एमालेका यी नेतालाई ओलीले यसरी हाने थप्पड,ओलीको चाबुकले तोरीको फूल देख्ने नेता को-को हुन्?



राष्ट्रपतिको उम्मेदवार तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (२२ माघ) साँझ बोलाइएको स्थायी समितिको बैठकमा माधव नेपाल–झलनाथ खनाल पक्षीय एमाले नेताहरुले एमाले अध्यक्ष ओलीकै नाम लिएर आलोचना गरे, प्रहार गरे। नेपाल–खनाल खेमामै रहेका एमाले नेता सुरेन्द्र पाण्डेले पनि ओलीमाथि प्रहार गरे, तर ओलीको नामै नलिइकन।

त्यसका लागि उनले पञ्चायतकालको एउटा रमाइलो घटनालाई कथाको रुपमा सुनाए। बैठकमा पाण्डेले सुनाएको कथा यस्तो थियो:

२०३५-०३६ ताका अनेरास्ववियूका उपाध्यक्ष थिए, विराटनगरका सीताराम पोखरेल। उनलाई आफूमा केही मानसिक समस्या छ कि भन्ने लागेछ। त्यसैले, परीक्षणका लागि पोखरेल आफै राँची (भारत) पुगेछन्। परीक्षणका लागि टिकट काटे। टिकट काटेपछि डाक्टरको परीक्षण कक्षमा छिरे। डाक्टरले ‘कहाँ बाट आएको हो, के के समस्या हो भनेर सोध्यो। सीतारामले आफ्नो ठेगाना बतादिए, आफूमा जे जे समस्या देखिएको हो, सबै कुरा डाक्टरलाई भने।

त्यसपछि डाक्टरले कुनै परीक्षण गरेनन्। कुनै औषधि सिफारिस पनि गरेनन्। त्यसको साटो सीतारामका दुबै गालामा पालैपालो थप्पड हाने। डाक्टरको थप्पड खाएका सीताराम गाला समाउँदै बाहिर निस्केछन्। नेपाल फर्केपछि उनले अशोक राईसँग भनेछन्, ‘हेर्नुस् न, उपचारका लागि राँची गएको। डाक्टरलाई पनि पैसा तिरें, उल्टो उसको थप्पड पनि खानु पर्‍यो।’

अखिल उपाध्यक्ष पोखरेलले राँचीमा थप्पड खाएको यो कथा सुनाएपछि पाण्डेले भने, ‘जानीबुझीकन राँचीको डाक्टरले सीतारामलाई थप्पड हानेको थियो। नेपालको मान्छे हो, यसले यहाँ केही गर्न सक्दैन भन्ने बुझेरै यस्तो व्यवहार गरेको थियो। हाम्रो पार्टीमापनि केही नेताबाट यिनीहरुले केही गर्न सक्दैनन् भनेर जानीबुझीकनै एक पछि अर्काे गर्दै थप्पड हान्ने काम निरन्तर भइरहेको छ।’

‘थप्पड हान्ने नेता’ भनेर पाण्डेले ओलीप्रति संकेत गरेका थिए। तर, ‘थप्पड हान्ने नेता’ भनेर जसरी ओलीको नाम लिएनन्, त्यसैगरी  ‘थप्पड खाने’ नेताको नामपनि पाण्डेले लिएनन्। पाण्डेले संकेत गरेका ओलीको थप्पड खाने एमालेको ती नेताहरु को को हुन्? विद्यादेवी भण्डारीलाई नै पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयसहित सकिएको बैठकपछि एमालेभित्र ओलीको थप्पड खाने नेता को को हुन्, उनीहरुको खोजी सुरु भएको नेपाल खबरले उल्लेख गरेको छ ।

स्रोतका भनाईमा, पाण्डेले ‘ओलीको थप्पड खाने नेता’ भनेर संकेत गरेका नामहरु थिए, महासचिव ईश्वर पोखरेल, बरिष्ठ उपाध्यक्ष बामदेब गौतम, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव भीम आचार्य।

बामदेब गौतम
नबौं महाधिवेशनमा गौतमले अध्यक्षका प्रत्यासी ओलीलाई समर्थन गरेका थिए। त्यसबापत ओली प्रधानमन्त्री बनेपछि गौतमलाई पार्टी अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति थियो। त्यसबाहेक ओलीले गौतमलाई आफूपछि संसदीय दलको नेता बनाउने बचनपनि दिएका थिए।

तर, प्रधानमन्त्री बनेपछि न ओलीले गौतमलाई प्रधानमन्त्री दिए, न त प्रधानमन्त्री बन्ने बाटो नै बनाइदिए। बरु, प्रतिनिधि सभाको गत निर्वाचनमा एमालेबाटै गौतममाथि अन्तर्घात भयो, बर्दिया–१ बाट गौतम पराजित भए। गौतममाथि अन्तर्घात गर्नेहरु ओली पक्षधर थिए।

ईश्वर पोखरेल
नबौं महाधिवेशनमा ओलीलाई अध्यक्षमा विजय गराउन निर्णायक भूमिका खेल्ने गौतमबाहेक अर्का शीर्ष नेता थिए, ईश्वर पोखरेल। पोखरेल यसपटक उपप्रधान तथा अर्थमन्त्रीका दाबेदार थिए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पोखरेल उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसकेका थिए।

तर, ओलीले पोखरेललाई उपप्रधानमन्त्री त बनाउन चाहेनन् नै, अर्थमन्त्रालयको जिम्मेवारीपनि दिएनन्। पार्टीको महासचिव, यसअघि उपप्रधानमन्त्री बनिसकेका एमालेका शीर्षमध्येका एक नेता पोखरेललाई ओलीले रक्षा मन्त्रालयमा थन्क्याइदिएका छन्।

अष्टलक्ष्मी शाक्य
शाक्य महिलापंक्तिमा मात्र होइन, एमालेका शीर्ष नेताहरुको पंक्तिमा पनि पर्छिन्। उनी यसपटक प्रदेश–३ को मुख्यमन्त्रीको दावेदार थिइन्। आफूभन्दा कनिष्ठ विद्या भण्डारी राष्ट्रपति नै बनेका बेला शाक्यको मुख्यमन्त्री बन्ने चाहना अस्वाभाविक पनि थिएन।

पार्टी अध्यक्षका नाताले ओलीले शाक्यका पक्षमा भूमिका खेल्न सक्थे। पार्टी स्थायी समितिबाट सर्वसम्मत निर्णय गराउन सक्थे। तर, ओलीले एमाले प्रदेशसभा संसदीय दलको बैठकमा निर्वाचनको माहोल बनाए र जहाँ ओली पक्षीय डोरमणि पौडेलले शाक्यलाई पराजित गरिदिए।

भीम आचार्य
एमाले सचिव आचार्य प्रदेश–२ को मुख्यमन्त्रीको दौडमा थिए। एमालेले नेतृत्व पाएका ४ मध्ये ३ प्रदेशमा ओली पक्षीय नेताहरु मुख्यमन्त्री हुने स्थितिमा नेपाल–खनाल समूहबाट आचार्यले प्रदेश–१ बाट मुख्यमन्त्रीको दावी पेश गरेका थिए।

तर, दावेदारीसँगै आचार्यको हुर्मत लिने काम सुरु भयो। स्थानीय तह निर्वाचनको उम्मेदवारी सिफारिस गरिँदा आचार्यले रकम माग गरेको अफवाह यसरी फैलाइयो कि, नेपाल–खनाल समूहको बहुमत हुँदाहुँदै ओली पक्षीय शेरधन राईले झिनो मतान्तरले आचार्यलाई प्रदेश सभा दलको नेतामा पराजित गरे।

थप्पड हान्ने र थप्पड खाने नेताहरुको नामै नलिई पाण्डेले भनेका थिए, ‘थप्पड खानेले खाएको खायै छन्, हान्नेले एकपछि अर्काेलाई थप्पड हानेको हान्यै छन्। तर, यस्तो हुँदापनि कसैले बुझ्दैन, थप्पड खानेले केही बोल्दैन। थाहा छैन, अरु कसकसले यसैगरी थप्पड खाने हुन्।’

पाण्डेको यो संकेत बरिष्ठ नेता झलनाथ खनालप्रति थियो, जो राष्ट्रपतिको आकांक्षी थिए।

अखिल उपाध्यक्ष पोखरेलले खाएको ‘थप्पड कथा’ सुनाएका पाण्डेले पार्टीभित्र सँधै यस्तै मौनताको स्थिति नरहने चेतावनीपनि अप्रत्यक्षरुपमा दिएका थिए। स्रोतका अनुसार, पाण्डेले भनेका थिए, ‘केही मानिसहरुलाई लाग्ला, सबै मानिसहरु शान्त छन्, कतैपनि मेरो विरोध छैन, आक्रोस छैन। बाहिर शान्तजस्तो देखिएपनि कुनैपनि समाजभित्र, व्यक्तिभित्र विरोध हुन्छ, आक्रोस हुन्छ। यस्तो आक्रोस कुनैपनि बेला जुनसुकै ढंगले विस्फोट हुनसक्छ। यो कुरा नेतृत्वले समयमै बुझ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको