३३ किलो सुन काण्डमा मारिएका शाक्यको घटना दबाउन पूर्व आइजीपी अर्यालले चलखेल गरेको यस्तो खुल्यो तथ्य



३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानका लागि तत्कालीन आइजिपी प्रकाश अर्यालले नै अपराध महाशाखाको टोलीलाई मोरङ पठाएको खुलेको छ। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका अनुसार अर्यालकै सूचनाका आधारमा अपराध महाशाखाको टोलीले मोरङ पुगेर शाक्यको शव बरामद गरेको थियो। जसले गर्दा पूर्व आइजिपी अर्याल पनि शंकाको घेरामा परेका छन्। तर, सो समूहलाई उनले सहयोग गरेको प्रमाण भने फेला नपरेको छानबिन समितिका एक अधिकारीले बताए।

अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले छानबिन समितिको सोधपुछमा महानिरीक्षककै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका छन्। महाशाखाले कार्यक्षेत्र नाघेर अनुसन्धानमा चलखेल गरेको आरोप लागेको थियो। शाक्य हत्याको अनुसन्धानमा महाशाखाले मुख्य नाइकेलाई जोगाएपछि त्यसमा भएको चलखेल बाहिर आएको थियो। जुन घटनाको छानबिन गर्दा लामो समयदेखि विमानस्थलबाट प्रहरीकै सहयोगमा सुन तस्करी हुँदै आएको खुलिसकेको छ। घटनामा संलग्न ४ प्रहरी अधिकारीसहित २५ जना पक्राउ परिसकेका छन्।

सुन तस्करीका नाइके चुडामणि उप्रेती (गोरे) ले नै प्रहरी अधिकारीहरुलाई सूचना दिएर घटनाको व्यवस्थापनका लागि आफू अनुकूल प्रहरी काठमाडौंबाट परिचालन गराएका थिए। तस्करीको ३३ किलो सुन हराएपछि शाक्यले लुकाएको हुनसक्ने आशंकामा उनलाई अपहरण गरेर करेन्ट लगाइएको थियो। करेन्टकै कारण उनको फागुन १८ मा मृत्यु भएपछि शाक्यकै साथीहरुलाई अभियुक्त बनाएर फसाउन र आफूहरु जोगिनका लागि उप्रेतीले त्यसरी प्रहरीसँग साँठगाँठ गरेका थिए।

स्रोतका अनुसार उप्रेतीको अर्यालसँग पटक-पटक फोन सम्पर्क देखिएको छ। त्यसबाहेक अन्य प्रमाण भने भेटिएको छैन।

एसपीसहित तीन प्रहरी निलम्बनमा

सुन तस्करीमै जोडिएका एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध मुद्दा प्रक्रिया अघि बढेको छ। उनीहरुलाई मोरङ जिल्ला अदालतले बिहीबार ६ दिन थुनामा राख्न म्याद दिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा संगठित अपराध मुद्दा चल्नेछ। पूर्व डिआइजी गोविन्द निरौलाविरुद्ध पनि हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाइएको छ।म्याद थप भएसँगै उनीहरु निलम्बनमा परेका छन्।

मंगलबार बयानको क्रममा शौचालय गएका राउत त्यहीँबाट भागेका थिए। बिहीबार उनी आफैं गृहमा उपस्थित भएका थिए। पूर्वडिआइजी निरौला, एसपी खनाल र डिएसपी राउतले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीमा सघाएका थिए।

डिएसपी केसीलाई पनि बयानका लागि पत्राचार

अपराध महाशाखाका तत्कालीन डिएसपी प्रजित केसीलाई पनि सोधपुछका लागि भनेर जिल्ला प्रहरी कार्यालय मोरङले पत्राचार गरेको छ। तस्करहरुलाई सहयोग गरेको प्रमाण भेट्टिएपछि उनलाई समेत पत्राचार गरिएको स्रोत बताउँछ। उनी पनि घटनाका प्रतिवादी बन्ने सम्भावना छ।

डिएसपी केसी नेतृत्वकै प्रहरी टोलीले शाक्यको शव बरामद गरी तीन जनालाई पक्राउ गरेको थियो। शाक्य हत्याको अनुसन्धानको सुरुवात नै गलत नियतबाट भएको गृह मन्त्रालयको छानबिनमा खुलेको थियो। केसीसँगै घटनाको अनुसन्धानमा गएका सई सञ्जेल पक्राउ परिसकेका छन्। अन्य केही प्रहरी अधिकारीको हकमा समेत प्रमाण जुटाउने काम भइरहेको छानबिन समिति स्रोत बताउँछ।

एसएसपी श्याम खत्रीविरुद्ध पनि ३३ किलो सुन तस्करी प्रकरणमा मुद्दा चल्ने सम्भावना छ। उनी छानबिन समितिमा उपस्थित नै भएका छैनन्। उनी गत वर्षको साढे ३३ किलो सुन तस्करी प्रकरणका प्रतिवादी हुन्।

विमानस्थलबाट हुँदै आएको संगठित तस्करी र त्यसमा एयरलाइन्सका कर्मचारी तथा प्रहरीको संलग्नतासम्बन्धि विवरणहरु केही दिनपछि सार्वजनिक गर्ने छानबिन समितिको तयारी छ।

प्रहरीविरुद्ध के छ प्रमाण?

सिनियर प्रहरी अधिकारीलाई नै प्रतिवादी बनाइएको यो अनुसन्धानका धेरै पाटो छानबिन समितिले गोप्य नै राखेको छ। मुख्य तस्कर चुडामणि उप्रेती ‘गोरे’सँग निकटता भएको आधारमा प्रहरी अधिकारीहरुलाई मुद्दा चलाइएको आशंका पनि गरिएको छ।

छानबिन समितिका एक सदस्य भने अकाट्य प्रमाणका आधारमा आफूहरुले अनुसन्धान गरेको बताउँछन्। ‘फोन सम्पर्कका आधारमा मात्र कसैलाई पनि प्रतिवादी बनाइएको छैन,’ छानबिनमा आबद्ध गृह मन्त्रालयका एक अधिकारीले भने, ‘जो-जो प्रहरीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको छ, उनीहरुले ३३ किलो सुन तस्करीमा सघाएको बलियो प्रमाण छ।’

छानबिन समितिले बयानमा बोलाएकामध्ये सई गजेन्द्र रावलविरुद्ध भने बलियो प्रमाण नभेटिएको भन्दै प्रतिवादी बनाइएको छैन। यद्यपि उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट २५ अर्बभन्दा बढीको क्षति

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक

नुवाकोटको शिवपुरीमा हायस दुर्घटना

     काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ ।

झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२