प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी कक्षा १० मा दुई विषयमा फेल



 

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएकोजस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ । तर, विपक्षी कांग्रेस भने अझै स्पष्ट भइसकेको छैन ।

 

सुनुवाइ भएको ६ दिन पुगिसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । प्रधानन्यायाधीश हुनुअघि नै शैक्षिक प्रमाणपत्रदेखि फैसलासम्मका विषयमा चौतर्फी विवाद भएको भन्दै सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । गत बिहीबार सुनुवाइ सकिए पनि पार्टीभित्र थप छलफल गर्ने भन्दै नेकपाले बिहीबार, शुक्रबार र आइतबारको बैठक स्थगित गर्न आह्वान गरेपछि सरेको थियो ।

 

सोमबारको बैठकमा सत्तारुढ दलले जोशीलाई सर्वसम्मत अस्वीकृत गर्ने प्रस्ताव समिति बैठकमा राखेपछि कांग्रेसबाट समितिमा रहेका सांसदले पार्टी नेतृत्वसँग छलफल गर्नुपर्ने समय मागेका थिए । मंगलबार कांग्रेस देशव्यापी आन्दोलनमा रहेकाले आज (बुधबार) अपराह्न ३ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

 

जोशी अस्वीकृत हुनुपर्नाका कारण
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ ।

 

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । ‘०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात् त्यसवेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो,’ समिति स्रोतले भन्यो ।

 

त्रिविको नेपाल ल क्याम्पसमा जोशीले बुझाएको प्रोगेस रिपोर्टमा विजय मेमोरियल स्कुलबाट प्रवेशिका परीक्षा दिएको र त्यतिवेलाको सिम्बोल नम्बर ३६६७ भनिएको छ । उनकै अर्को शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ३६६७ सिम्बोल नम्बरमा प्रवेशिका परीक्षा दिएको उल्लेख छ । ‘विजय मेमोरियल र नेपाल राष्ट्रिय विद्यापीठ दुवैबाट प्रवेशिका दिए । दुवैको सिम्बोल नम्बर एउटै भएको डकुमेन्टमा उल्लेख छ, एउटा संस्कृत स्कुल अर्को जनरल स्कुल । यस्तो कसरी हुन्छ ?’ स्रोतले भन्यो ।

 

डिल्लीबजारको विजय मेमोरियल स्कुलबाट जोशी वीरगन्जमा संस्कृत पढ्न गएकोसमेत जनाइएको छ । स्रोतका अनुसार दुईतिर कसरी एउटै सिम्बोल नम्बर भयो भन्ने प्रश्नमा जोशीले आफूले टेस्टसम्म विजय मेमोरियल र त्यसपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेकाले त्यस्तो भएको भन्ने अपत्यारिलो जवाफ दिने गरेका छन् ।

 

जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली
-क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट ०२९ मा एसएलसी गरेको उल्लेख छ । तर, उनले ०२७ मा एसएलसी दिएको अर्को डकुमेन्ट सुरक्षित छ । ‘परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा ०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाईस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन् ।

 

जोशीको सर्टिफिकेटले यो सिम्बोल नम्बर जोशीकै हो र ०२९ मा विजय मेमोरियलबाट एसएलसी दिएको भन्ने छ । तर, ०२९ मा विजय मेमोरियलको एसएलसीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० सम्म मात्र छ । ०२९ को लिस्टमा दीपकराज जोशी भन्ने मान्छे नै छैन,’ स्रोतले भन्यो ।

 

जन्ममितिसमेत फरक
विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएका जोशीको जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अन्य डकुमेन्टमा जोशीको जन्ममिति एक महिनाअघि अर्थात् २४ असोज ०११ छ । स्रोत भन्छ, ‘जन्ममितिदेखि सर्टिफिकेटसम्म विवादास्पद छ ।’ जोशीको विजय मेमोरियल स्कुलमा अध्ययन गर्दाको कक्षा ९ को सर्टिफिकेट र कक्षा १० को सर्टिफिकेटमा विद्यालयको लेटरहेड नै फरक भेटिएको छ ।

 

एउटा लेटरहेडमा विद्यालयको नाम अंग्रेजी अक्षर ‘बी’ र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यति मात्र नभई एउटै स्कुलको नाम लेटरहेडमा विजय लेख्दा एउटामा ‘बी’बाट र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यस्तै विद्यालयको नामलगत्तै एउटामा ‘को एजुकेसन’ र अर्कोमा ‘गभर्मेन्ट रेकोग्नाइज्ड…’ भनिएको छ ।

 

समितिको अंकगणित
१५ सदस्यीय समितिको ‘सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभए अनुमोदन भएको मानिने’ भन्ने संसद् नियमावलीमा व्यवस्था छ । समितिका १५ मध्ये १० जना सदस्यले प्रस्तावित नाम अस्वीकृत नगरे संवैधानिक परिषद्ले सिफारिस गरेको नाम अनुमोदन हुनेछ ।

 

तर, समितिको सम्पूर्ण सदस्यको दुईतिहाइ बहुमतबाट अस्वीकृत भए प्रस्तावित नामको व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ ।

 

हालको सुनुवाइ समितिमा नेकपाका नौ र फोरमका एक गरी सत्तारुढ दलको १० अर्थात् दुईतिहाइ छ । कांग्रेसका चार र राजपाबाट एकजना सुनुवाइ समितिमा सदस्य छन् । राजपाका लक्ष्मणलाल कर्णले ज्येष्ठताका आधारमा समितिको अध्यक्षता गरिरहेका छन् । मत विभाजन भई निर्णायक मत दिनुपर्ने अवस्था नआएसम्म उनले मतविभाजनमा सहभागिता जनाउन पाउनेछैनन् ।

 

नेकपाको प्रस्तावमा फोरम अध्यक्षको पनि समर्थन

-संसदीय सुनुवाइ समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने निर्देशन पाइसकेका छन् । निर्देशन कार्यान्वयन गर्न नेकपा उपनेता सुवास नेम्वाङ, पूर्वमहान्यायाधिवक्ता हरि फुँयाललगायत कानुन व्यवसायीले सोमबार नै सुनुवाइ समितिमा रहेका सत्तारुढ दलका सांसदसँग छलफल गरेका थिए ।

 

‘सकेसम्म सर्वसम्मत अस्वीकृत गर्ने र कांग्रेसले नमाने मात्र सत्तारुढ दलको दुईतिहाइ बहुमतलाई प्रयोग गर्ने भन्ने पार्टी नेतृत्वबाट आएको छ,’ सत्तारुढ दलका एक सांसदले भने । यो विषय बुधबारको बैठकबाट नै सर्वसम्मत वा दुईतिहाइ बहुमतबाट अस्वीकृत गर्ने सत्तारुढ दलको तयारी छ ।

 

-१५ सदस्यीय समितिमा नौ सदस्य नेकपाका छन् । कांग्रेसले साथ नदिएमा दुईतिहाइ पु¥याउन सत्तारुढ संघीय समाजवादी फोरमको सहयोग आवश्यक पर्छ । समितिका सदस्य तथा फोरम नेता राजेन्द्र श्रेष्ठले विषय सहमतिबाटै टुंग्याउने र समितिमा सत्तापक्षको मत एकै ठाउँमा पर्छ भनेर दाबी गर्न नसकिने बताए ।

 

‘गठबन्धन भनेको सरकारका लागि हो, समितिमा होइन, त्यसैले समितिमा सहमतिबाट टुंग्याइन्छ, सहमति नभए के गर्ने भन्ने निश्चित भएको छैन,’ उनले भने । तर, जोशीलाई अस्वीकार गर्न प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सहमति भइसकेको स्रोतको दाबी छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति