एमालेका १५ नेताले कहाँ–कहाँबाट दिए उम्मेदवारी ?



 

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो आइतबार देशभर मनोनयन दर्ता भएको छ । उक्त निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट मनोनयन दर्ता गराएका छन् । अध्यक्ष ओलीलाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । उम्मेदवारी दर्ताका क्रममा ठूलो संख्यामा नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट मनोनयन दर्ता गराएका छन् । नेता पोखरेलसँगै प्रदेशसभा सदस्यको लागि एमालेका दिपक निरौला र नारायण सिलवाल उम्मेदवारी दर्ता गराएका छन् ।

नेता पोखरेलले मंसिर ४ गते हुने निर्वाचनमा आफसहित एमालेले अगाडि सारेका देशैभरका उम्मेदवारहरू विजयी हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो पार्टीले अघि सारेको विचार र विगतमा गरेको विकासका कामहरुको आधारमा जनताले विश्वास गर्ने र निर्वाचित गराउने विश्वास रहेको उनको भनाई छ । पोखरेल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए ।

त्यसैगरी उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल रूपन्देही निर्वाचन क्षेत्र नं. २, सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ र सुरेन्द्र पाण्डेले चितवन निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । यसैगरी पार्टीका महासचिव शंकर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भई पोखरेलले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी उपमहासचिवद्वय प्रदीप ज्ञवालीले गुल्मी निर्वाचन क्षेत्र नं. १ र पृथ्वी सुव्वा गुरूङले लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उपमहासचिव गुरूङ २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री भएर लोकप्रिय बनेका थिए ।

यसैगरी पार्टीका सबै सातै जना सचिवहरू प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् ।जसअनुसार सचिव लेखराज भट्ट कैलाली–४, टोपबहादुर रायमाझी अर्घाखाँची, गोकर्ण विष्ट गुल्मी–२, योगेश भट्टराई ताप्लेजुङ, छविलाल विश्वकर्मा रुपन्देही–१, पद्मा अर्याल स्याङ्जा–२ र रघुवीर महासेठले धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निश्चित सीटमा तालमेल गरी एक–अर्कालाई सघाउने सहमति भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि केही स्थानमा चुनावी तालमेल भएको छ । सोहीअनुसार एमालेका देशभरका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा. शेखर कोइराला

  नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्

समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर १,२८,३८६

  यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र

थापाथलीमाको सुकुम्वासी बस्ती हटाउन पछि नहट्ने महानगर

  काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा

आवासविहीन सुकुमबासीको राजनीति नगरौँ – बाबुराम भट्टराई

  ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ ।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले