स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी नबन्नुका मुख्य ४ कारण



 

 

 

नेकपा (एमाले) ले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो बलियो उपस्थिति देखाए पनि अपेक्षित परिणाम ल्याउन सकेन । सत्तारु पाँच दलीय गठबन्धनसँग एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले सबैभन्दा धेरै जनमत ल्याए पनि स्थानीय तहको नेतृत्वमा भने दोस्रो बनेको छ । एमालेले विद्यमान रहेको नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ ।

गठबन्धन भत्काउन कुनै गाह्रो नभएको बताउँदै एमाले त्यस्तो खेलमा नलाग्ने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।आइतबार अध्यक्ष ओलीले केन्द्रीय कमिटी र सचिवालयको निर्णय कार्यान्वयनका लागि जारी गरेको अन्तरपार्टी निर्देशन–४ मा यस्तो निश्कर्ष प्रस्तुत गरेका छन् । गठबन्धन भत्काउन नलाग्ने बरु भरपर्दो सहयात्री खोज्ने अपानिमा उल्लेख छ ।

‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ अपानिमा भनिएको छ ।

त्यस्तै, अध्यक्ष ओलीले पार्टी कार्यकर्ताहरुलाई गठबन्धनको मनौवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन् । ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ,’ ओलीद्वारा जारी अपानिमा भनिएको छ, ‘हाम्रो पंक्तिलाई आफ्नो शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ ।’ त्यस्तै, अपानिमा स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआउनुको कारण पनि उल्लेख गरिएको छ ।

 

यस्ता छन् अपेक्षित परिणमा नआउनुका कारणः

१. विभिन्न कारणले हामीले कमिटी प्रणाली र सङ्ठनात्मक जीवनमा समस्याहरु झेल्दै आयौं । लामो समय अभियानमै केन्द्रित हुनुपरेको अवस्था (नवौं महाधिवेशनदेखि नै संविधान निर्माण, भूकम्पपीडितहरुको सेवामा स्वयंसेवक परिचालन, नाकाबन्दीको विरोध, मेची–महाकाली राष्ट्रिय अभियानलगायत) रह्यो । त्यसपछि स्थानीय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा शृङ्खलाबद्ध रुपमा केन्द्रित हुनुपर्यो ।

पार्टी एकीकरणको तयारी, एकीकरण, त्यसलगत्तै केन्द्रीय कमिटीबाहेक सबै कमिटी भङ्ग गरिएपछि उत्पन्न कमिटीबिहीन अवस्था, कमिटी एकीकरणमा उत्पन्न जटिलता, त्यसपछि उत्पन्न पार्टीभित्रको आन्तरिक किचलो र पार्टी विभाजनको अवस्था आदिका कारण हामी लामो समयसम्म सङ्गठन सुदृढीकरण गर्ने काममा केन्द्रित हुन पाएनौं ।

यी चुनौतीलाई पार गर्दै गत वर्ष असोजदेखि मात्रै आधारभूत तहबाट शृङ्खलाबद्ध कमिटी निर्माण प्रक्रिया सुरु हुन सक्यो । समयाभाव र कमिटी निर्माणमा कतिपय असावधानीले गर्दा हाम्रा आधारभूत कमिटीहरु जुनस्तरमा जनतासँग जोडिन सक्नुपथ्र्यो, स्थितिको विश्लेषण र त्यसलाई पार्टीको पक्षमा रुपान्तरित गर्न जति सक्षम हुनुपथ्र्यो, कतिपय ठाउँमा त्यस्तो हुन सकेन ।

केही ठाउँमा त पार्टीले पाएको मत पार्टी सदस्यहरुभन्दा पनि कम रह्यो, एकाध ठाउँमा कमिटी सङ्ख्या जति पनि लोकप्रिय मत हासिल हुन नसकेको जस्ता विडम्बना देखापर्यो । पार्टीको कमजोर सङ्गठनात्मक प्रणाली प्रतिकूल परिणामका लागि एउटा महत्वपूर्ण कारण बन्नपुग्यो ।

२. उमेद्वार छनौटमा पनि कतिपय ठाउँमा त्रुटिहरु हुनपुगे । लोकप्रियभन्दा पनि निकटका व्यक्तिलाई उमेद्वार बनाउन जोड दिइँदा, पार्टीले तय गरेको प्रक्रिया र पद्धतिविपरीत खास व्यक्तिलाई उमेद्वार बनाउन या नबनाउनका लागि भएका सङ्गठित लबिङले पनि केही ठाउँको परिणाम प्रतिकूल हुनपुग्यो ।

यसपटक निर्वाचनमा विगत कहिल्यैको भन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरु देखापरे । आफू या आफूले सिफारिस गरेको व्यक्तिले उमेद्वारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउन, उमेद्वारलाई असहयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरु देखापरे ।

यसमा पार्टीका कतिपय जिम्मेवार कार्यकर्ता नै सङ्लग्न भएको समेत देखियो । कैयौं पालिका र वडामा त पालिका प्रमुख या वडाअध्यक्षलाई निशाना बनाएर मत खाली राखेर या विपक्षीलाई दिएर हराउने काम समेत भयो । पार्टीभित्र पैदा भएको यसप्रकृतिका हानीकारक र आत्मघाती प्रवृत्तिले गर्दा हामीले कतिपय पालिका र वडा गुमाएका छौं ।

४. पटक–पटकका निर्वाचनमा सहभागी भएर पर्याप्त अनुभव हासिल गरेको भए पनि यस पटक हाम्रो निर्वाचन अभियानमा कमजोरी देखापरे । परिभाषित जिम्मेवारीसहित नेता–कार्यकर्ताहरुको समुचित विन्यास, प्रभावशाली र मतदाताको मन जित्ने खालको प्रचार शैली, प्रभावकारी मतदाता शिक्षा, मतदाताको घरदैलोमै पुगेर मन जित्ने प्रयास र धाँधलीका सूक्ष्म रुपको अध्ययन र त्यसको प्रतिवादजस्ता कतिपय विषयमा समेत हामी चुक्न पुग्यौं ।

मतदाता शिक्षामा गम्भीर हुने र जनताको घरदैलोमा पुग्नेभन्दा पनि बाहिरी र प्रचारात्मक चुनावी अभियानमा बढी केन्द्रित हुनाले बाञ्छित परिणाम ल्याउन सकेन ।

सारमा, गठबन्धनको सङ्ख्यात्मक पक्ष र यसले सिर्जना गरेको मनोविज्ञान, सत्ताको चरम दुरुपयोग र हाम्रा केही आन्तरिक कमजोरीका कारण हामीले अपेक्षित सिट जित्न सकेनौं ।

तर पनि प्रतिकूलताको बीचमा हामीले प्राप्त गरेको सफलता, उपलब्धी र सर्वोपरिरुपमा जनताको माया महत्वपूर्ण छ, जसको जगमा उभिएर हामीले आगामी निर्वाचनमा सफलता हासिल गर्नेछौं ।

 

प्रतिक्रिया दिनुहोस
शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको

आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश