सधैं जोखिम उठाउँदै योगेश, जोशी प्रकरणमा सबै नेपाली जनताको हाई हाई



हाम्रो इकोनोमि

 

सधैं उत्साहका कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साउन १ मा गुनासो पोखे । पार्टी मुख्यालय धूम्बारहीमा पार्टीका नेता तथा कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै निकै लामो गुनासो सुनाए । प्रधानमन्त्री ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गर्दा समेत त्यसको प्रतिरक्षा नभएको उनको गुनासो थियो ।

 

 

प्रधानमन्त्री ओलीले त्यो समयमा गुनासो गरीरहेको थिए, जतिबेला डा.गोबिन्द केसी प्रकरण चलिरहेको थियो । प्रधानमन्त्री ओलीको गुनासो र असन्तुष्टी सही थियो, किनभने पार्टीका शिर्ष नेता र मन्त्रीहरुले नै त्यो बेला खुलेर पार्टी र सरकारको प्रतिरक्षा गर्ने गरी बोल्न सकेका थिएनन् ।

 

पार्टीका नेता र मन्त्रीहरु जानी बुझीकन नै चुपो लागेका थिए, किनभने त्यो बेला डा.केसी प्रकरणमा बोल्नु निकै ठुलो जोखिम उठाउनु जस्तै थियो । मुलधारका मानिएका सञ्चार माध्यमहरु सरकारको बिरुद्धमा अरिगांल जस्तै खनिएका थिए । डा.केसीको माग र अडानको बिषयमा बहस गर्न खोज्ने नेता दुश्मन जस्तै दरकार गरियो ।

 

दैनिकजसो सम्पादकीय र सरकार बिरोधी आलेखको बाढी नै लागेको थियो । त्यति मात्रै नभएर सम्पादकहरु भौतिक रुपमै मैदानमा उत्रिएका थिए । एकथरीका नागरिक समाज, लेखक, सम्पादक र चलेका/चलाइएका सबै मिडिया बिरुद्धमा उभिएका मन्त्री र नेताहरु नै बोल्न डराए । उनीहरुले सरकार र पार्टीको प्रतिरक्षा गर्न सकेनन् । कारण उही थियो, अलोकप्रिय हुने डर ।

 

आफू अलोकप्रिय हुने डरमा अधिकांस मन्त्रीहरुले समेत सरकारको लोकप्रियताको लागि प्रतिरक्षा गर्नपर्छ भनेर आवश्यक ठानेन् । कानुन मन्त्री शेरबहादुर तामाङले प्रतिरक्षा गर्न खोजे, शब्द चयन नमिलेर मन्त्रीपद नै छोड्नु पर्यो । सञ्चार मन्त्री गोकुल बाँस्कोटा र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बोले । तर, अरु बोलेनन् । तर, संकटको बेला जोखिम बोलेर बोल्ने नेता थिए, पार्टीका स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराई ।

 

योगेशले भने बोल्दा अलोकप्रिय भइन्छ की भनेर हिसाबकिताब गरेनन् । नागरिक समाज, मिडिया, वकिल, लेखक, स्तम्भकार र सेलिब्रेटीहरु कता लागेका छन् ? भन्ने चासो पनि दिएनन् । डा.केसीको मागको बिषयमा बहस गरे । उनको तर्क थियो, “डाक्टर गोबिन्द केसी सही हुन्, नेता गोबिन्द केसी सही होइनन्, केसीलाई नेता हुनबाट जोगाएर मात्रै डा.बनाउनुपर्छ ।’ उनले आफ्ना बलिया तर्क सदन र सञ्चार माध्यममा निरन्तर राखे । योगेशले २५ असार २०७५ मा संसदमा बोले । भने, “कांग्रेसले गोविन्द केसी, बालकृष्ण ढुंगेल र गंगामाया अधिकारीका नाममा सरकारलाई ‘इमोसनल व्ल्याकमेल’ गरीरहेको छ ।

 

राजनीतिक एजेण्डा सकिएपछि कांग्रसले गोविन्द केसी, बालकृष्ण ढुंगेल र गगांमाया अधिकारीका नाममा ‘इमोसनल व्ल्याकमेलिङ’ गर्न सुरू गरेको उनले बताए । उनले भने, ‘आज कांग्रेस बचाउन गोविन्द केसी चाहियो ? अब त्यो ठाउँमा कांग्रेस पुगेको हो ?’ सञ्चार माध्यमहरुमा पनि उनी निरन्तर बोले ।

 

कतिपय उनकै नजिकका मित्रहरुले पनि सरकारले प्रतिरक्षा गर्ने बेला “तपाई मात्रै बोलेर अलोकप्रिय नहुनुहोस्’ भनेर सुझाव पनि दिए । तर, उनले “लोकप्रियता’को मोहतिर ध्यान नदिएर प्रतिरक्षा निरन्तर गरे । उनले लेखे, ‘राजनीतिक नेता गोबिन्द केसीसँग अहिले बार्ता गरेपनि समस्याको समाधान हुँदैन तर डा. गोबिन्द केसीसँग बार्ता हुने हो भने समस्याको समाधान टाढा छैन । त्यसैले सरकार डा. गोबिन्द केसीसँग चै तुरुन्त बार्ता गर ।’

जोशी प्रकरण

 

संसदीय सुनुवाइ समितिले इतिहासमै शुक्रबार पहिलोपटक प्रधानन्यायाधीशका लागि प्रस्तावित व्यक्ति अस्वीकृत भयो । जोशी प्रकरणमा संसदीय सुनुवाई पनि निकै लामो चल्यो । त्यही एक जना नेता भन्दै थिए,“योगेश भट्टराई जोशी बिरुद्धको र जोशी सम्बन्धीका ५/७ किलो डकुमेन्ट बोकेर हिडेका छन् ।’ योगेशले जोशीको सबै जन्मकुन्डली नै कन्ठ पारे । जोशीको इलाम प्रकरणदेखि डोटी काण्डसम्म उनले कन्ठ पारे । सुनुवाई समितिका एक सदस्य भन्छन्,“योगेश जोशीको बारेमा सप्रसङ व्याख्या धारा प्रवाह गर्न सक्ने भए ।’ जोशीको सार्वजनिक आचरणदेखि विगतमा उनले गरेका काम कारवाही पल्टाए । र, जोशी नेपालको न्यायालयको कालो धब्बा हो, भन्ने निचोड सहित अस्वीकृत गर्नपर्छ भन्ने अडान लिए । नेतृत्व समेत गरे  ।

 

 

शुक्रबार अस्वीकृत भयो । जोशी अस्वीकृत भएपछि अस्वीकृत गर्ने सांसदहरुको तर्फबाट उनले ५ वटा तर्कहरु सुनाए । ‘नीजको सार्वजनिक आचरण र विगतको काम कारवाही सम्वन्धमा पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशहरुबाट लिखित रुपमा टिप्पणी भएको पाईयो र सर्वोच्च अदालतमा रहेर कार्य सम्पादन गर्दा नेपालको न्यायप्रणालीलाई योगदान दिन सक्ने कुनै काम गरेको दृष्टान्त पेश गर्न पनि नसकेको पाईयो,’ उनले सुनाए, ‘निजबाट न्यायालय स्वतन्त्र, सक्षम, प्रभावकारी र विकृतीविहिन हुन सक्छ भन्ने विषयमा समिति सन्तुष्ट हुन सक्नु भएन । नेपालको प्रधानन्याधीश जस्तो गरिमामय पदमा निजलाई जिम्मेवारी दिन हुने पर्याप्त आधार र कारण समितिका हामी सदस्यहरुले पाउन सकेनौं ।’

 

सधैं जोखिमसँग खेल्दै

 

यी दुई प्रकरण पछिल्लो उदाहरण मात्रै हो । पार्टीमाथि प्रहार भएको बेला जोखिम बोलेर बोल्छन् उनी । पहिलो संबिधानसभा बिघटन हुदै गर्दाको समय तत्कालिन एमालेको लागि सर्बाधिक संकटको समय थियो । अहिलेका कतिपय मन्त्रीहरु नै त्यो संकटको कारक बनिरहेका थिए, ठिक त्यही बेला खुलेर पार्टीको पक्षमा बोल्ने र अभियान चलाउने नेता थिए उनी । सामाजिक सद्भाव सहितको राष्ट्रिय एकता कायम गर्नु पर्नेमा उनी बोले ।

 

 

त्यसो त योगेश पार्टीको आन्तरिक राजनीतिमा पनि जोखिम मोलेर काम गर्ने नेतामा पर्छन् । गएको संघीय र प्रादेशिक निर्वाचनपछि पार्टी सरकारमा जाने निश्चित भइसकेपछि मन्त्रीको दौडधुप सुरु भइसकेको थियो । नेताका घर धाउने क्रम सुरु भएको थियो । नेताका धुपधुवार गर्नु पर्ने बेला राष्ट्रियसभा सदस्य, मुख्यमन्त्री चयन लगायतका बिषयमा उनले पार्टीभित्र खुलेर बोले । प्रक्रिया र पद्धतिको बिषयमा उनले प्रश्न गरे । बिरोध गरे । सायद, उनको लागि त्यो महङो भयो, मन्त्री भएनन् ।

 

पूर्व एमाले सचिव योगेश अहिलेसम्म लाभको पदमा नगएका एक मात्रै नेता हुन् । पूर्व एमाले पदाधिकारीमा उनी बाहेक सबै पटक पटक मन्त्री भएका छन् । कतिपयले डा.केसी प्रकरणमा केसीको माग र उनको बिषयमा खुलेर बोल्दा नेताका मन जितेर मन्त्री बन्न खोजे भनेर टिप्पणी समेत भयो ।

 

केसीले उठाएका माग र अजेन्डाको बिषयमा उनले यसपटक मात्रै बोलेका होइनन् । डा.केसीको यसअघिका अनसनको समयमा पनि यसैगरी उनले नेपालको स्वास्थ्य क्षेत्र र मेडिकल कलेजहरुको बारेमा स्पष्ट आफ्नो विचार राख्दै आएका थिए । अर्को, उनी त्यसरी हिसाबकिताब गरेर बोल्ने नेता भए चुनाव जितेर आएपछि पार्टी पद्धति र प्रक्रिया बारेमा नेतासँग औँला ठ्ड्याएर नै बोल्ने थिएनन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...