क्वारेन्टाइनमा बस्न कोही पर्यटक नेपाल आउँदैनन् : चन्द्र रिजाल, उपाध्यक्ष नेपाल पर्यटन बोर्ड



 

 

अहिले नेपालको समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?

एकदम अकल्पनीय र कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । अहिले नेपालमा पर्यटक भरिभराउ हुने मौसम हो, तर आएका छैनन् । दिनमा एक–दुईजना पर्यटकको अनुहार कता–कता देखिन्छ, त्यति हो । सरकारले नबुझेको हो कि, बेवास्ता गरेको हो, कुनै ठोक कार्यक्रम ल्याउन सकेको छैन ।

कोभिडले नेपाललाई गाँजेकै हो तर, भ्याक्सिन लगाएका मानिस त आउन पाउनु पर्ने हो नि ? अहिले नेपालमा पर्यटक आउन नसक्नुको मुख्य कारण नै सरकारले बनाएको क्वारेन्टाइन हो ।

दुईवटा भ्याक्सिन लगाएको र २४ घण्टाको पीसीआर रिपोर्ट लिएर आएका पर्यटक क्वारेन्टाइनमा १० दिन विताएपछि मात्र घुम्न पाउने व्यवस्था छ । क्वारेन्टाइनमा बस्न नमान्ने पर्यटकलाई एयरपोर्टबाटै फिर्ता पठाइएको छ । १०–१२ दिनका लागि घुम्न आउने पर्यटकले १० दिन क्वारेन्टाइन बस्नुपर्ने भएपछि कोही नेपाल घुम्नलाई आउँला ?

विश्वका कतिपय देशमा जस्तो नेपालमा कोभिड फैलिएको पनि होइन । अब त धेरैले भ्याक्सिन पनि लगाएका छन् । सरकारले सोच्नु पर्ने हो । तर सरकार अझै यो विषयमा उदासिन छ ।

अहिले नेपालमा पर्यटक आउने स्थिति छ । नेपालमा पर्यटक आउन पनि चाहन्छन् तर नेपालले अन्तर्राष्ट्रिय समुदायलाई लबिङ गर्न सकेको छैन । नेपालको पर्यटन क्षेत्रको अत्यन्त दयनीय अवस्थामा हुँदा पनि सरकार मुकदर्शक मात्र बनेको छ ।

२० प्रतिशत व्यवसायी त कहिल्यै पनि यो व्यवसायमा नआउने गरी पलायन भइसकेका छन् । बैंकको ऋण तिर्न नसकेर धमाधम भएका भौतिक पूर्वाधार बेच्नु परेको अवस्था छ । घरबेटीलाई भाडा बुझाउन सकेका छैनन । धेरै मजदुरको रोजीरोटी पनि खोसिएको छ ।

सरकारले गर्नुपर्ने के काम गरेन त ?

सरकारले अहिलेसम्म कोही पनि पर्यटन विज्ञसँग छलफल नै गरेको छैन, अब के गर्ने भनेर । पर्यटन बोर्डको सुझावलाई पनि सरकारले लत्याउने गरेको छ । देशमा पर्यटक भित्र्याउनका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र विज्ञकै कुरालाई मान्नुपर्ने हुन्छ । तर, त्यसो हुन सकेको छैन ।

साथै नेपालको पर्यटक क्षेत्रलाई निजी क्षेत्रले नै ‘होल्ड’ गरेको छ । पर्यटन बोर्ड निजी क्षेत्र र सरकारको स्वामित्वमा बनेकाले बोर्डको सुझाव सरकारले मान्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन ।

अन्य मुलुकमा दुई डोज भ्याक्सिन लगाएका मानिस खुलेआम घुम्न थालिसके । हाम्रोमा अझै क्वारेन्टाइन मापदण्डमा राखिरहेका छौं । यो विषय विज्ञको कुरा नमान्दाको प्रतिफल हो ।

हाम्रो कर्मचारी संयन्त्र, राजनीति दल, राज्य संयन्त्रमा बसेका व्याक्तिहरुको अनविज्ञताका कारण समयमा निर्णय नगर्ने परिपाटीले पर्यटन व्यवसाय झन्–झन् धराशायी बनेको छ ।

विश्वका धेरै देशले भ्याक्सिन लगाएका पर्यटकलाई खुला गरेका अवस्था छ । तर, हाम्रोमा अझै निर्णय भएको छैन ।

आन्तरिक पर्यटनको स्थिति चाहिँ कस्तो छ ?

विगतका वर्षहरुमा आन्तरिक पर्यटकलाई पर्यटन व्यवासयीले नपत्याएको साँचो हो । तर, कोभिड–१९ पछि गत वर्ष आन्तरिक पर्यटकले केही महिना नेपालको पर्यटन व्यवसायलाई चलायमान बनाए । यसले के देखाउँछ भने अब आन्तरिक पर्यटकले पनि नेपाललाई धान्न सक्ने रहेछ ।

अहिले सरकारले तोकेको मापदण्ड पूरा गरेर नेपाली जनता घुम्न निस्कनु हो भने नेपालको पर्यटन व्यवसाय चलायमान हुन्छ । तर, यस विषयमा सरकार अहिले पनि पुरानै पारामा काम गरिरहेको छ ।

जस्तो चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई भत्ता दिएर १० दिन देश घुम्न पठाउने उल्लेख गरेको छ । तर, अहिलेसम्म सरकारले त्यसको कार्यन्वयन गरेको छैन ।

कस्ता खालका व्यवसायी बढी असर परेको छ ?

खासगरी साना व्यवसायी र त्यहाँ कामगर्ने मजदुर पलायन नै भएका छन् । भर्खर व्यवसायमा हात हालेकाहरु मारमा परेका छन् । जसले करडौं रुपैयाँ ऋण लिएर काम गरेका थिए उनीहरु पलायन भएका छन् । ठूला व्यवसायीलाई पनि यो व्यवसायमा रहन धौ–धौ परेको छ ।

अब पर्यटन व्यवसायको पुनरुत्थानका लागि कस्ता कार्यक्रम ल्याउनु पर्छ ?

सबैभन्दा पहिले क्वारेन्टाइन खोल्नुपर्यो । नेपाल घुम्न जाँदा क्वारिन्टाइन बस्नु पर्दैन भन्ने भए अहिले पनि पर्यटक आउन तयार छन् । साथै, पर्यटक आउना साथ एक महिनाको फ्री भिषा दिने कुरा कार्यान्वयन गरिनु पर्छ । अत्यन्त मारमा परेका व्यवसायीलाई राहत प्याकेज ल्याउनु पर्छ । उनीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनु पर्छ । यदि सरकारले अहिले पर्यटन व्यवसायीको इनिसिएसन नलिने हो भने यसको असर पछिसम्म रहनेछ ।

पर्यटन बोर्डले चाहिँ के गरिरहेको छ त ?

लामो समयदेखि पर्यटन बोर्डले जति काम गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको थिएन । व्यवस्थापकीय पक्ष, राजनीतिक अस्थिरता र बोर्डमा हुने भ्रष्टाचारका कारण राम्रोसँग काम भएको थिएन । अहिले हामी व्यवसायी नै बोर्डमा आएपछि केही सुधार भएको छ । यद्यपि, अझै धेरै गर्न बाँकी नै छ ।

अब कहिले पर्यटन क्षेत्र पहिलानै स्थितिमा आइपुग्ला ?

सरकारले पर्यटक आगमनमा सहज गराउने हो भने चाँडै नै पर्यटन क्षेत्र रिभाइव हुन्छ । सरकारले विश्वासिलो वातावरण बनाउने हो भने तुरुन्त नेपालमा पर्यटक आउन थाल्छन् ।

प्रतिक्रिया दिनुहोस
विशेष पत्रकार सम्मेलन गर्दै एमाले

  नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय

एमालेको प्रतिनिधि परिषद् बैठकमा देउवालाई निम्तो

    नेकपा एमालेले भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

    सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

     राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को