४३ बर्षमा १७ सन्तान



हाम्रो इकोनोमि

 

तेह्रथुम — छथर गाउँपालिका ३, ज्यामिरेकी सबिना लिम्बू भर्खर २८ वर्ष लाग्दै छिन् । यो उमेरमै उनले ७ सन्तान जन्माइसकिन् । जेठो सन्तान ९ वर्षका छन् । त्यसयता उनले ६ सन्तानलाई जन्म दिइन् । दुई सन्तानको भने बाल्यावस्थामै मृत्यु भइसकेको छ ।

 

छथरकै पेक्चीमाया लिम्बूको उमेर ४३ वर्ष पुग्दै छ । उनले १७ सन्तानलाई जन्म दिइसकिन् । कलिलै उमेरमा धनकुटाको चौबीसे क्षेत्रबाट विवाह गरी आएकी उनले जन्माएका १७ सन्तानमध्ये ७ जनाको मृत्यु भइसकेको छ । बर्सेनि सन्तान जन्माउँदा पेक्चीमायाको शरीर कमजोर भएको छ ।

 

 

सुत्केरीमा समेत मीठो–मसिनो र पोसिलो खानेकुरा खान नपाउँदा स्वास्थ्य कमजोर भएको उनले बताइन् । सोही गाउँकी ४० वर्षीया विन्दुमाया लिम्बूले पनि ७ छोराछोरी जन्माइसकेकी छन् । उचित खानपान, हेरचाह र स्याहार–सुसार नपुगेका सबै बालबालिकाको शारीरिक अवस्था कमजोर देखिन्छ । मजदुरी गरी जीविकोपार्जन गर्दै आएका गाउँका २३ घर लिम्बू समुदायका सबैमा सन्तान उत्पादन दर धेरै रहेको स्थानीय अगुवा युवा इन्द्रसागर लिम्बू बताउँछन् ।

यहाँका लिम्बू समुदायमा गरिबी पनि उत्तिकै बढिरहेको उनले बताए । गरिबीका कारण सबैका घरमा बिहान खाए बेलुका के खाने भन्ने चिन्ताले पिरोलिरहेको वडासदस्य इन्द्रकुमारी लिम्बूको भनाइ छ । गाउँका सबैजसो महिला–पुरुषमा प्रजनन स्वास्थ्य, परिवार नियोजनका अस्थायी तथा स्थायी साधनबारे कुनै जानकारी नभएको उनले बताइन् ।

यहाँका दम्पतीमा ‘भगवान्ले जति सन्तान दिए पनि थाप्नुपर्छ’ भन्ने अन्धविश्वास रहेको इन्द्रसागर बताउँछन् ।
१८ वर्षको उमेरमा विवाह गरेकी पेक्चीमायाले धेरैजसो सन्तान खेतबारीमा काम गर्दा, ढुंगा बोक्दा र घाँसदाउरा गर्न जाँदा जंगलमै जन्मे । ‘एउटा त अर्काको खेतमा धान रोप्दै गर्दा जन्मियो,’ उनले भनिन्, ‘महिनै नपुगी जन्मिएको रहेछ, मरिहाल्यो, त्यही खेतको हिलोमा गाडिदिएँ ।’ उमेर नपुगी जन्मिएका धेरै सन्तान जन्मनासाथ मर्ने गरेको उनले बताइन् । उनको पछिल्लो सन्तान ५ वर्षको छ ।

त्यसयता पनि पटकपटक गर्भधारण गरेकी उनले पछिल्लोपटक केही पर गाउँकी एक महिलाको सल्लाहमा धनकुटाको हिलेमा रहेको मेरी स्टोप सेन्टरमा गएर गर्भपतन गराइन् । गर्भपतन गराएका सन्तान जुम्ल्याहा थिए ।

‘१७ सन्तानमध्ये ती २ को त मैले हिसाबै गरेको छुइनँ,’ पेक्चीमायाले भनिन् । ६ महिना उमेर पुगेका सन्तानको गर्भपतन गराएपछि मेरी स्टोप सेन्टरमै स्वास्थ्यकर्मीले परिवार नियोजनको अस्थायी साधन कपर टी राखिएको उनले बताइन् । ‘त्यसयता शरीरले दु:ख पाएको छैन,’ उनले सुनाइन् । सन्तान जन्माउँदा–जन्माउँदा थिलथिलो भएको शरीरले अहिले भने केही आराम पाएकामा उनी सन्तुष्ट छिन् ।

परिवार नियोजनका साधनबारे थाहा नपाउँदा धेरै सन्तान जन्मिएको उनको दुखेसो थियो । ज्यालामजदुरी गरी बिहान–बेलुकाको छाक टार्ने गाउँका अधिकांश दम्पतीका सन्तान धेरै छन् । धेरै सन्तान हुँदा मीठो–मसिनो खुवाउन, राम्रा लुगाकपडा लगाइदिन र शिक्षा दिनसमेत समस्या भएको उनीहरू बताउँछन् ।

ज्यामिरे गाउँमा पढेलेखेका नगण्य छन् । अहिलेसम्म गाउँबाट एकै जनाले पनि एसएलसी पास नगरेको इन्द्रसागर बताउँछन् । अघिल्लो पुस्ताकी गाउँकी वृद्धा इन्द्रमाया लिम्बूले पनि उमेर छँदा १८ सन्तानलाई जन्म दिएकी थिइन् । तीमध्ये ६ जना मात्र जीवित छन् । बाँकी सबैको मृत्यु भइसकेको छ ।

हजुरबुबा–हजुरआमा पुस्तादेखि नातिनातिनी बुहारी पुस्तासम्म आइपुग्दा पनि यहाँका महिला/पुरुषमा परिवार नियोजनका साधनबारे खासै जानकारी नभएको पाइएको छ ।

गाउँका सबैजसोमा ‘परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ’ भन्ने मान्यता छ । पछिल्लो पुस्ताका एकदुई बुहारीले मात्र परिवार नियोजनका साधन प्रयोग गरेको हुन सक्ने वडासदस्य इन्द्रकुमारी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...