तीन राप्रपाबीचको एकता भाँडियो, राणाको पार्टीमा भूकम्प, थापालाई कारबाही गर्न  प्रजातान्त्रिकभित्रै लबिङ



हाम्रो इकोनोमि

 

एजेन्डाको विषयमा विवाद हुँदा तीन राप्रपाबीचको एकता प्रक्रिया अवरुद्ध बनेको छ ।  कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वका राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीचको  एकता प्रक्रिया अवरुद्ध बनेको हो ।

 

तीन पार्टीबीचको एकीकरणका लागि राप्रपा र राप्रपा प्रजातान्त्रिकले वार्ता टोली नै गठन गरेर छलफल प्रक्रियालाई अघि बढाइसकेको अवस्थामा एकीकरण प्रक्रिया अवरुद्ध बनेको हो ।
कमल थापा नेतृत्वको राप्रपाले राप्रपा प्रजातान्त्रिक एजेन्डाको विषयमा स्पष्ट नभएको भन्दै वार्ता प्रक्रिया अवरुद्ध भएको घोषणा गरेको हो ।

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकको हिन्दूराष्ट्र र राजसंस्थाको विषयमा स्पष्ट एजेन्डा स्पष्ट नभएकाले वार्ता प्रक्रिया स्थगन भएको बताउँदै आफ्नो पार्टी पूर्ववत एजेन्डामा स्पष्ट भएको बताएका छन् ।

 

राप्रपाका तर्फबाट गठित वार्ता टोलीका संयोजक  तथा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी एकताको पक्षमा रहेको भए पनि सैद्धान्तिक विषय प्रष्ट नभएको वार्ता प्रक्रिया अवरुद्ध बनेको बताए । ‘एकताका लागि भनेर एक चरणमा छलफल पनि भएको हो । तर पछिल्लो समय सैद्धान्तिक रूपमा  राप्रपा प्रजातान्त्रिकमा केही समस्या देखिएकाले अध्यक्षको निर्देशनमा वार्ता प्रक्रिया  रोकिएको छ’, तामाङले रातोपाटीसँग भने ।

यद्यपि आफूहरू पार्टी एकताका लागि प्रयासरत रहिरहेको पनि उनको भनाइ थियो ।

 

राप्रपा प्रजातान्त्रिकले भने व्यक्तिको अभिव्यक्तिलाई लिएर समग्र पार्टीलाई नै जोडेर हेर्न नहुने बताएको छ । राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले आफूहरू पार्टी एकता हुनुपर्छ भन्ने पक्षमै रहेको भन्दै एकता प्रक्रियामा देखिएका विवादलाई छलफलकै आधारमा टुङ्गोमा पुर्याइनुपर्नेमा जोड दिए ।

 

गुरुङले पार्टीका नेताहरूले जे–जस्तो अभिव्यक्ति दिए पनि आधिकारिक लाइन सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र एवम् संवद्र्धनवाद नै भएको रातोपाटीलाई बताए ।

 

‘जेठ २५ गते सम्पन्न केन्द्रीय समिति बैठकले सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र एवम् संवद्र्धनवादको सिद्धान्त अङ्गीकार गरेको छ । यो नै पार्टीको आधिकारिक विचार भनेको हो ।’ उनले बृहत् राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

 

महामन्त्री तथा राप्रपा प्रजातान्त्रिकले गठन गरेको वार्ता टोलीका सदस्य सुनिल थापाले राप्रपा हिन्दूराष्ट्र र राजसंस्थामा कमल थापाको पार्टी प्रतिबद्ध नभएका कारण विभाजन भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि तत्काल राप्रपाले वार्ता प्रक्रिया अवरुद्ध भएको घोषणा गरेको हो । अहिले राप्रपाले राणाको कारण एकता भाँडिएको दाबी गर्दै आएको छ भने राप्रपा प्रतिरक्षामा देखिएको छ ।

 

थापालाई कारबाही गर्न  प्रजातान्त्रिकभित्रै लबिङ !
यसो त एकताको माहोला अघि बढ्दै गर्दा राप्रपा प्रजातान्त्रिकभित्र  थापालाई कारबाही गर्दै गर्नुपर्ने आवाजसमेत उठेको छ । पार्टी एकता पक्षधर पार्टीका नेताहरूले उनलाई कारबाही गनुपर्ने भन्दै आवाज उठाएको एक नेताले दाबी गरे । उनका अनुसार पार्टीभित्रैबाट कारबाहीको आवाज उठ्न थालेपछि  थापा एकाएक विदेश उडेका छन् । उनी केही दिन सिङ्गापुरमा बसेर फर्किने पार्टी स्रोतले जनाएको छ ।

 

स्रोतका अनुसार राप्रपा प्रजातान्त्रिका वरिष्ठ नेता केशरबहादुर विष्ट समूहले थापालाई कारबाही गर्नुपर्ने  भन्दै गोप्य छलफलसमेत गरेका छन् । सो छलफलमा एक दर्जन नेताहरूको सहभागिता रहेको बताइए पनि स्रोतले सबै नाम उपलब्ध गराउन चाहेन । धोवीघाटस्थित विष्टको निवासमा भएको उक्त गोप्य छलफलमा  थापाको गतिविधि राजतन्त्रविरोधी  देखिए पनि उल्टै परस्पर विरोधी अभिव्यक्ति दिएको ठहर गरिएको थियो ।

 

यस विषयमा विष्टसँग बुझ्दा थापालाई कारबाही गर्नेबारे कुनै छलफल नभएको दाबी गरे । यद्यपि पार्टी एकताको पक्षमा रहेको भन्दै कसैले व्यक्तिगत रूपमा दिएको अभिव्यक्तिलाई पार्टीसँग जोडेर हेर्न नहुने उनको तर्क थियो । ‘हामीले सुनिलजीलाई कारबाही गर्ने विषयमा कुनै छलफल गरेको छैन ।  घरमा सधैँ १०–८ जनाको जमघट त भइ नै रहन्छ । त्यसैलाई छलफल भनको भए अर्कै कुरा नत्र अरू छलफल भएको छैन’, उनले रातोपाटीसँग भने ।

 

लोहनी भन्छन्– छलफल सकारात्मक छैन

राप्रपा राष्ट्रवादीले एकताका लागि भनेर सम्पूर्ण अधिकार  अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई नै दिएको छ । तर हालसम्म आफूसँग ठोस छलफल नभएको डा. लोहनीले रातोपाटीसँग भने । पार्टी एकताका विषयमा द्रूत गतिमा अघि बढेको भन्नेसम्मका प्रचार यसअघि बाहिर ल्याइएको आन्तरिक रूपमा भने कुनै प्रगति हुन नसकेको समेत डा. लोहनीले बताए ।

 

लोहनीका अनुसार मूलतः एकताका विषयमा एजेन्डासँगै नेतृत्वको विषय पेचिलो छ ।  सबै नेताहरूले नेतृत्वमा दाबी गर्दा समस्या उत्पन्न भएको उनले सङ्केत गरे ।

 

उनै लोहनी २०७३ फागुनमा  भएको एकताको महाधिवेशनपछि कमल थापाको कार्यशैलीप्रति ११ बुँदे विमति जनाउँदै पार्टीबाट अलग भएका थिए ।

यस्तै राप्रपा प्रजातान्त्रिक भने चुनावको मुखमा ०७४ साउनमा विभाजित बनेको थियो ।

विभाजनपछि गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तीनै पार्टी कमजोर बनेका थिए ।

पार्टी कमजोर बनेसँगै तीनै पार्टी  एकीकरणको प्रक्रियामा जुटेको भए पनि बीचमै अवरुद्ध बन्न पुगेको हो ।

 

पटक पटक फुट्दै, सङ्कटमा फस्दै र फेरि जुट्दै आएको आएको राप्रपाको यो पछिल्लो शृङ्खलाले अब कुन रूप लिन्छ, त्यो भने हेर्न बाँकी छ । यद्यपि गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  पूर्वपञ्चहरूको बाहुल्य रहेको यो पार्टीको मत कमजोर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...