मलाई धन र नाम कमाउनु छैन, मेरो प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्र हुन् : विनोद चौधरी



 

 

कांग्रेसले समानुपातिकतर्फ बुझाएको उम्मेदवारको बन्दसूचीमा तपाईंको नाम देखिएन, यसपालि प्रत्यक्ष चुनाव लड्न खोज्नुभएको हो?

हो, मैले यसपालि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरिरहेको छु।

कहाँ, कुन क्षेत्रबाट ?

मलाई प्रतिनिधि सभातर्फ उम्मेदवार हुनका लागि नवलपरासी र नवलपुरबाट त्यहाँको क्षेत्रीय समितिले सिफारिस गरेको छ। पार्टीले जहाँ उम्मेदवार बनाउँछ म त्यही उठ्ने हो। नेता शशांक कोइराला लडेसम्म उहाँको क्षेत्रबाट मेरो दाबी रहन्न।

कुन क्षेत्रमा उम्मेदवार बनाउने पार्टीले निर्णय गर्ने कुरा हो। जुन दिन मैले पार्टी संगठनमा प्रवेश गरेको थिएँ, त्यसदिन नै मैले प्रत्यक्षमै चुनाव लड्ने निर्णय गरिसकेको थिएँ।

कांग्रेसको १४ औं महाधिवेशनका बेला म वडादेखि चुनिएर केन्द्रीय सदस्यसम्म भएँ। त्यसबेला नै मैले निर्णय गरेको थिएँ- पार्टीले साथ दियो भने म प्रत्यक्षतर्फ नै चुनाव लड्छु भनेर। म समानुपातिकमा नअटाएर प्रत्यक्षमा आउन खोजेको भने होइन।

 

तपाईं २ पटक सांसद भइसक्नुभयो, के कारणले फेरि सांसद हुन खोज्दै हुनुहुन्छ, त्यो पनि प्रत्यक्षबाट?

पहिलो चोटी सांसद हुँदा हामीहरू संविधान निर्माणकै भूमिकामा केन्द्रित भयौं। त्यसबेला उद्देश्य फरक थियो। संविधान निर्माणमा हामी सफल भयौं भन्ने मेरो मान्यता छ। जनतालाई आधारभूत अधिकार दिन संविधान कहीँ पनि चुकेको छैन।

त्यसपछि म २०७४ मा पनि समानुपातिकतर्फ सांसद भए। त्यसबेला प्रत्यक्षतर्फ नै उठ्ने चाहना थियो। पार्टीले त्यसबेला महामन्त्री शशांक कोइरालालाई टिकट दियो र उहाँलाई जिताउन मैले ४० भन्दा बढी सभालाई सम्बोधन गरेको थिएँ। त्यसबेला वामगठबन्धनको बाबजुद् पनि हामीले चुनाव जित्यौं।

जनतासँग जोडिन मलाई प्रत्यक्षतर्फ नै चुनाव लड्न मन छ। हाम्रो दृष्टिकोणमा पनि समानुपातिक र प्रत्यक्षमा फरकजस्तो देखियो, जुन हुनु नपर्ने हो। समानुपातिक पनि कुनै वर्गको बाहुल्यता छैन भने संसदमा आउने बाटो होस् भनेर राखेको हो। समानुपातिक सांसदलाई मनोनीतजस्तो गरी हेरिन्छ। नेताका नजिक र आर्थिक लेनदेनले आएको भन्नेजस्ता आरोप समानुपातिकलाई लाग्ने गरेको छ। मेरा पक्षमा कसैले यस्तो नभन्ला तर यस्ता हल्का अभिव्यक्ति पनि सुनिने गरेका छन्। यस्ता विभिन्न कारणको सेरोफेरोमा रहेर म प्रत्यक्ष लड्नुपर्छ भन्ने सोच मेरो छ।

 

जनताले प्रत्यक्षतर्फ चुनाव लड्न सुख, दु:खमा घुलमिल र जनताकै वरिपरि रहने नेता खोज्छन्। तपाईंलाई आफू जनताका सुख, दु:खमा भिजेको छु जस्तो लाग्छ?

म समयको व्यवस्थापन गर्न सक्ने अनुभवी विद्यार्थी हुँ। समय मेरा लागि महत्वपूर्ण छ। समय व्यवस्थापन गर्न सक्नेले सबै काम गर्न सक्छ भन्ने म विश्वास गर्छु। जहाँसम्म जनतासँग घुलमिलका कुरा गर्नुभयो, यो स्थानीय चुनावमा म जनताका घर-आँगनमा पुगेँ। जनताका माझमा पुगेँ। यो गुट वा त्यो गुट नभनी मैले सबैका लागि भोट माग्ने काम पनि गरेँ। त्यसअर्थमा कसैले पनि विनोद चौधरीले मलाई काखा र पाखा गर्‍यो भन्न सक्दैनन्। मलाई साधारणत: लाग्ने आरोप, विनोद चौधरीको फोन उठ्दैन भन्ने हो। चौधरीलाई भनेका बेला भेट्न सकिँदैन भन्ने प्रश्न उठ्ने गरेको छ। यो जायज प्रश्न हो।

यो विषयमा मैले भन्ने गरेको छु- एकथरी नेता दुबै हातमा फोन लिएका हुन्छन्, कुरा गरिरहेका हुन्छन् तर जनताको काम भइरहेको हुँदैन। आफूले बोलेका कुरा र गरेका प्रतिवद्धता पूरा गर्नमा ध्यान दिनुपर्छ भन्ने हो, फोनमै बोलिरहेर त काम हुँदैन नि! अहिले म आधा घन्टादेखि तपाईंसँग कुराकानी गरिरहेको छु, एउटा पनि फोन आएको छैन। यसको अर्थ म तपाईंसँग कुरा गर्दैछु, प्राथमिकता तपाईं हो। यसकारण म जुनबेला जनताको साथमा हुन्छु त्यो बेला त्यहाँको समस्यालाई बुझेको हुन्छु र त्यो समस्या समाधानका लागि काम गरिरहेको हुन्छु, मेरो प्राथमिकता नै जनताको सेवा हो।

मान्छेले बोल्नुभन्दा पनि कामले बोल्नुपर्छ भन्ने म ठान्छु। आफूले गर्न सक्ने कुरा कामबाट देखाउने हो। नवलपुरमा मैले औद्योगिक पार्क बनाउन सकेँ, धार्मिक गन्तव्य शाश्वतधाम, उन्नति भिलेजलगायत बनाइयो। यी सबै कुरा कामले बोल्ने हो। जनतासँग कामले जोडिने हो। त्यहाँका जग्गा महंगो छ। हरेक घरका मानिसले त्यहाँ जागिर पनि पाएका छन्। जनतासँग मेरो सम्बन्धका आधार यी हुन्, कोरा नारा मात्रै दिने होइन।

 

तपाईं कांग्रेस महाधिवेशनदेखि स्थानीय चुनाव र अहिलेसम्म पनि जनताका बीचमा गइरहनुभएको छ, तपाईंसँग जनताका अपेक्षा के छन्?

त्यो क्षेत्रको जनताले विकास निर्माण लगायतमा भूमिका खेल्न सक्ने नेता खोजेको जस्तो लाग्छ। बाटोघाटो बनाउनेदेखि शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा काम गर्न सक्ने र ठाउँमा भन्न सक्ने नेता खोजेका छन्।

बेरोजगारी देशको प्रमुख समस्या छ। वैदेशिक रोजगारीमा जाँदा त्यसले कहीँ न कहीँ परिवारमा पीडा दिएका छन्। सबैको राम्रो भएको छैन। विनोद चौधरी यो ठाउँमा आयो भने विकासका लागि ठूलो भूमिका खेल्न सक्छ भन्ने उनीहरूले भनिरहेको म सुन्छु। किनभने आँखैअगाडि नवलपुरमा हामीले विभिन्न काम गरेका छौं, त्यो देखेका पनि छन्।

यो क्षेत्रबाट प्रतिनिधित्व गरेर यो क्षेत्रको विकासका लागि केन्द्रबाट केही न केही योजना ल्याउन सक्छ भन्ने जनताको ममाथि विश्वास छ भन्ने लाग्छ। अर्कोतर्फ रोजगारी समस्या समाधानमा भूमिका खेल्न सक्छ भन्ने अपेक्षा जनताका छन्।

 

एउटा सांसदले विकास निर्माण कति गर्न सक्ला र? उसको काम त संसदमा पुगेर नीति निर्माणमा भूमिका खेल्ने हुन्छ। तपाईं चुनाव जितेर भावी सरकारमा मन्त्री हुने तयारीमा हो?

भावी सरकारमा मन्त्री बन्ने कुरा मैले भन्ने विषय होइन। कुनै पनि राजनीति गर्ने मानिसले त्यस्तो ठाउँमा (मन्त्री पदमा) पुग्न चाहन्न भन्यो भने झुट बोलेको छ भन्ने हुन्छ। कुनै मन्त्री भएर काम गर्न खोज्नु गल्ती होइन।

एउटा लक्ष्य लिएर राजनीतिमा आएको छ भने त्यो सपना पूरा गर्न उसले काम गर्ने ठाउँमा त जानुपर्छ। म जनतासँग जोडिने हो र पार्टी संगठनको पनि राजनीति गर्ने हो भने विकास केन्द्रित र युवा केन्द्रित राजनीति गर्ने हो। म यसमा स्पष्ट छु।

मेरो मान्यता भनेको विकास गर्ने हो भने व्यवस्थापन चाहिन्छ। नत्र भने भद्रगोल हुन्छ। हामीले १५ प्रतिशत बजेट पनि खर्च गर्न सक्दैनौं। उस्तै स्रोत साधन र मानव संशाधनले निजी क्षेत्रले काम गर्न सक्ने तर सरकारीबाट नसक्ने भनेको त व्यवस्थापनको कमजोरी हो।

हाम्रो कुशलता भनेको व्यवस्थापन हो। एउटा ठूलो स्केलको परिवर्तन ल्याउन ‘पोलिटिकल एक्टिभिजम’ चाहिन्छ। त्यसका लागि म बेष्ट मानिस हुँ भनेर दाबी गर्दिनँ तर म आर्थिक विकासका लागि म बेष्ट मानिस हुँ भनेर दाबी गर्न सक्छु।

म हिजोसम्म एउटा प्रतिष्ठित संस्था निर्माणमा लागेँ, अबदेखि मेरो प्राथमिकता भनेको नेपालमा भएका स्रोत र साधनको प्रयोग गरेर नेपालका कुनै पनि मानिस रोजगारीका लागि बाहिर जानु नपरोस्, त्यस्तो सिष्टमको विकास गर्न चाहन्छु। नेपालका विद्यार्थी पढ्न बाहिरका विश्वविद्यालय र युवाहरू रोजगारीका लागि बाहिर जानु नपरोस् बरू हामी यस्तो संस्थाहरू बनाऔं कि विदेशीहरू हामीकहाँ पढ्न आऊन। शिक्षा, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा राज्यले ध्यान दिनुपर्दछ।

हामीकहाँ बुढानिलकण्ठ स्कुल खुल्यो तर त्यस्तो अर्को स्कुल किन खुलेन? त्यो त नेपालीले नै चलाएको हो। प्रत्येक जिल्लामा त्यस्ता स्कुल खोल्ने इच्छाशक्ति र सोच किन भएन? गर्‍यो भने सकिने रहेछ नि! यस्ता सोचलाई एक हस्ताक्षरबाट अघि बढाउन सकिन्छ, त्यो पावर राज्यसँग हुन्छ। त्यो पावर पदमा र कुर्सीमा बस्नेले मात्रै गर्न सक्छ। अघि तपाईंले भन्नुभयो नि सरकारमा जाने लक्ष्य हो त भनेर? हो सरकारमा नगई त यस्ता काम गर्नै सकिन्न नि! कसैले संसदमा बोलेर मात्रै परिवर्तन आउँदैन।

 

तपाईंले चौधरी ग्रुप पनि हेर्नुहुन्छ। भविष्यमा सरकारको मन्त्री हुँदा स्वार्थ बाझिने काम हुन्छन् कि!

म पूर्णकालीन राजनीतिमा आइसकें, धेरै वर्ष भइसक्यो। म पहिलोचोटी सांसद हुँदा नै सबै काम छोराहरूलाई सुम्पेको हो। म अहिले अभिभावकीय भूमिकामा मात्रै छु। अब म अभिभावकीय भूमिकाबाट पनि टाढा भइसकेँ। केही वर्षदेखि म फाउन्डेसनका काममा पनि लागेको थिएँ।

स्वार्थ नबाझिने गरी काम गर्ने भनेको मानसिकताले पनि हो। लामो समयदेखि राजनीति गरिरहेको र उद्योग र व्यापारसँग लेनदेन नै नभएको मानिस पनि ठूला भ्रष्टाचारमा जोडिएका छन्।

राजनीतिको माध्यमबाट पैसा कमाउने मानसिकता नभएका मानिस नभएका भने होइनन्। तर जसले कमाइसके, जसलाई कमाउन आवश्यकता नै छैन भने त्यस्ता मान्छे राजनीतिमा आउँछन् भने उनका उद्देश्य ठूला हुन्छन्।

आज पनि मैले राजनीतिमा दिइरहेको समय लगानीमा लगाउने हो भने त फाइदा धेरै हुन सक्छ नि तर मैले देखेका सपना पूरा हुन्छन् कि हुँदैनन् निश्चित छैन।

मलाई दुई चिजको आवश्यकता छैन, धन र नाम। मानिसहरूले मलाई राम्रोसँग चिनेका छन्। मलाई इतिहास छाडेर जाने र लिगेसीको आवश्यकता छ। युवाहरूले मलाई सधैं भन्छन्, तपाईं अर्बपति हुनुभयो तर हामीले एउटा जागिर पनि पाउँदैनौं। तपाईंको नैतिक जिम्मेवारी के छ भन्ने प्रश्न उठ्दा उनीहरूका अघि टाउको उठाएर जवाफ दिने गरी प्राथमिकतासाथ काम गरिरहेको छु।

बिजनेस हाउस ठूलो भएर अन्तर्राष्ट्रिय भइसकेपछि विदेशमा गएर घर बनाएर बस्ने चलन छ। म किन नेपालमा हेडक्वार्टर बनाएर बसिरहेको छु? विदेशमा मैले नेपालको झन्डा फहराएर कम्पनी खोलिरहेको छु, यसमा मलाई गर्व छ। मेरो पहिचान भनेकै नेपाली हो। नेपालको एकमात्र बिलिनियर भन्दाको छुट्टै पहिचान मेरो छ त्यसको पैंचो तिर्नुछ।

 

आफ्नो व्यवसाय संघर्ष गर्दै हुर्काएर तपाईंहरूले यो ठाउँमा ल्याउनुभयो। अर्कोतर्फ राजनीतिमा पनि संघर्ष गर्दै हुनुहुन्छ, कुनचाहिँ क्षेत्र सजिलो?

राजनीति धेरै गाह्रो। राजनीतिमा थुप्रै विवादास्पद कुराहरू मैले देखेँ। जनताका अपेक्षाअनुसार व्यवस्थापन गर्न जुन सिष्टम र संरचना चाहिन्छ, त्यो छैन।

आज चौधरी ग्रुपले बोलेका कुरा पूरा गर्न सकेको छ। त्यसमा ठूलो सिष्टमले काम गरिरहेको छ। तर राजनीतिमा जनतालाई डेलिभरी गर्न जुन किसिमको सिष्टम चाहिन्छ त्यो विकास भइसकेको छैन।

देश, पार्टी र आफूलाई केन्द्रमा राख्नुपर्नेमा त्यो सिक्वेन्सअनुसार भइरहेको छैन। राजनीतिमा त्यही भएर पनि वितृष्णा देखिएको हुनसक्छ। मानिसले तत्काल रिजल्ट खोज्ने प्रवृत्ति छ। आफ्नो क्रेडिबिलिटी स्थापित गर्न राजनीतिमा झन् गाह्रो छ। कामले गर्दा क्रेडिबिलिटी स्थापित गर्ने हो तर काम गर्ने ठाउँमा पुग्न यस्तो जडसुत्रिय वातावरण बनेको छ। अघि बढाउनेभन्दा छेक्ने कुरामा बढी शक्ति प्रयोग भइरहेको छ। राजनीति त्यतिधेरै सफा खेल रहेनछ। कसैले राम्रो गर्‍यो भने तारिफ गर्न हामी कन्जुस्याइँ गरिरहेका छौंजस्तो लाग्छ।

 

अहिले स्वतन्त्र उम्मेदवारका पनि कुरा आइरहेका छन्, यसले पार्टीहरूलाई के असर गर्छ?

पार्टीले केही गर्न सक्ने क्षमता बोकेका मानिसलाई अगाडि बढाउनुपर्छ, स्थान दिनुपर्छ। पार्टीले टाठा मानिसलाई ठाउँ दिने वातावरण बनाइदिएन भने त्यो अन्त कतै जान्छ। हामीले कसैलाई छेक्ने प्रयास गर्दा त्यसले न पार्टी न राष्ट्रलाई फाइदा गर्छ। यस्तो समस्या अरू देशमा खासै छैन। जो राजनीतिमा छन् उनीहरू मात्रै राजनीतिमा केन्द्रित छन् तर हामीकहाँ जुन पेशामा हुनेले पनि राजनीतिमै केन्द्रितजस्तो देखिन्छ। मिडियामा पनि राजनीतिका विषय प्रधान छन्। विदेशमा गएकाहरू पनि राजनीति मात्र होइन गुट राजनीति पनि गरेर बसेका छन्। हाम्रो समाज राजनीतिक दृष्टिले अत्यन्त ऊर्जाशील दिमागले भरिएको छ। एकै घरमा पाँचथरि राजनीतिका कुरा गर्ने भएपछि कन्फ्युजन देखिन्छ। यही चित्रण हामी पार्टी, स्कुल, कलेज र समाजका हरेक तप्कामा देखिन्छ।

 

पार्टीहरूलाई सुधार गर्न के गर्नुपर्ला?

विदेशतिरका अभ्यास हेर्दा त्यहाँका पार्टीमा लामो राजनीतिक पृष्ठभूमि भएका राजनीतिक अभियन्ता र  हामीहरूजस्ता व्यवस्थापकको समिश्रण हुन्छ। कयौं व्यवस्थाकीय कुरा व्यवस्थापकले गर्छन् र राजनीतिक मुद्दा र जनताका अपेक्षा पूरा गर्ने काम राजनीतिज्ञले पूरा गर्छन्। त्यसबाट परिवर्तन हुन्छ।

कोही कुनै पेशाबाट राजनीतिमा आउन खोज्यो भने भाग खोज्न आएकोजस्तो गरी हेर्ने प्रवृत्ति राम्रो छैन। राजनीति मात्र गरिआएकाले मात्र राजनीति गर्ने हो भन्ने मानसिकताबाट हामी माथि उठ्नुपर्छ। यो वातावरण बन्नुपर्छ।

यसपालि लाखौं युवा पहिलो पटक मतदान गर्दैछन्। उनीहरूका हातमा इन्टरनेट छ, स्मार्ट फोन छ। उसले कुन किसिमको जीवन जिउन चाहन्छ र कस्तो सोच छ त्यसमा फिट हुनेलाई उसले मतदान गर्छ। नयाँ मतदाता भनेको चुनावका लागि जित हारमा निर्णायक हुन सक्छन्। नयाँ मतदाताले पत्याउने र क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ ताकि पार्टी परिवर्तन हुँदैछ भन्ने अनुभूति दिन सकियोस् । सेतोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर १,२८,३८६

  यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र

थापाथलीमाको सुकुम्वासी बस्ती हटाउन पछि नहट्ने महानगर

  काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा

आवासविहीन सुकुमबासीको राजनीति नगरौँ – बाबुराम भट्टराई

  ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ ।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले

समानुपातिकमा नेकपा एमाले अगाडि

  मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता कायम