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन
प्रदेश कमिटी : २०३ सदस्यीय
अध्यक्षका दाबेदार : दलबहादुर राना, मणि थापा, गणेशमान पुन

हाराहारी संख्यामा समावेश गर्ने गरी छलफल चलिरहे पनि अन्तिम टुंगो लागिसकेको छैन ।

 

अन्तिम तयारी : कार्यदल सदस्य मणि थापाका अनुसार २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र माओवादीबाट हाराहारीको संख्या रहने गरी प्रदेश कमिटीको नाम टुंग्याउने अन्तिम तयारी भइरहेको छ । प्रदेशका १३ जिल्लामध्ये पूर्वी रुकुम, प्युठान, रोल्पा र बर्दियामा पूर्वमाओवादीले अध्यक्षको दाबी गरेको छ । पूर्वएमालेले रुपन्देही, पाल्पा, दाङ, गुल्मी, बाँके, अर्घखाँची र नवलपरासीलगायत जिल्लामा नेतृत्व दाबी गरेको छ ।

 

प्रदेश ६ (९ जिल्ला)

कार्यदल : युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा
प्रदेश कमिटी : १७५ सदस्यीय
पूर्वएमालेबाट ८७ र माओवादीबाट ८८ जना
अध्यक्षका दाबेदार : मायाप्रसाद शर्मा, यामलाल कँडेल, गोरखबहादुर बोगटी, लक्ष्मी पोखरेल

 

अन्तिम तयारी : हाराहारी हैसियतमै प्रदेश र जिल्ला कमिटी बनाउने गरी संख्या टुंग्याएर कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रदेशको संख्या टुंगो लागिसकेकाले नेतृत्व मात्र टुंग्याउन बाँकी छ । प्रदेशका १० जिल्लामध्ये पछिल्लो निर्वाचनको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व पाँच–पाँच हुने गरी टुंग्याउने तयारी छ । कार्यदलका सदस्य मायाप्रसाद शर्माले प्रदेशको संख्या टुंगो लागिसकेकाले जिल्लामा छलफल केन्द्रित भएको बताए । ‘सकभर तलै नेतृत्व पनि टुंग्याउने प्रयासमा छौँ, टुंगिएन भने पनि माथि सिफारिस गर्छौँ,’ शर्माले भने ।

 

प्रदेश ७ (९ जिल्ला)
कार्यदल : भीम रावल, लेखराज भट्ट, कर्ण थापा र
लक्ष्मीदत्त जोशी
प्रदेश कमिटी १८३ सदस्यीय
कमिटीमा कसको कति रहने भन्नेबारे छलफल चलिरहेको छ ।  अध्यक्षका दाबेदार : कर्णबहादुर थापा, लक्ष्मीदत्त जोशी

 

अन्तिम तयारी : कार्यदल सदस्य कर्ण थापाका अनुसार प्रदेश र जिल्लास्तरमा एकीकरणका लागि अन्तिम छलफल चलिरहेको छ । एक–दुई दिनभित्र प्रदेश कमिटी टुंगो लाग्ने उनले बताए । पूर्वमाओवादीले नौमध्ये चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको