सिर्जना सिंहको कुकुरले टोकेर पुण्य गौतम घाइते



 

 

नेकपा एसका नेतासमेत रहेका सामाजिक सञ्जालका भाइरल म्यान पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी बंगलामा पुगे । राजनीतिक प्रयोजनले त्यहाँ पुगेका उनी शरीर र मनमा गहिरो चोट लिएर फर्किनुपर्यो ।

सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आक्रमण गरेको थियो । गौतमका अनुसार ‘बाघझै अजंगका’ दुई कुकुर घरको कम्पाउन्डमा यत्तिकै खुल्ला छोडिएका थिए । आफूलाई आक्रमण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको उनको गुनासो छ ।

काठमाडौं महानगरमा सत्तारुढ गठवन्धनका तर्फबाट कांग्रेसकी सिर्जनाले मेयरको उम्मेदवारी दिएकी छन् भने उपमेयरमा नेकपा एसका उम्मेदवार छन् । नेकपा एसका सल्लाहकार गौतमले महानगरको चुनावी रणनीतिबारे छलफल गर्न र गणेशमान सिंहको आत्मकथा ‘मेरो कथाका पानाहरु’ को दोस्रो र तेस्रो भाग त्यहाँ छ कि भनेर दुई साथीहरुसहित सिंह निवासमा पुगेका जानकारी दिए ।

सिंह दम्पत्तिसँग समय लिएरै गएको भए पनि पुण्यलाई घरभित्र प्रवेश नगराइकन कम्पाउण्डमै राखिएको थियो । कम्पाउण्डमा प्रकाशमानका छोरा प्रभासमान सिंह थिए । प्रकाशमान घरभित्रै थिए भने सिर्जना घरबाहिर निस्किएकी थिइन् । गौतमले सुनाए, ‘हामीलाई बैठक कोठामा नलगिकन कम्पाउन्डमै रहेको कुर्सीमा राखियो । त्यहाँ दुईवटा अजंगका कुकुर देखेपछि मलाई सुरुमै डर लागेर तिनीहरुलाई बाँध्न भनेको थिएँ । तर कसैले वास्ता गरेनन् ।’

कुराकानीकै दौरान पुण्यको फोन आएपछि उनी कुर्सीबाट उठेका थिए । फोनमा कुरा गरिरहँदा अचानक पछाडिबाट एउटा कुकुरले झम्टिएको उनले सुनाए । ‘सुरुमा मलाई खुट्टामा क्वाप्पै टोक्यो । धन्न मैले जिन्स पाइन्टभित्र ट्राउजर लगाएको थिएँ र ठूलो घाउ भएन,’ उनले भने ।

एकपटक टोकिसकेपछि आफू आत्तिएर कराउँदासमेत कसैले कुकुरलाई नसमातेको उनले बताए । गौतमका अनुसार उनीहरु उल्टै हँसिमजाक गरिरहेका थिए । पहिलोपटक टोक्दा पनि कसैले नरोकेपछि कुकुरले थप आक्रमण गरेको थियो ।

‘खुट्टामा टोक्नेवित्तिकै मैले यसलाई समाइहाल्नु भनेँ, तर उहाँहरु हाँसेर बस्नुभयो र केही गर्दैन भन्नुभयो । अनि एक पाइला सर्नासाथ फेरि झ्याप्पै आएर मेरो तिघ्रामा चढ्यो र पाखुरामा गहिरोसँग टोक्यो । मैले प्रतिकार गर्न खोजेको भए झनै नराम्रोसित घाइते बनाउने रहेछ ।’

पुण्यका अनुसार उनलाई टोकिसकेपछि एकजनाले मजाक गर्दै भनेका थिए, ‘यो कुकुरले ७२ जनालाई पहिल्यै टोकिसकेको छ । तपाईं ७३ नम्बरमा पर्नुभयो ।’ यसो भन्ने व्यक्ति भने उनले चिनेनन् । पुण्यलाई कुकुरले टोकेपछि हल्लाखल्ला सुनेर प्रकाशमान घरबाट बाहिर निस्किएका थिए । तर, उनले गौतमप्रति खासै सहानुभूति दर्शाएनन् ।

‘बाहिर आएर ल के कुरा हो गरौं न भन्नुभो । मैले तपाईंको कुकुरले भर्खर मलाई टोक्यो, एकदमै पीडा भइरहेको भनेर सुनाएँ । कहाँ छ अस्पताल भनेर पनि सोधेँ । तर, उहाँले कुनै महत्व नदिइकन ‘ए अँ अँ’ मात्रै भन्नुभयो । जबकि मेरो कोटबाहिरै रगत देखिएको थियो,’ उनले भने । कुकुरको टोकाइले घाइते भएपछि उपचारका लागि गौतम गणेशमान सिंह मेमोरियल अस्पताल पुगे । तर, त्यहाँ पनि राम्रो व्यवहार नभएको उनले बताए ।

‘म गणेशमानजीको स्मृतिमा खोलिएको अस्पतालमा म गएँ । उहाँहरुले त मच्छडले टोकेर आएजस्तो व्यवहार देखाउनुभयो,’ गौतमले भने, ‘प्रकाशमान सिंहको घरको कुकुरले टोकेको भनेर जानकारी गराउँदासमेत गतिलो रेस्पोन्स गरेनन् ।’ उनलाई पाँचवटा रेविजको र एउटा टिटानसको सुई लगाउन भनियो । एउटा सुईको पाँच सय पर्ने बताइयो ।

त्यसपछि गौतमले टेकु अस्पतालमा तीनवटा सुई लगाउँदा हुन्छ, यहाँ किन पाँचवटा भन्ने प्रश्न गरेका थिए । त्यसपछि उनलाई भनियो– त्यसो भए टेकु नै जानु ।उनी पनि घाउ बोकेर टेकुतिर लागे । टेकु अस्पतालमा उनले टिटानस र रेविजको पहिलो डोज लगाएका छन् । रेविजको थप दुई डोज लगाउन बाँकी छ ।

कुकुरले टोकेको घाउ दुखेर खपिनसक्नु भएको पुण्यले सुनाए । ‘हिजो राति त हनहनी जरो आएर झिम्मिकै निदाउन सकिनँ,’ उनले भने । घरको कुकुरले अतिथिलाई टोकेर घाइते बनाएपछि अस्पताल पुर्याएर उपचार गरिदिनु घरबेटीको कर्तव्य हो । तर, आफूलाई उपचार त परको कुरा सामान्य क्षमायाचनाको औपचारिकतासमेत पुरा नगरिएकोमा पुण्य दुखी छन् ।

‘न त्यहाँ कसैले सरी भन्यो, न एक कल फोन गरेर कसैले केही सोध्यो,’ गौतमले भने, ‘त्यत्रा महामानव गणेशमान सिंहको निवासभित्र न्यूनतम मानवीय संवेदनासमेत नभएका यस्ता दयाहिन मानिसहरु देखेर मलाई आश्चर्य लागेको छ ।’
आफूले माथि र तल तीनवटा लुगा लगाएको भएर घाउचोट कम भएको उनले बताए । ‘पाखुरा नांगो भएको भए मासु नै लुछेर लैजाने रहेछ,’ गौतमले भने । उनले सिंह दम्पत्तिविरुद्ध प्रहरीमा केस गर्ने विचारसमेत गरिरहेका छन् ।

‘उहाँहरुले यति अमावनीयता देखाउनुभयो कि मलाई त कतै केस गरौं कि भन्ने भइरहेको छ,’ उनले भने, ‘घरमा बोलाएका गेष्टलाई कुकुरले टोक्दा उहाँहरु मनोरञ्जन लिएर मान्छे गनेर बसिरहनु भएको छ । भोलि अरुलाई पनि यस्तो नहोस भनेर पुलिसमा जाने विचार गर्दैछु ।’

प्रकाशमानको घरमा पालिएका कुकुर विदेशी नश्लका हुनसक्ने पुण्यको अनुमान छ । ‘अहिले काठमाडौंको भीआइपीको घरमा ब्वाँसोसँग क्रस गरिएको कुकुर पालिन्छ । यस्ता कुकुरमा कतिबेला कुकुरको र कतिबेला ब्वाँसोको स्वभाव आउँछ थाहा हुँदैन । उहाँहरुले पालेको कुकुर पनि नेपालीजस्तो थिएन । सायद यस्तै क्रस कुकुर हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
जसपाले सवै मन्त्री फिर्ता बोलायो

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता

रवि लामिछानेको पार्टी निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

    सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं महानगरमा भिख माग्न नपाँउने

    काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं

एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम

    नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष