‘हाम्रै दूधले प्रधानमन्त्री समेत पालिन्छन्, लगानी उठेन भनेर कोसँग झगडा गर्नु !’



 

सरकारी बेवास्ता र सहकारी तथा दुग्ध व्यवसायीको मनोमानीका कारण दूध उत्पादक कृषकहरू मर्कामा पर्ने गरेका छन् । किसानबाट अति नै न्यून मूल्यमा खरिद गरेको दूध दुग्ध व्यवसायीहले ठाउँको ठाउँ प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म मूल्य थपेर बेच्ने गरेका छन् ।

 

किसानबाट दूध खरिद गर्दा फ्याट (दूधमा रहेको चिल्लो पदार्थ)को हिसाबले मूल्य निर्धाण हुन्छ । गाईको दूधको कुरा गर्दा अधिकांश कृषकले प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म मूल्य पाउने गरेका छन् । चितवनका दुग्ध किसान शम्भु घिमिरेले आफूले प्रतिलिटर ५० रुपैयाँका दरले दूध बिक्री गर्दै आएको बताए ।

 

जर्सी जातका गाई पालेका उनले गाईलाई खुवाउने दाना र घाँस लगायतका वस्तुको खर्च जोड्दा दूध बिक्रीबाट नाफा नरहेको गुनासो गरे । ‘महिनाभरी दूध बिक्री गरेर त्यही १० देखि १२ हजार रुपैयाँको हिसाब किताब हुन्छ,’ उनले भने, ‘खासै फाइदा हुँदैन । गाईलाई खुवाउने दाना र घाँस खरिदमै ठिक्क हुन्छ ।’

 

घिमिरेले आफूले ५० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गरेको दूध बजारमा उपभोक्ताले ७० रुपैयाँदेखि ७२ रुपैयाँमा किन्नु पर्दा आफूलाई चित्त नबुझेको बताए । ‘मैले ५० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गरेको दूध बजारमा ७० रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने, ‘कि त हामीलाई ६० रुपैयाँसम्म दिए हुन्थ्यो, कि उपभोक्ताले ६० रुपैयाँमा पाए हुन्थ्यो ।’

 

६० रुपैयाँसम्ममा बिक्री गर्न पाए दूध उत्पादनको प्रतिफल पाइने उनको भनाइ छ । ‘हामीले ५० रुपैयाँमा बिक्री गरेको दूध तपाईंहरूले ६० रुपैयाँमा पाए पनि ठिकै हो,’ घिमिरेले थपे, ‘अब सरकारले नै दूधको गुणस्तरमा सुधार ल्याउने अभियान चलाएर दूधको उचित मूल्य समेत तोक्नु पर्छ ।’

 

त्यस्तै चितवनकै गाईपालक कृषक डोलप्रसाद धमलाले समय हेरेर ४० रुपैयाँ लिटरदेखि ५० रुपैयाँसम्म दूधको मूल्य पाउने गरेको बताए । ‘दूधको मूल्य लिटरको कुनै बेला ४० रुपैयाँ पाइन्छ, कुनै बेला ५० रुपैयाँ पनि आउँछ,’ उनले भने ।

 

फ्याटका आधारमा मूल्य निर्धारण हुने भएकाले मूल्यमा एकरूपता नरहेको  उनको भनाइ छ । ‘यिनीहरूले फ्याट निकाल्छन् नि, त्यो फ्याटका आधारमा हामीले मूल्य पाउँछौं,’ उनले भने, ‘यो मूल्य ठीक त छैन । तर ठीक भएन भनेर कोसँग झगडा गर्नु?’

 

प्रधानमन्त्रीसम्म उच्च ओहोदाको व्यक्ति समेत आफूहरूले नै उत्पादन गरेको दूधले पालिने गरेको भन्दै धमलाले प्रधानमन्त्रीसँग झगडा गर्न कसरी जानु भन्ने प्रश्न समेत गरे । ‘यहाँदेखि सिंहदरबारका हाकिमहरूसम्म हाम्रै दूधले पालिन्छन्,’ उनले भने, ‘अब हामीले दूधको उचित मूल्य तोकिदिनु भनेर झगडा गर्न सिंहदरबार कसरी जानु ?’

 

आफूहरूले उत्पादन गरेको दूधको मूल्य पानीको भन्दा पनि सस्तो रहेको धमलाको गुनासो छ । ‘६० रुपैयाँ प्रतिलिटरसम्म पाए त ठीकै हो,’ उनले भने, ‘हाम्रो दूध भन्दा पानी महंगो छ । कसलाई के भन्नु ?’ तलदेखि माथिसम्मका सबैलाई किसानले पाल्नु परेको अवस्थामा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मले किसानलाई उपेक्षा गरेको उनको गुनासो छ ।

 

चितवन रत्ननगरकै गाईपालक किसान किशोर बगाले सरकारले दूध उत्पादन गर्ने वातावरण बनाइदिनुपर्ने बताउँछन् ।  कसरी गुणस्तरीय दूध उत्पादन गर्न सकिन्छ, त्यो जानकारी किसानलाई पनि भएको तर, सरकारले उपलब्ध गराउनुपर्ने सुविधा उपलब्ध गराउन नसकेको बगालेको भनाइ छ ।

 

किसानको दूध संकलन गर्दै आएका दुग्ध सहकारीहरूले भने सहकारी सञ्चालन खर्च, भाडा लगायतका खर्च जोड्दा दूधको मूल्य बढ्ने प्रतिक्रिया दिए । संस्था सञ्चालन, दूध ढुवानी लगायतका खर्च समेत जोड्दा दुधको मूल्य औसतमा ७० रुपैयाँसम्म पुग्ने गरेको उनले बताए ।

 

मनकामना दुग्ध उत्पादन सहकारीका सञ्चालक बलराम हुमागाईंले ४८ रुपैयाँ देखि ५२ रुपैयाँ प्रतिलिटरका दरले आफूहरूले किसानबाट दूध खरिद गर्ने र ५६ देखि ५८ रुपैयाँ प्रतिलिटरका दरले आफूहरूले बिक्री गर्ने गरेको बताए । ‘हामीबाट किसानले ५० देखि ५२ रुपैयाँ प्रतिलिटरका दरले पाउने गर्छन्,’ उनले भने, ‘सहकारी सञ्चालन खर्च, ढुवानी खर्च, नाफा लगायतका खर्च जोडेर ५८ रुपैयाँ प्रतिलिटरका दरले हामीले डेरी उद्योगलाई बिक्री गर्छौं, ।’

 

चितवनकै झवालीमा रहेको गौरीधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सहकारी सञ्चालक खर्च, ढुवानी खर्च र नाफा जोडेर डेरी उद्योगीलाई ५८ रुपैयाँ प्रतिलिटरसम्ममा दूध बिक्री गर्ने गरेको जानकारी जनाएको छ ।

 

किसानले उत्पादन गरेको दूधको मूल्य उपभोक्तासम्म पुग्दा झण्डै दोब्बर हुन्छ । किसान र उपभोक्ताको बीचमा रहेका बिचौलियाहरूका कारण न त उपभोक्ताले सुलभ मूल्यमा दूध पाउन सकेका छन्, न किसानले उचित मूल्य नै ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने