चितवन पुगेर प्रचण्डले भने-ओली सरकारमा माओबादी केन्द्रका दुई मन्त्री आजै पठाउछु,ओलीजी लाई महान बनाउनु छ



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री आजै सहभागी हुने बताएका छन्।

गृह जिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी आजै सरकारमा सहभागी हुने बताएका हुन्।
‘ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना नेता आजै सहभागी हुँदैछन्’ प्रचण्डले भने, ‘को को जानुहुन्छ भन्ने तय भइसकेको छैन तर आज दुई जना सहभागी भएपछि विस्तारै सरकारले पूर्णता पाउँछ।’
विमानस्थलमा ओलीलाई भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी छोरी रेणु दाहाल र दाहालद्वारा मेयरमा पराजित एमाले नेता देवी ज्ञवालीले स्वागत गरेका थिए।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको थपिन्छन् भन्नेबारेमा एमाले पंक्तिमा कौतुहलता बढेको छ। मन्त्रीका लागि आशावादी नेताहरु पनि प्रधानमन्त्री ओलीले कस्तो छनोट गर्ने हुन् भन्नेमा सशंकित बनेका छन्।

यसपटक एमाले महासचिव ईश्वर पोखरेल मन्त्री बन्ने पक्का छ। समकालीन नेताहरुमध्ये कम मन्त्री बनेका पोखरेल सशथ ग्रहणका लागि फागुन ३ गते नै दौरासुरुवाल लगाएर राष्ट्रपति निवास पुगेका थिए। तर, माओवादीसँगको बाँडफाँट नटुंगिएकाले उनको शपथ हुन सकेन।

पहिलो पटक ०६१ मा शेरबहादुर देउवाको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका पोखरेल पेट्रोलियम पदार्थमा मूल्यवृद्धिका पक्षमा वकालत गर्दै ‘नत्र आत्महत्या गर्नुपर्छ’ भन्ने अभिव्यक्तिका कारण विवादित भएर फर्किएका थिए। दोस्रो पटक ०६९ मा बाबुराम भट्टराईको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेको १३ दिनमै संविधानसभा विघटनको मुद्दामा पार्टीले सरकार छाड्ने निर्णय गरेसँगै बाहिरिएका थिए।

यसपटक उनी मन्त्री बन्ने निश्चित भए पनि उनले पाउने मन्त्रालयका बारेमा भने टुंगो लागेको छैन। एमालेभित्र पोखरेल पनि अर्थमन्त्रीका आकांक्षी हुन् तर अर्थमन्त्री भैसकेका एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओली पोखरेललाई अर्थबाहेकको मन्त्रालय दिने योजनामा रहेका छन्।

अर्थमन्त्रीका लागि ओली निकट नेता प्रदीप ज्ञवाली अर्का आकांक्षी हुन् र एमाले वृत्तमा उनी निकटस्थहरूले अर्थमन्त्रीका रुपमा उनको चर्चा पनि सुरु गरेका छन्। तर प्रधानमन्त्री ओलीले अहिलेसम्म मुख खोलेका छैनन्।

ओलीको पहिलो कार्यकालमा ‘अर्थशास्त्र नपढेको’ भनेर आलोचना झेल्दाझेल्दै ‘सफल अर्थमन्त्रीको भूमिका निर्वाह गरेको’ भन्दै विष्णु पौडेलको पक्षमा ओलीसमक्ष लविङ भइरहेको छ। अघिल्लै सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेट नै ओलीका सपनाहरु भएकाले त्यसको कार्यान्वयनका लागि पौडेल उपयुक्त हुने सुझाव ओलीलाई उनी निकट नेताहरुले दिइरहेका छन्। तर, पौडेल चार पटक मन्त्री भइसकेकाले अरुलाई मौका दिनुपर्ने तर्क पनि उठिरहेको एक नेताले बताए।

एमालेका विभिन्न तहका नेताहरूबाट पाएको जानकारी अनुसार आफू निकट पोखरेल, पौडेल र ज्ञवालीमध्ये प्रधानमन्त्री ओलीले दुईजनालाई मन्त्री बनाउने र एक जनालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको बताइएको छ। ओली निकट नेताहरु शंकर पोखरेल र पृथ्वी सुुब्बा गुरुङ मुख्यमन्त्री भएर उपत्यका बाहिर रहेकाले कुनै एकजनाले पार्टीमा ओलीको प्रतिनिधिका रुपमा काम गर्नुपर्ने बाध्यता छ।

चार पटक मन्त्री भइसकेका भीम रावल यसपटक पनि मन्त्रीको दौडमा छन्। रक्षा र गृह जस्ता मन्त्रालय सम्हालिसकेका रावल यसपटक परराष्ट्रमन्त्री बन्ने दाउमा छन्। तर, उनी प्राविधिक कारणले पनि यसपटक मन्त्री हुन गाह्रो छ। उपप्रधानमन्त्री भइसकेका रावललाई पार्टीका उपाध्यक्ष भएका कारण मर्यादाक्रममा महासचिव पोखरेलभन्दा माथि राख्नुपर्ने हुन्छ।

तर सकभर उपप्रधानमन्त्री नै नबनाउने योजनामा रहेका प्रधानमन्त्री ओलीले बनाउनै परेमा पोखरेललाई छनोट गर्ने भएकाले रावलको सम्भावना कम देखिन्छ। सुदूरपश्चिमका नाममा सधैँभरि रावललाई मात्रै मौका दिइएको भन्दै सुदूरपश्चिमका नेताहरु नेतृत्वसँग आक्रोशित पनि छन्। त्यसैले यसपाली रावललाई मन्त्री हुनबाट रोक्न पार्टीभित्रका दुबै पक्षका नेताहरुले लविङ गरिरहेका छन्।

एमाले स्थायी समितिका २४ सदस्यमध्ये मन्त्री नबनेका एक मात्र नेता योगेश भट्टराईलाई मन्त्री बनाउनेमा नेताहरु करिब–करिब एकमत देखिन्छन्। अध्यक्ष ओलीले चुनाव प्रचारका क्रममा ताप्लेजुङ पुगेर ‘तपार्ईंहरुले योगेशलाई जिताएर पठाउनुस्, मन्त्री बनाउने जिम्मा मेरो भयो’ भनेका कारण पनि उनलाई मन्त्री बन्न सहज हुने अनुमान छ।

मन्त्रिपरिषद्मा क्षेत्रीय, लैंगिक, जातीय जस्ता सन्तुलन मिलाउनुपर्ने भएकाले चर्चामा नरहेका नेताहरु पनि मन्त्री बन्न सक्ने सम्भावना छ।

प्रदेश ७ बाट तत्कालीन भौतिक योजनामन्त्री वीरबहादुर बलायरलाई हराएर दोस्रोपटक चुनिएका डोटीका प्रेम आले दौडमा अगाडि छन्। दार्चुलाबाट दोस्रो पटक निर्वाचित गणेशसिंह ठगुन्ना वामदेव गौतममार्फत मन्त्री हुने योजनामा छन्।

प्रदेश ६ बाट माथिल्लो तहको नेता निर्वाचित नभएका कारण राज्यमन्त्रीसम्ममा प्रतिनिधित्व गराउने सम्भावना छ। यसका लागि डोल्पाबाट दोस्रोपटक निर्वाचित धनबहादुर बुढाको नाम करिब पक्का छ। यार्सागुम्बाका व्यापारी बुढाको वामदेव गौतम, ई्श्वर पोखरेल, शंकर पोखरेललगतयका नेताहरुसँग राम्रो सम्बन्ध छ। सुर्खेतका नवराज रावतले पनि चौथो प्रयासमा जितेको र अब चुनाव लड्ने सम्भावना नभएकाले आफूलाई मौका दिन नेताहरुलाई अनुरोध गरिरहेका छन्।

धेरै नेता भएका पाँच नम्बर प्रदेशबाट विष्णु पौडेल र प्रदीप ज्ञवालीको नाम भएकाले अरुले त्यति प्रयास नै गरेका छैनन्। गुल्मीबाट निर्वाचित गोकर्ण विष्ट यसपटक एक्ला जस्ता देखिएका छन्। माधव नेपाल समूहबाट सचिवमा निर्वाचित उनले बीचमा महासचिव ईश्वर पोखरेलसँग सम्बन्ध बढाएकाले यसपटक नेपाल पक्षको सहयोग पाउने सम्भावना नरहेको बताइन्छ। ऊर्जामन्त्री हुँदा विवादमा परेर राजीनामा दिन बाध्य रुपन्देहीकी राधा ज्ञवाली पनि महिला कोटामा मन्त्री हुने चक्करमा छन्।

चार नम्बर प्रदेशबाट कास्कीका रवीन्द्र अधिकारी मन्त्रीको स्वाभाविक चर्चामा छन्। लगातार तेस्रो पटक निर्वाचित उनलाई ओलीको अघिल्लै कार्यकालमा शहरी विकासमन्त्री बनाउने तयारी भए पनि ओली निकट युवा नेताहरुको तीब्र विरोधका कारण रोकिएको थियो। उनलाई मन्त्री बन्न नदिन ओली निकट कास्कीकै खगराज अधिकारी सक्रिय छन्।

राष्टियसभामा निर्वाचित ओली निकट पर्वतका गणेश तिमिल्सेनाको नाम विकल्पका रुपमा अघि सारिएको छ।

प्रदेश ३ बाट दोलखाका पार्वत गुरुङ मन्त्री बन्ने सम्भावना प्रवल छ। दोस्रो पटक निर्वाचित गुरुङ अध्यक्ष ओलीले मन पराउने नेतामध्ये मात्र पर्दैनन, ओली निकट व्यापारी आङ छिरिङ शेर्पाले यसपटक उनलाई नै बोकेर हिँडेका छन्। शेर्पासँगै राम्रो सम्बन्ध भएका ओलीका विश्वासपात्रका रुपमा चिनिने काभ्रेका गोकुल बाँस्कोटा पनि मन्त्री हुने लविङमा छन्।

काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठ र रामबीर मानन्धर मन्त्रीको दौडमा छन्।

प्रदेश २ बाट निर्वाचित दुई जनामध्ये रघुवीर महासेठको नाम पक्का जस्तै छ। तर, राष्टियसभामा निर्वाचित सप्तरीका सुमन प्याकुरेल पनि राष्ट्रपति विद्या भण्डारीमार्फत मन्त्री बन्ने योजनामा छन्। उनका दाइ सुशील प्याकुरेल राष्ट्रपति भण्डारीका राजनीतिक विज्ञका रुपमा शीतल निवासमा कार्यरत छन्।

प्रदेश १ बाट भानुभक्त ढकाल मन्त्रीको लाइनमा छन्। मोरङबाट निर्वाचित ढकाल लामो समयदेखि ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन्। योगेश भट्टराई, रविन्द्र अधिकारी र ढकाल समकालीन भएकाले ढकाल पनि नछुट्ने सम्भावना छ। माधव नेपाल पक्षले ओखलढुंगाबाट दोस्रो पटक निर्वाचित यज्ञराज सुनुवारको नाम अघि सारेको छ।

महिलातर्फ स्याङ्जाबाट निर्वाचित पद्मा अर्याल, दोस्रोपटक समानुपातिक कोटामा परेकी काठमाडौँकी विन्दा पाण्डे र झापाबाट निर्वाचित पवित्रा खरेलमध्ये एकजना मन्त्री बन्नेछन् भने दलितबाट रुपन्देहीका छविलाल विश्वकर्माको नाम सर्वसम्मत जस्तै छ। थारुबाट मन्त्री बन्न आरजु देउवालाई हराएका नारदमुनि रानाको दौडधुप छ।

एमालेले बढीमा १० मन्त्रालय पाउने भएकाले आकांक्षीहरुलाई व्यवस्थापन गर्न नेतृत्वलाई कठिन देखिएको छ। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपालसँग सल्लाह गरेर सन्तुलित मन्त्रिपरिषद् बनाउने संकेत पहिलो दिन नै उनी निकट लालबाबु पण्डितलाई शपथ गरेर देखाएकाले यसपटक कोटेश्वर धाउनेहरुको संख्या पनि बढेको छ।

उता अर्का वरिष्ठ नेता झलनाथ खनाल आफ्नो कोटाबाट काठमाडौँका जीवनराम श्रेष्ठलाई मन्त्री बनाउन सकिन्छ कि भनेर लागेका छन्। उपाध्यक्ष वामदेव गौतमले दार्चुलाका गणेशसिंह ठगुन्ना, राष्ट्रियसभाका बलराम बाँस्कोटा र स्याङ्जाकी पद्मा अर्यालमध्ये एकलाई मन्त्री बनाउन जोड लगाउने छन्।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।