म्यानपावरको धरौटी ६ करोडमाथि पुर्‍याइँदै, मर्ज गर्ने विकल्प दिइने, अबदेखी पुरै नगद राख्नुपर्ने



 

सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको  धरौटी पुर्‍याउने प्रस्ताव गरेको छ । यसको लागि वैदेशिक रोजगार ऐन परिमार्जन गर्न विधेयक मन्त्रिपरिषदको विधेयक समितिमा पुगेको छ ।

 

कानुन मन्त्रालयका एक उच्च अधिकारीले श्रम तथा रोजगार मन्त्रालयबाट म्यानपावर कम्पनीको इजाजतका लागि लिइने धरौटी ६ करोडभन्दा माथि पुर्‍याउने गरी प्रस्ताव आएको पुष्टी गरे । नगद ६ करोडको धरौटी झण्डै अाधा राख्न प्रस्ताव गरिएको छ ।

तर, विस्तृतमा छलफल हुन बाँकी नै हरेकाले ठ्याक्कै कुल धरौटी कति कायम हुन्छ भन्ने तय नभएको उनले बताए ।

 

‘धरौटीका लागि नगद र बैंक ग्यारेन्टी राख्ने फरक-फरक व्यवस्था छन् । अब नगद रकम थोरै राखेर म्यानपावर चलाउन नदिने प्रस्ताव आएको छ,’ ती अधिकारीले भने । यसबारे मन्त्रिपरिषदको विधेयक समितिमा  श्रम मन्त्रालयका सचिवसँग भोलि नै छलफल  हुँदैछ ।

 

अहिले म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी ल्याउनुपर्ने व्यवस्था छ । म्यानपावरका लागि बैंकहरुले ग्यारेन्टी सहजै दिने गर्दा म्यानपावर खुल्ने क्रम निकै बढेको छ । अब नगद धराैटी पनि ठूलो मात्रामा राख्नुपर्ने गरी ऐन संशोधनको योजना बनेको छ ।

 

श्रममन्त्री गोकर्ण बिष्टले यसअघि नै म्यानपावर व्यवसायीसँग छलफल गर्दै मर्जरमा जानका लागि तयार हुन व्यवसायीलाई भनिसकेका थिए । ऐनमा ठूलो रकम धरौटीका रुपमा राख्नुपर्ने व्यस्वथा भएमा म्यानपावर व्यवसायीसँग तोकिएको धरौटी तिर्ने र बाध्यात्मक रुपमा मर्जरमा जान मात्रै विकल्प हुनेछ ।

 

यसअघि एक करोड धरौटी रकम पुर्याउने प्रस्तावको समेत व्यवसायीले विरोध गरेका थिए । तर, वैदेशिक रोजगार विज्ञले सरकारलाई कम्तिमा ३ करोड धरौटी पुर्‍याउन सुझाव दिएका थिए ।

 

तर, श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई व्यवसायिक बनाउन, मानव तस्करी नियन्त्रण गर्न र ठगीबापतको रकम फिर्ता दिलाउन ६ करोड करोडभन्दा बढी धरौटी राख्नुपर्ने व्यवस्था गर्न प्रस्ताव अघि बढाइएको हो । धराैटीमा गर्न लागिएको वृद्धिबारे श्रम अधिकारी बोल्न चाहिरहेका छैनन् ।

 

अहिले २ हजारभन्दा बढी म्यानपावर कम्पनी दर्ता भएर सञ्चालनमा छन् । जसमा १२ सय वटा सक्रिय रुपमा नै काम गरिरहेका छन् ।

तर, कतिपयले झोलाबाटै म्यानपावर कम्पनी चलाइरहेका छन् । जसका कारण म्यानपावरले विदेश पठाउने नाममा युवालाई ठग्ने क्रम बढेको छ ।

 

ठगी गर्ने प्रयोजनका लागि जो पनि यो व्यवसायमा आउने प्रवृत्ति हटाउन सरकारले धराैटी बढाउने तयारी गरेको श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

श्रम मन्त्री बिष्टले ‘नाङ्लो पसल’ थापेजस्तो म्यानपावर व्यवसाय चलाउने क्रमलाई बन्द गर्ने यस्तो नीति लिन लागेका हुन् । धरौटी कम हुँदा म्यानपावर दर्ता गरी ठगी गर्दै लाइसेन्स बेच्ने गरिरहेका छन् ।

 

‘अहिले जस्ता पनि म्यानपावरले वर्षमा एक हजार युवा विदेशमा कामका लागि पठाउँदैछन्, अहिले लिइने धरौटी रकमले १० जनालाई समस्या पर्‍यो भने पनि क्षतिपूर्ति असुल्न पुग्दैन । कुनै कारणबस एकैपटक सय कामदार अलपत्र परे भने म्यानपावरले के गर्ने ? श्रम मन्त्रालयका एक अधिकारीले भने,’एजेन्टका भरमा म्यानपावर चलाउने दिन अब धेरै समय टिक्दैन ।’

 

अहिले धेरै म्यानपावरको विदेशी कम्पनीसँग सीधा सम्पर्क छैन । विदेशका म्यानपावर एजेन्टबाट मागपत्र ल्याउने र यहाँ पनि एजेन्टबाटै कामदार ल्याएर ठगी गर्ने प्रवृत्तिको अन्त्य गर्न धरौटी रकममा ब्यापक वृद्धिको योजना तयार भएको हो ।

धरौटी रकम पुर्‍याउन नसक्ने म्यानपावरलाई निश्चित समय दिएर मर्जरमा जान दिने गरी छलफल अघि बढेको छ ।

तर, म्यानपावरवाले भने त्यसको विरोध गरेका छन् । जे-जस्तो भए पनि धरौटी रकममा भारी वृद्धि गर्ने योजनामा पछि नहट्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

 

‘यो म्यानपावर व्यवसाय शुद्धीकरण गर्ने योजना हो । यसले सबै समस्या हल नगरे पनि धेरै समस्याहरु समाधान गर्छ,’ एक श्रम अधिकारी भन्छन्,’अब नाङ्लो पसल थापेजस्तो गरी चलेका म्यानपावर चल्दैनन् । मर्जरको विकल्प दिन सकिन्छ । जो सक्षम छ उसले व्यवसाय गर्छ । म्यानपावर कम्पनी किराना पसल चलाए जस्तो हैन, संवेदनशील व्यवसायमा ठग्नकै लागि लाइसेन्स दिइरहन सकिन्न र दिन पनि हुन्न ।’

 

 

म्यानपावरको संख्या घटेमा अनुगमन गर्न पनि सजिलो हुने, व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा पनि नहुने र मर्यादित रुपमा व्यवसाय सञ्चालन हुने तर्क सरकारको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति