प्रचण्ड प्रलापको पराकाष्टा !



 

 

 

देवप्रकाश त्रिपाठी

‘लोकतन्त्र’को रक्षा गरिदिनु पर्ने माग लिएर छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जानुभएका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘दर्शन भेट’ नपाएको कुरालाई नेपालका सञ्चारमाध्यमहरूले निकै महत्वका साथ प्रचार-प्रसार गरे । प्रचण्ड स्वयम्ले विष्मयपूर्ण मनस्थितिमा मोदीसँग भेट नभएको विषयलाई प्रस्तुत गर्नुभएपछि नेपालभित्र प्रचण्डका आलोचकहरूमा एक प्रकारको प्रशन्नता देखापरेको छ । मोदीले प्रचण्डलाई महत्व नदिएको अर्थमा उहाँका आलोचकहरूमा प्रशन्नता छाएको बुझ्न सकिन्छ । तर मोदीले भेट्न नचाहेको कुरालाई प्रचण्ड स्वयम्ले ठूलो मुद्दा किन बनाउनुभयो भन्ने प्रश्नमा विचरण गरियो भने यस किसिमको प्रचारबाजीमा निहित रहश्य उद्घाटित हुनेछ ।

पछिल्लो दशकमा नेपाली राजनीति, प्रशासन, न्याय, सूरक्षा तथा मिडियामा पश्चिमा प्रभाव र पकड मजबूत हुँदै गएको महसूस सर्वत्र गरिएको छ । चीनको प्रतिकुल परिस्थिति निर्माण गर्दै आफ्नो अभीष्ट पूरा गर्ने रणनीतिक योजनाका साथ क्रियाशील पश्चिमाहरू एकातिर नेपाल र भारतबीच स्वतन्त्र र मधुर सम्बन्ध विकास होस् भन्ने चाहना राख्दैनन् र, अर्कोतिर भारतको समेत विश्वास र साथ नभइ नेपाली भूमिलाई चीनविरोधी कार्यमा उपयोग/दुरुपयोग गर्ने कार्य जोखिमपूर्ण हुन सक्ने ठम्याइ पनि उनीहरूको छ । काङ्ग्रेसलाई राज्यसत्ताको सर्वेसर्वा बनाउने र ‘काम लिने’ रणनीतिअनुरूपको कार्य व्यवहार पश्चिमाहरूको छ र, काङ्ग्रेसमा पश्चिमाको एकलौटी प्रभाव र नियन्त्रण कायम रहेको यथार्थप्रति भारत अनभिज्ञ छ भनेर बुझ्नु गलत हुन सक्छ । नेपाली काङ्ग्रेसको नेतृत्व पश्चिमी आडमा चीनको प्रतिकुल प्रस्तुत भइदिँदा भारतसमेत खुशी हुने विश्वास सम्भवतः उनीहरूले राखेका छन् । चीन-विरोधलाई आधार बनाएर नेपालमा भारतसँग सहकार्य सहज हुने विश्लेषण र विश्वासका साथ पश्चिमा शक्ति आफ्ना हितैषीहरूलाई प्रयोग, उपयोग र परिचालन गर्दैछ । उनीहरू काङ्ग्रेसलाई सत्ताको अधिपति बनाउने मार्गको सबैभन्दा चुनौतीपूर्ण ब्यवधान एमालेलाई ठान्दछन् । त्यसैले आगामी संसदीय निर्वाचन परिणाम एमालेको पक्षमा जान नदिन माधवकुमार नेपाल र प्रचण्डलाई काङ्ग्रेससँगै ‘इन्गेज’ राखिरहने प्रयास भइरहेको छ ।

(लेखक, देवप्रकाश त्रिपाठी )

माधव नेपाल र प्रचण्डलाई केपी शर्मा ओलीबाट अलग राख्ने, उनीहरूबीच चुनावी गठबन्धन बन्न नदिने र एमालेलाई परास्त गर्ने प्रयोजन सकिएपछि मधेशकेन्द्रीत समूहको साथ लिएर काङ्ग्रेस नेतृत्वको सरकार गठन गर्ने चाल पश्चिमाहरूले चलेको बुझिन्छ । त्यसनिम्ति उनीहरूलाई विद्यमान सत्ता गठबन्धन यथावत राख्नु परेको छ, भारतको समेत विश्वास प्राप्त नहुँदा नेपालमा अर्कै प्रकारको राजनीतिक परिस्थिति निर्माणमा भारत लाग्न सक्ने सम्भावनालाई असम्भव तुल्याउन पश्चिमाहरू सचेत ढङ्गले लागिपरेका छन् । नयाँ दिल्लीलाई ‘मायाजाल’मा पार्न आरजु र प्रचण्डहरू खट्नुको रहश्य पनि पश्चिमी आयोजनाकै परिणामका रूपमा बुझ्नु उपयुक्त हुनेछ । काङ्ग्रेस र माओवादी वर्तमान संविधान जस्ताको त्यस्तै रक्षा गर्ने पक्षमा भएकोले मात्र पश्चिमी दृष्टिमा उनीहरू (काङ्ग्रेस-माओवादी) प्रिय बनेका होइनन् । प्रजातन्त्रवादी पहिचानको काङ्ग्रेस र कम्युनिष्ट क्रान्तिकारीका रूपमा चिनिने माओवादीलाई अघि सारेर पश्चिमाहरूले आफ्नो मूल अभीष्ट पूरा गर्न बाँकी नै रहेको बुझिन्छ । एमाले तीन वर्षसम्म सत्तामा रहँदा पनि अनुमोदन हुन नसकेको एमसीसी परियोजना काङ्ग्रेस-माओवादी गठबन्धनको सरकार गठन भएको आठ महिनामै अनुमोदन हुनु र, त्यसविरुद्ध कुनै आन्दोलन नहुनुले पनि उनीहरूका दृष्टिमा काङ्ग्रेस-माओवादी गठबन्धनको उपादेयता बढेको छ ।

काङ्ग्रेस एक्लैले बहुमत हाशील गर्न नसक्ने भएकोले भारतको समेत विश्वास आर्जन गर्दै वर्तमान सत्ता गठबन्धन जोगाउने, उनीहरूबीच चुनावी एकता गराउने र, चुनावपछि पनि आफूअनुकुल परिस्थिति जीवित राख्ने रणनीतिक योजनाअनुरुप अहिले विभिन्न अनपेक्षित कार्य भइरहेका छन् । आवश्यक पऱ्यो भने प्रचण्ड र काङ्ग्रेस (आरजु)बीच कार्यकाल भागबण्डा गर्ने सहमति बनाएर भए पनि वर्तमान गठबन्धनको रक्षा गर्ने प्रयास पश्चिमाहरूबाट भइरहेको सन्दर्भमा आरजु र प्रचण्डको दिल्लीमोह मात्र मौलिक या स्वतन्त्र ठान्नु गलत हुन सक्छ । आफूले चाहेको काम अर्कैको इच्छा जस्तो बनाएर गर्न-गराउन सक्नुलाई चतुऱ्याइँ मानिन्छ र, राजनीति एवम् कुटनीतिमा यस प्रकारका ब्यवहार अभ्यासमा आइरहेका हुन्छन् । आफ्ना इच्छा र योजनासमेत अर्कैको जस्तो बनाएर कार्यान्वयनमा ल्याउन पश्चिमाहरू सफल रहँदै आएका छन् । नेपालको राजनीतिक परिवर्तनका क्रममा पनि उनीहरूले पुरानो भारत, माओवादी र काङ्ग्रेसलाई आफ्नै अभीष्टप्राप्तिका निम्ति प्रयोग गरेका थिए । तर स्वयम् माओवादी र काङ्ग्रेसमा आफू कसका निम्ति प्रयोग-उपयोग हुँदैछु भन्ने कुराको सामान्य हेक्का रहेकोसम्म देखिँदैन ।

नरेन्द्र मोदीको उदयपछिको भारत भने नेपाल मामिलामा केही पृथक र सचेत ढङ्गले प्रस्तुत हुन थालेको छ । पश्चिमा स्वार्थ र नेपाली राजनीतिजीवीको चरित्रलाई बुझेर भारत नेपाल मामिलामा भिन्न किसिमले व्यवहार गर्न खोज्दैछ । वि.सं. २०७२ मा पश्चिमी योजनाअनुरुपको संविधान जारी हुन खोज्दा भारतले जसरी असहमति जनायो, त्यसयता भारत बक्रीजस्तै भएपछि ‘नेपाली नेता’हरूको सिधा प्रयोग-उपयोगलाई पश्चिमाहरूले प्राथमिकतामा राख्दै आएका छन् । आरजु र प्रचण्डको दिल्ली आवागमनलाई पनि पश्चिमाको इचविपरीत भएको ठान्नु यस अर्थमा गल्ती हुनेछ । आरजुहरू हिजो जसको साथमा थिए आज पनि त्यहीँ छन्, तिनकै इशारामा ‘सुन्दर’ नृत्य प्रस्तुत गर्दै छन् । भारतलाई सन्तुलनमा राख्ने र, आफ्ना राजनीतिक लक्ष्य हाशील गर्ने प्रश्नमा आरजुहरू र प्रचण्ड एकै ठाउँमा भए पनि सम्पूर्ण सत्ताको स्थायी स्वामी बन्ने जिजीविषाबाट प्रचण्ड अझै मूक्त हुन बाँकी छ । आरजुहरू पश्चिमाहरूका निम्ति भारतलाई सन्तुलनमा राख्न चाहन्छन् भने प्रचण्ड अर्कै उद्देश्यका निम्तिसमेत भारतसँगको सम्बन्धलाई प्रयोग गर्न खोज्दै हुनुहुन्छ । भारतको साथ-समर्थन लिएर सत्तामा पुग्ने र सत्ता प्राप्त भइसकेपछि उत्तरतिर लहसिने व्यवहार प्रचण्डले पहिले पनि देखाइसक्नुभएको हो । तथापि, यतिबेला भारतको साथ दुवैथरिका निम्ति ‘अपरिहार्य’ बनेको छ । भिन्न प्रकारको सत्ता-गठबन्धन निर्माण हुन नसकोस् भन्ने उद्देश्यका निम्ति दुवैथरि (आरजु र प्रचण्ड) भारतलाई चक्मा दिन बेग्लाबेग्लै र संयुक्त किसिमले अग्रसर भएका हुन् ।

विगतमा प्रचण्डहरू क-कसका निम्ति प्रयोग/दुरुपयोग हुँदै आएका थिए भन्ने तथ्य हामी सबैका सामु छर्लङ्ग छ । काङ्ग्रेस-एमाले र संसदीय प्रजातन्त्रका विरुद्ध तत्कालिक दरबारलाई, काङ्ग्रेसविरुद्ध एमालेलाई र एमालेविरुद्ध काङ्ग्रेसलाई, काङ्ग्रेसभित्र पनि शेरबहादुर देउवाविरुद्ध गिरिजाप्रसाद कोइरालालाई र कोइरालाविरुद्ध देउवालाई, हाकीमविरुद्ध मातहतका कर्मचारीलाई र कर्मचारीका विरुद्ध आफ्नै कार्यकर्तालाई प्रयोग गरेका माओवादीले गणतन्त्र स्थापनादेखि सत्तारोहणसम्म भारतलाई समेत प्रयोग गरेका थिए ।

२०६३ को परिवर्तनपश्चात खुला राजनीतिमा आएका प्रचण्डले भारतीय पक्षलाई कसरी बेवकुफ बनाउने गर्थे भन्ने अनेक दृष्टान्तमध्ये एउटा यहाँ उल्लेख गर्नु वाञ्छनीय छ । खुला राजनीतिमा आएको केही महिनापछि प्रचण्ड भारतको भ्रमणमा जानुभएको थियो । त्यसबेला भारतीय जनता पार्टीको अध्यक्ष हुनुहुन्थ्यो- राजनाथ सिंह । प्रचण्ड र राजनाथबीच एकल सम्वादको कार्यक्रम भएपनि राजनाथले आफ्नो पार्टीको नेतासमेत रहेका ‘पाञ्चजन्य’का सम्पादक तरुण विजयलाई बैठकमा आफूसँगै राखेका थिए । सम्वादका क्रममा प्रचण्डको कुरा सुनेर राजनाथभन्दा बढी तरुण विजय चकित परेको कुरा उनले माधव नेपाल प्रधानमन्त्री भएर (२०६६) भारत भ्रमणमा जाँदा हामीलाई सुनाएका थिए । तरुणका अनुसार त्यसबेला प्रचण्डले भन्नुभएको थियो- ‘मेरो रगतको नसा-नसामा हिन्दूत्व बगेको छ, रगतमै हिन्दूत्व भएको म कहिल्यै हिन्दूत्वका विरुद्ध जान सक्दिनँ । हाम्रा दुई मुलुकको सम्बन्ध अयोध्या र जनकपुरको हो, जुन कसैले काटेर काटिँदैन, घटाएर घट्दैन ।’

यसरी माओवादी नेताका मुखबाट हिन्दूत्वका पक्षमा जोडदार वाणी प्रकट भएपछि राजनाथ र तरुण विजय दुवैले प्रचण्डलाई आफूहरू भन्दा कट्टर हिन्दू ठानेका र, प्रचण्डबाट नेपालको हिन्दूत्वमाथि खतरा पैदा नहुने निश्कर्ष निकालेका थिए । तर नेपालमा धर्म निरपेक्षतालाई सर्वाधीक महान् उपलब्धी ठान्नेमा इसाइधर्मीहरुभन्दा प्रचण्ड कैयन कदम अगाडी हुनुहुन्छ । पश्चिम ताकेर उत्तर-दक्षिण हान्ने, दक्षिण देखाएर उत्तरलाई आफ्नो बसमा पार्ने र उत्तर देखाएर दक्षिण तर्साउने खेल प्रचण्डले खेल्दै आउनुभएको हो र, यसपटक पनि उहाँको दक्षिण यात्रामा पश्चिमको चाहनासङ्गै आफ्नो निजी महत्वाकाङ्क्षा र चालबाजीसमेत निहित थियो । प्रचण्ड पहिले झैं भारतलाई आफ्नो पक्षमा उपयोग गर्ने आत्मविश्वासका साथ दिल्ली भ्रमणमा जानुभएको थियो । आफ्नाबारेमा भारत सचेत भइसकेको आभाष शायद प्रचण्डलाई थिएन । त्यसैले यसपटक उहाँ झुक्किनु भयो, भारतले प्रचण्डसङ्ग सचेत ढङ्गले व्यवहार गऱ्यो, उहाँलाई औकात अनुसारको ‘सम्मान’ दिएर फिर्ता पठाइदियो ।

भाजपा अध्यक्षबाट निमन्त्रणा मगाएर प्रचण्ड दिल्ली भ्रमणमा जानुभएको थियो । कम्तिमा आठ साता लामो प्रयासपछि प्रचण्डलाई भारत भ्रमणको अवसर दिइएको र, त्यस निम्ति आरजु राणाबाट समेत पहल भएको बुझिन्छ । प्रचण्ड नरेन्द्र मोदीसँग भेटेको समय निश्चित गरेर मात्र भ्रमणमा निस्कन चाहनु हुन्थ्यो, तर उहाँलाई भारतीय अधिकारीहरुले मौखिक आश्वासन मात्र दिएर दिल्ली पुऱ्याएका थिए । भ्रमण तालिकामा मोदीसङ्ग भेटवार्ताको कुनै कार्यक्रम उल्लेख थिएन ।

निश्चित नै नभइसकेको भेटवार्ता नभएको भन्दै प्रचण्डले जसरी उच्च स्वरमा यसलाई मुद्दा बनाउनु भयो यसले केही जटिल पक्षको सङ्केत दिएको छ । दैवी शक्तिको उपासक कालिभक्त नरेन्द्र मोदीलाई के कस्ता शब्दजालमा अलमल्याउन सकिन्छ भन्ने कला एक साधुसङ्ग सिकेर यसअघि (करिब चार वर्षअघि) भारत भ्रमणमा जानु भएका प्रचण्डले “साधु सूत्र” प्रयोग गरेर मोदीलाई प्रभावित गर्न सफल हुनुभएको थियो । सम्भवतः यसपटक पनि त्यसरी नै मोदीलाई काबुमा लिन सकिने विश्वास प्रचण्डमा हुँदो हो । तर प्रचण्डले यसपटक मोदीको समीप हुने अवसर नै पाउनु भएन, एस जय शङ्करसङ्गको ‘तिरष्कारपूर्ण’ भेटमै उहाँले चित्त बुझाउनु पऱ्यो ।

अन्तर्राष्ट्रिय स्तरको औपचारिक पोसाकमा सजिएर भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग भेटवार्ताका निम्ति उनको निवासस्थान पुग्नु भएका प्रचण्डलाई रात्रीकालिन वस्त्रमा भेट दिएर जय शङ्करले प्रचण्डलाई दिनुपर्ने स्तरको महत्व दिए । वर्तमान व्यवस्था, संविधान र सत्ता रक्षाको अपेक्षासहित त्यहाँ पुग्नुभएका प्रचण्ड जय शङ्करसङ्गगको भेटपछि निरास बन्नुभएको हो । नरेन्द्र मोदीसङ्ग भेट नहुने सूचना प्राप्त भएपछि प्रचण्ड थप उदास देखिनु भएको थियो । मोदीसङ्ग भेट नपाएको विषयलाई प्रचण्डले जसरी एउटा मुद्दा बनाउनु भयो त्यो भने आफैमा अर्थपूर्ण छ । मोदीसङ्ग भेट नपाउनु एउटा पक्ष हो, भेट नपाएको विषयलाई मुद्दा बनाएर सार्वजनिक गर्नुले अर्कै सन्देश दिइरहेको छ । भारतले हार्दिकतापूर्ण व्यवहार नगरेको देखाएर चिनको मन जित्न गरिएको प्रयासका रुपमा पनि यसलाई बुझ्न सकिन्छ ।

एस् जयशङ्करले प्रचण्डलाई अनिक्षित भेट दिनुको पनि अनेक अर्थ छन् । यी तिनै जय शङ्कर हुन् जो २०७२ सालमा विदेश सचिवको जिम्मेवारीमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर नेपाल आएका र, “केही दिन पर्खिएर भए पनि सबैको भावना समेटेर” संविधान जारी गर्न आग्रह गरेका थिए । त्यसबेला जय शङ्कर र प्रचण्डबीच उत्पन्न विवादका क्रममा दुवैले आफू अपमानित भएको महसुस गरेका थिए । प्रचण्डले जय शङ्करको आग्रह लत्याउँदै अलिक अस्वाभाविक किसिमबाट प्रस्तुत भएपछि जय शङ्कर पनि सम्हालिन सकेनन् र, भनेका थिए- “भारतको सदासयता नभएको भए तपाईंहरु आज कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्नमा पनि विचार गर्नुहोला ।” जय शङ्कर अलिक आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डले “नेपाली राष्ट्रियता माथी खतरा उत्पन्न भएको सार्वजनिक घोषणा गर्दै संविधान तत्काल जारी गरिने मात्र बताउनुभएन, प्रचण्डले “संविधान जारी गरेर भारतलाई देखाइदिने” आशयको अभिव्यक्ति समेत दिनु भएको थियो । तिनै जय शङ्कर समक्ष “लोकतन्त्रको रक्षा गरिदिन” माग गर्दै सात वर्षपछि प्रचण्ड उनको निवासमै पुग्नुपऱ्यो । प्रचण्डको विचारमा आफूलाई सत्ता प्राप्त हुनु भनेकै लोकतन्त्र सुरक्षित रहनु हो र, उहाँलाई सत्ताबाट टाढा पुऱ्याइनु नै लोकतन्त्र खतरामा पर्नु हो भन्ने अब सबैले बुझिसकेका छन् ।

विद्यमान सत्ता गठबन्धनको रक्षक भूमिकामा भारत रहनुपर्छ भन्ने भनाइ पश्चिमाको मात्र नभई प्रचण्डको पनि हो र, आफूले लिनुपर्ने त्यति “एसोरेन्स” चाहिँ प्रचण्डले लिनुभएको पनि छ । मूल सन्देश आदानप्रदान भइसकेपछि भारतले आफूलाई उचित महत्व नदिएको सन्देश प्रवाह गरेर प्रचण्डले चिनको सहानुभूति प्राप्त गर्ने प्रयास गर्नुभएको छ । भारतमा तन पुऱ्याउँदा मन चिनतिर लैजाने र, चिन जाँदा मन भारततर्फ पुऱ्याउने प्रचण्डको शैली धेरै पहिले नै ‘एक्स्पोज’ भइसकेको हुनाले यसपटकको भारत भ्रमण प्रचण्ड स्वयम्का निम्ति उपलब्धीमूलक रहेको ठहर गर्न सकिँदैन । वर्तमान सत्ता गठबन्धन जोगाएर संसद्मा कम्युनिष्ट वामपन्थीहरुको उपस्थिति न्यून गराउन भने प्रचण्डको भारत भ्रमण सफल हुन सक्ने देखिएको छ । प्रचण्ड प्रलापको पराकाष्ट महसूस गरेको भारतले विद्यमान सत्ता गठबन्धनलाई मौन समर्थन दिइरहयो भने त्यसैलाई महान् उपलब्धी ठानेर चित्त बुझाउनुपर्ने अवस्थामा प्रचण्ड आइपुग्नु भएको छ, जय मातृभूमि ।

प्रतिक्रिया दिनुहोस
शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको

आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश