एमालेमा गुट परिबर्तन गर्ने यी चतुरालाई ओलीले बर्साए डण्डा,गुट परिवर्तन गर्नेलाई प्रचण्डले दिए झण्डा



कृष्णबहादुर महरालाई सभामुख बनाउने निर्णयसँगै २५ फागुनमा माओवादी केन्द्रले देब गुरुङलाई संसदीय दलको नेता बनाउने निर्णय गर्‍यो। गुरुङ अघिल्लो बर्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वमा मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी–माओवादी त्यागेर माओवादी केन्द्रसँग एकता गर्नेमध्येका एक अगुवा नेता थिए।

संसदीय दलको नेताको चयनका लागि एमालेले आन्तरिक निर्वाचन गराउने निर्णयसँगै प्रदेश–३ एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष केपी शर्मा ओलीको गुटमा मिसिन निकट पुगे। लामो समय बरिष्ठ नेता माधव नेपाल निकट पाण्डेले प्रदेश–३ को मुख्यमन्त्रीका लागि गुट परिवर्तन गरेपनि त्यो अबसर पाएनन्।

एमाले र माओवादी केन्द्र पार्टी एकताको अन्तिम तयारीमा छन्। दुबै पार्टी वामपन्थी हुन्, बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्छन्। समाजवादी कार्यदिशा अपनाएका छन्। र, यिनै समानताका आधारमा उनीहरु एकता गर्ने टुङ्गोमा निर्णयमा पुगेका छन्। यी समानताका बाबजुद यी दुई पार्टीबीच एउटा रोचक भिन्नतापनि छ।

त्यो हो, पार्टी वा गुट परिवर्तन गर्नेहरु माओवादी केन्द्रमा मालामाल भएका छन्। निर्वाचनमा होस् वा त्यसपछि, एकता वा ध्रुवीकरणको नाममा माओवादी केन्द्रमा आउनेहरुले राम्राराम्रा अवसर पाएका छन्। तर, यही स्थिति एमालेमा भने छैन। अवसरका लागि गुट परिवर्तन गरेकाहरुले माओवादी केन्द्रमा जस्तो अवसर पाएका छैनन्।

बामदेबदेखि किरणसम्म
आठौं महाधिवेशनमा अध्यक्षका लागि भएको प्रतिस्पर्धामा एमाले नेता बामदेब गौतम झलनाथ खनाललाई समर्थन गरे। तर, २०७० को निर्वाचनपछि संसदीय दलको निर्वाचनमा तिनै खनालले गुट परिवर्तन गरे, केपी शर्मा ओलीलाई समर्थन गरे। गौतमकै सहयोगमा ओलीले संसदीय दलको नेतामा विजय हासिल गरे।

संसदीय दलको निर्वाचन मात्र होइन, नबौं महाधिवेशनमा पनि गौतमले अध्यक्षमा ओलीलाई समर्थन गरे। ओलीले नै जिते। अध्यक्ष जितेपछि संसदीय दलको नेता र ओली प्रधानमन्त्री बनेपछि अध्यक्ष बन्ने ओलीसँगको ‘भद्र सहमति’ का कारण गौतमले गुट परिवर्तन गरेका थिए। तर, गौतम न संसदीय दलको नेता बन्न सके, न त अध्यक्ष नै।

गौतमलाई साथ दिएका किरण गुरुङ, रवीन्द्र अधिकारी, केशबलाल श्रेष्ठ लगायतका नेताहरुले पनि ओली गुटमा पुगेपछि कुनै अवसर पाएका छैनन्। यसबीचमा पटक पटक एमालेले सरकारमा जाने अवसर पाएको छ। तर लगातार ३ पटकसम्म कास्कीबाट संसदमा निर्वाचित लोकप्रिय युवा नेता रवीन्द्र अधिकारीले समेत मन्त्री बन्ने अवसर पाएका छैनन्।

त्यस्तै हविगत प्रदेश–४ का एमाले ईञ्चार्ज किरण गुरुङले भोग्नु परेको छ। गौतमसँगै ओली गुटमा पुगेकाहरु अहिले पनि आफूलाई गौतम निकटस्थ नै भन्न रुचाउँछन्। तर, गौतम निकट नेताकै रुपमा स्थायी समितिमा लगिएका गुरुङले चाहिँ प्रदेश–४ को मुख्यमन्त्री बन्न गौतमको साथ नै छाडे, खुलेआम ‘बामदेबलाई साथ छाडें, अब म पूर्ण रुपमा ओली गुटकै हुँ’ भन्दै हिँडे।

तर, पनि ओली गुटले उनलाई विश्वास गर्न सकेन। आफूलाई ओली गुटको नेताको रुपमा चिनाउँदा प्रदेश–४ को मुख्यमन्त्री बन्ने विश्वास उनलाई थियो। तर, अन्य प्रदेशमा बरु संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भयो, तर ओली समूहको एक मतपनि नपाउने भएपछि किरणले प्रतिस्पर्धा गर्ने हिम्मत पनि गरेनन्।

माओवादीमा अवसरै अवसर
पार्टी गुट परिवर्तन गरेपनि खासै अवसर नपाउने जस्तो स्थिति एमालेमा छ, माओवादी केन्द्रमा ठीक त्यस विपरितको स्थिति छ। पार्टी एकता, ध्रुवीकरण आदिको नाममा पूर्व माओवादी नेता–कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्कनेक्रम बढ्दो छ। र, यसरी फर्कनेहरुले माओवादी केन्द्रमा आकर्षक अवसर पाएका छन्।

अघिल्लो बर्ष जेठमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी छाडेर माओवादी केन्द्रसँग एकता गरेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन् नै, बादलसँगै फर्केका अन्य नेताकर्ताहरुले पनि माओवादी केन्द्रमा यथोचित राम्रा अवसर पाएका छन्। गुरुङले पाएको संसदीय दलको सचेतकको जिम्मेवारी त पछिल्लो उदाहरण मात्र हो।

कतिसम्म भने, माओवादी केन्द्मा फर्केका मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका छन्। रोचक त के भने, पहिलो चरणको विस्तारमा माओवादी केन्द्रबाट जो जो सरकारमा गएका छन्, पछिल्लो समय एकताबाट आएकाले मात्र (बादल र यादव) ले यो अवसर पाएका छन्।

पार्टी छाडेर माओवादी केन्द्रमा आउने नेताहरुलाई मात्र होइन, तिनका श्रीमतिले समेत माओवादी केन्द्रमा अवसर पाएका छन्। गुरुङ पत्नी यसोधा सुवेदी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएकी छन् भने प्रदेश–१ का संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमति बीना पोखरेलले राष्ट्रिय सभा सदस्य बन्ने अवसर पाएको नेपाल खबरमा उल्लेख छ।

माओवादी केन्द्रको कोटामा परेको प्रदेश–१ को उपसभामुखको जिम्मेवारी बादलसँगै फर्केकी सरस्वती पोखरेलले पाएकी छन्। प्रदेश–५ को सभामुखपनि बादलसँगै फर्केका पूर्णबहादुर घर्तिले पाएका छन्। त्यही प्रदेशमा माओवादी केन्द्रको नेतृत्व गर्दै कूलप्रसाद केसी प्रदेश सरकारमा मन्त्री बनेका छन्।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको