बाबुरामले मामा संग रुन्चे स्वरमा भने-‘वामपन्थी सरकार बन्यो भने अमेरिका, युरोपेली युनियन र भारतले नेपाललाई सहयोग गर्दैनन्’



‘वामपन्थीहरुले जिते भने कस्तो अवस्था होला, तपाईंलाई थाहा छँदैछ। वामपन्थीहरुको सरकार बन्यो भने देशको उन्नति हुन्न, युरोपियन युनियन, अमेरिका कसैले सहयोग गर्दैनन्। भारतले पनि उदारतासाथ सहयोग गर्दैन। सहयोग गर्‍यो भने चीनले अलिअलि गर्ला। तर, त्यत्तिले मात्र देशको विकास हुँदैन। देशमा ठूलो समस्या उत्पन्न हुन्छ। यो कुरा तपाईंलाई थाहा छँदैछ।’

बुधबार साँझ गोरखाको छोप्राक पुगेका नयाँशक्ति नेपालका संयोजक एवं गोरखा–२ का प्रत्यासी बाबुराम भट्टराईले यसै भनेर मामा पर्ने कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको मन जित्ने प्रयास गरे। न्यौपानेले अघिल्लो हप्ता जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनमार्फत् निष्ठावान कांग्रेसजनले रुखबाहेक अन्य चिन्हमा मत दिन नसक्ने धारणा सार्वजनिक गरेपछि भट्टराई दवावमा परेका थिए।

कांग्रेससँग तालमेल गरेपनि जिल्ला विकास समितिको पूर्व सभापति समेत रहेका गोरखा कांग्रेसका बरिष्ठ नेता न्यौपानेको समूहको मत नपाउने देखेपछि भट्टराईले सुरुमा छोरी मानुषीलाई पठाए, ‘कन्भिन्स’ गर्न। तर न्यौपानेले मानुषीमार्फत् भट्टराईलाई सन्देश पठाए, ‘मतपत्रमा रुख बाहेक आँखा, कान, घुँडो खोज्दै हिँड्ने मान्छे म होइन।’

न्यौपानेको अडान कायमै रहँदा अप्ठेरो पर्ने देखिएपछि भट्टराई बुधबार साँझ आफै न्यौपाने निवास पुगे।

मामा–भाञ्जाबीचको कुराकानी मानुषीकै प्रसङ्गबाट प्रसङ्गबाट सुरु भयो। न्यौपानेले भट्टराईसँग भने, ‘नातिनी (मानुषी) पनि आएकी थिइन्। मैले मेरो जे अडान हो, त्यो उनीसँग पनि राखिदिया’थेँ। मैले भनेको कुरा तपाईं सामुपनि पक्कै पुग्यो होला। मेरो अडान अहिले पनि त्यही हो।’ मामा टसमस भएको बुझेपछि भट्टराईले वामगठबन्धनले जिते चीनबाहेकका मुलुकले नेपाललाई सहयोग नगर्ने बताएको नेपाल खबरले उल्लेख गरेको छ ।

भट्टराई बेलुकी बुधबार (२९ कार्तिक) साँझ ७ बजेतिर न्यौपाने निवास पुगेका थिए, जहाँ आधा घण्टा न्यौपाने–भट्टराईबीच कुराकानी भयो। भट्टराईले न्यौपानेसँग सिधै भोट मागेनन्। न्यौपाने भन्छन्, ‘तर कुराकानीको शैली चाहिँ भोट माग्ने खालकै थियो, उहाँको कुरा गराईबाट मैले त्यस्तै ‘सिग्नल’ पाएँ।

के जवाफ दिनुभयो त?
मैले भनें, ‘यो क्षेत्र (गोरखा–२) मा मुख्य दुईजना उम्मेदवार हुनुहुन्छ, तपाईं र नारायणकाजी श्रेष्ठ। अरुपनि छन्, तर ती नाम मात्रका उम्मेदवार हुन्। त्यसैले के गर्ने, कसलाई दिने– विवेक प्रयोग गरेर निर्णय गर्नुपर्ला।’ मेरो कुरा गराइको आसय उहाँले पक्कापनि बुझ्नु भयो होला। किनभने, नातिनीलाई सबै कुरा बताइसकेको थिएँ।

भट्टराई आफ्नो विजयप्रति त्यति विश्वस्त चाहिँ रहेनछन्। न्यौपानेसँग भट्टराईले भनेछन्, ‘अप्ठेरो-अप्ठेरै छ मामा। कांग्रेसले दिलैदेखि समर्थन गरे जित्छु, निच मार्‍यो भने चाहिँ गार्‍हो छ।’

न्यौपानेले भट्टराईको यो भनाईको आसयको विश्लेषण गर्दै भने, ‘कांग्रेसहरु तालमेलप्रति उत्साहित भए भने जित्छु, नत्र सक्दिन’ भन्ने नै हो उहाँको कुरोको चुरो।’

भट्टराईको भनाई सम्भवतः न्यौपानेप्रति पनि लक्ष्यित थियो। किनभने, न्यौपानेले सार्वजनिक रुपमा नै रुखबाहेक अरु चिन्हमा मत नदिने बताएका थिए। भट्टराईले ‘कांग्रेसको पुरै समर्थन नपाउँदा नजित्ने’ बताएपछि न्यौपानेले किन आफूहरु रुख बाहेक अरुलाई मत नदिने पक्षमा पुगेको हो, त्यसको कारणपनि भट्टराईसँग खुलाए।

उनले भट्टराईलाई भनेछन्, ‘जनयुद्धका बेला यहाँ कांग्रेसका मात्र २० जनाको हत्या भयो। त्यो बेला तपाईं (भट्टराई) पार्टीको नेतृत्वमा हुनुहुन्थ्यो। त्यसैले पीडित परिवारहरुलाई कांग्रेसले तपाईंलाई समर्थन गरेकोमा कत्तिपनि चित्त बुझेको छैन। त्यसैले, जानुस्, मारिएका परिवारसँग कुरा गर्नुस्, सम्झाउनुस्। उनीहरुले भोट दिने नदिने त्यसैमा भर पर्छ।’

न्यौपानेले यसो भनेपछि भट्टराईले मुन्टो हल्लाए। न्यौपानेका भनाईमा, ‘त्यो पनि ठीकै हो’ भन्ने जवाफमात्र दिए भट्टराईले।

कांग्रेससँग तालमेल गरेपनि चुनाव प्रचारका क्रममा ‘कांग्रेसलाई नजरअन्दाज गरेको’ भन्दै न्यौपानेले भट्टराईको आलोचनापनि गरेछन्। आफूले भट्टराईलाई भनेका कुरा न्यौपानेले यसरी सुनाए :

उहाँका अनेक बक्तव्य एफएम रेडियोहरुमा आउँछन्। उहाँले भन्ने गर्नुभएको छ : म बाबुराम भट्टराई। तपार्इं गोरखाका मतदाताहरुले २–२ पटक मलाई संविधान सभामा जिताएर पठाउनु भएको छ। तपाईंहरुकै मतबाट म अर्थमन्त्री भएँ, प्रधानमन्त्री भएँ। विकासको पूर्वाधार खडा गरें। यस पटक म नयाँशक्ति नेपालको तर्फबाट आँखा चुनाव चिन्ह लिएर गोरखा–२ मा उम्मेदवार बनेको छु। मलाई मतदान गर्नुहोला।

उहाँ आफूलाई कांग्रेसको पनि उम्मेदवार भन्नुहुन्छ। तर उहाँको बक्तव्यमा कांग्रेसका कुरा कतैपनि पाइन्न। उहाँले कांग्रेसको नाम उल्लेख गर्नु जरुरी नै सम्झनु भएन। मैले यही कुरा राखेपछि उहाँले ‘म आजदेखि कांग्रेसको कुरापनि थप्छु मामा, म संयुक्त उम्मेदवार हुँ’ भन्नु भएको छ।

भट्टराईसँग भएको कुराकानी सुनाएपछि उनले गोरखाको चुनावी समीक्षापनि गर्न भ्याए। ‘हिजो (२९ कार्तिक) ओली र प्रचण्ड गोरखा आए। गोरखाभरि एमाले र माओवादीले सभा गरे। मेरै घर अगाडि मोटरबाटो छ। मेरै आँखाले देखेँ, ८०–९० वटा गाडीमा चढेर मान्छेहरु सभामा गए, विचित्रसँग गए’ न्यौपानले भने, ‘त्यसको प्रभाव चुनावमा परिहाल्छ। बाबुरामलाई गार्‍हो हुने देख्दैछु म। निकै गार्‍हो छ।’

केही समय यता भट्टराईले बाटो बिराएको बताउनपनि उनी चुकेनन्। ‘विद्धान् त हुन्, तर अस्थिर विद्धान्’ भाञ्जा भट्टराईप्रति आफ्नो विश्लेषण सुनाउँदै न्यौपानेले कुराकानीको विट मार्न खोजे, ‘खासमा उनी (बाबुराम) आफ्नै पार्टीमा बसेको भए हुने, त्यहीँ बसेर संघर्ष गरेको भए अल्लि पछि केही न केही भइहाल्थे। असाध्यै अस्थिर भएर बिग्रिए।’

न्यौपानेलाई सोधिएको अन्तिम प्रश्न थियो : अन्तिममा डा भट्टराई के भनेर छुट्टिनुभयो?

न्यौपानेले भने : ‘मंसीर २ गते पालुङटार आइदिनु होला मामा’ भन्नुभयो। २ गते त्यहाँ सभा छ रे। ‘रामचन्द्र पौडेल, गगन थापा आउँछन्’ भन्दै हुनुहुन्थ्यो। मैले ‘सकेँ भने आउँला, नसके अन्यथा नमान्नु होला’ भनिदिएको छु।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको