एमालेको जितका पाँच आधार : बिष्णु रिजाल



 

 

सत्ता गठबन्धनले पर धकेल्न खोजे पनि अन्ततः मुलुक निर्वाचनमा होमिएको छ । घर–आँगनको सरकार छान्ने निर्वाचन भएकाले ठूला नेतालाई भन्दा तलका नेता–कार्यकर्तालाई निर्वाचन लागेको छ । गाउँ, टोल, वडा र पालिकामा धेरै चासो हुने भएकाले जनता यस निर्वाचनको अग्रपंक्तिमा छन् ।

अनेक दल भए पनि नेकपा (एमाले) र पाँचदलीय मोर्चाबीच चुनाव हुन लागेकाले स्थानीय निर्वाचन स–सानो जनमत संग्रहकै रूपमा देखा परेको छ । चौतर्फी घेराबन्दी, पार्टी विभाजनको प्रयास, सत्ताको दुरुपयोग र एकोहोरो प्रचारबाजीका बावजुद नेकपा (एमाले) आफ्नो विरासत जोगाउनेमा ढुक्क छ । कांग्रेस र माओवादीको सरकारले अध्यादेश ल्याएर पार्टी फुटाए पनि मुलुकको एक नम्बर र सबै निर्वाचित तहको पहिलो पार्टी एमाले आफ्नो शक्ति बढाउने अभियानमा सफलतापूर्वक अघि बढिरहेको छ ।

स्थानीय निर्वाचनमा नेकपा (एमाले) का जितका मूलतः पाँच कारण छन् ।

पहिलो, अध्यादेशका माध्यमबाट एमालेलाई फुटाउने प्रयासस्वरुप केही नेता कार्यकर्ता बाहिरिएको त्यसको रिक्तता एमालेले साविकको माओवादी केन्द्रबाट पूर्ति गरिसकेको छ । करिब पाँच प्रतिशत पार्टी सदस्य र करिब पाँच लाख मत क्षति हुने आकलन गरेकोमा त्यो संख्या पार्टी एकताको निरन्तरतास्वरुप एमालेलाई पूर्ति भइसकेको छ ।

विगतमा माओवादी केन्द्रका विभिन्न कमिटीमा बस्नुभएका, निर्वाचित हुनुभएका, युद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका र जनाधार भएका नेता कार्यकर्ताको ठूलो पंक्ति एमालेमा समाहित भएको छ । जुन मात्रामा पार्टी विभाजन भएर असान्दर्भिक भइसकेका नेताहरू बाहिरिएका छन्, तिनको तुलनामा जनाधार भएका र जनतामा भिजेका नेताहरूले एमालेमा निरन्तरता दिएका छन् ।

यसैले हामीले विभाजनबाट भोग्न सक्ने क्षतिलाई एकता प्रक्रियाका माध्यमबाट असुल गरिसकेकाले विभाजनले कुनै फरक पार्दैन । जति तल्लो तहमा गयो, त्यति नै विभाजनको क्षति कम रहेको र विगतमा विभाजनका पक्षमा लागेका नेता–कार्यकर्ता पनि निरन्तर घर फर्किसकेकाले क्षति धेरै न्यून भइसकेको छ ।

दोस्रो, अन्य पार्टीबाट एमालेमा भित्रिनेहरूको संख्या अभूतपूर्व छ । एमाले सत्तामा छैन, सत्ताधारीहरूले विभिन्न प्रकारका घेराबन्दी गरेका छन् । एमालेका विरुद्धमा राज्यसत्ताको दुरुपयोग गरेका छन् । तर पनि विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम तीव्र छ ।

यसबीचमा जनसभा र पार्टी प्रवेश कार्यक्रमहरू हेर्ने हो भने एमालेबाहेक अरू कुनै दलमा आकर्षण नै छैन । विगतमा तुलनात्मक रूपमा कमजोर भएका क्षेत्रहरूमा अरू पार्टीका तर्फबाट जननिर्वाचित नेता कार्यकर्ताको ठूलो संख्या एमालेमा प्रवेश गरेको छ । मधेशकेन्द्रित दलहरूका साथै कांग्रेस र स्वतन्त्र बसेका मानिसहरूले पनि एमाले रोज्ने क्रम तीव्र छ ।

समाजका सबै तह र तप्काका मानिसहरूमा एमाले स्वीकार्य राष्ट्रिय शक्तिका रूपमा विकास भइरहेको छ । पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म जति पनि राजनीतिक कार्यकर्ता र नागरिकहरू एमालेमा प्रवेश गरेका छन्, यी सबै एमालेका लागि अतिरिक्त उपलब्धि हुन् । त्यसैले यसपटकको निर्वाचनमा यस संख्याले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट छ ।

तेस्रो, विगत निर्वाचनमा एमाले र माओवादीको अलगअलग निर्वाचन चिन्ह भएका कारण करिब ८ लाख मत रद्द भएको थियो । तीमध्ये कम्तीमा पाँच लाख मत एमालेका छन् । यसपटक एमालेमा चिन्हका बारेमा कुनै अलमल छैन । एमालेसँग मिल्न आएका स–साना पार्टीलाई पनि कहींकतै अनुकूल भएमा सूर्य चिन्हबाट मात्र समावेश गरिएको छ ।

यसैले ‘सातै सूर्य सातै छाप’ नारा देशभर कार्यकर्ताले घन्काइरहेका छन् । त्यसैले यसपटक मत रद्द भएका कारण हुनसक्ने क्षतिबाट एमाले फाइदामा रहन्छ र ती पाँच लाख मतदाताका सदर मत एमालेमा जोडिन्छन् ।

ठीक विपरीत, सत्तारुढ गठबन्धनमा भने चिन्हकै महाभारत छ । पञ्चरंगी चुनाव चिन्हका कारण उनीहरूका मतदातालाई जतिसुकै प्रशिक्षित गरे पनि ठूलो मात्रामा मत रद्द हुने अवस्था छ ।

सत्तारुढ गठबन्धनको छायाँमा परेर र उनीहरूलाई फाइदा हुने गरेर ६ वटा महानगरमा उम्मेदवार उठेको पदमा मात्र चिन्ह रहने भनेर निर्वाचन आयोगले घोर आपत्तिजनक निर्णय गरे पनि देशभरका अरू पालिकामा यो सम्भवै छैन । यसबाट जति प्रयास गर्दा पनि सत्तारुढ गठबन्धनलाई ठूलो घाटा लाग्ने निश्चित छ । जबकि, एमाले चाहिं कुनै पनि प्रकारको अलमलमा छैन ।

चौथो, यसपटक ३५ लाख नयाँ मतदाता थपिएका छन् र तिनीहरूको आम रुझान नेकपा (एमाले) तर्फ छ । विकास र समृद्धिका बारेमा नेकपा (एमाले) को सरकारले अघि बढाएको अभियानले धेरैलाई छोएको छ । खागसरी, आफ्नो भविष्यका बारेमा बढी चिन्तित हुने र देशभित्र केही पनि हुन्न भनेर निराश भएर विदेशको मुख ताक्ने युवा वर्गमा केपी ओली नेतृत्वको सरकारले एक प्रकारको आशा र अपेक्षा जगाएको छ ।

देशभित्रै केही गर्न सकिन्छ र आफ्नो देशको मुहार आफैं फेर्न सकिन्छ भन्ने यो भावनाले नयाँ पुस्तालाई गहिरो गरी प्रभावित गरेको छ । विश्वकै गरिब, सानो, पछौटे, परनिर्भर देश भनेर बुझ्दै आएको नयाँ पुस्तामा राजनीतिक नेतृत्वले केही अठोट गरेमा देश बनाउन सकिन्छ भन्ने आत्मविश्वास पलाउनु सकारात्मक कुरा हो ।

अझ भारतसँग ठाडो शिर गरेर आफ्नो भूमि आफ्नो नक्सामा समावेश गर्न सक्ने दमदार प्रधानमन्त्रीका रूपमा ओलीको छवि युवा पुस्ताबीच लोकप्रिय छ । समकालीन नेताहरूका नाम र तस्वीर राखेर सर्वेक्षण गराउने हो भने पनि आम युवाले ओलीलाई छान्छन् । ‘आइ लभ यु केपी बा’ भनेर कुनै ७० वर्षका नागरिकहरूले होइन, युवाहरूले भनिरहेका छन् । नयाँ पुस्ताका मतदाताहरूको रुझानको फाइदा नेकपा (एमाले) लाई हुन्छ ।

पाँचौं, नेकपा (एमाले) को पंक्ति एकताबद्ध छ । तलदेखि माथिसम्म कमरेड ओलीको नेतृत्वमा एउटै लय र तालका साथ एमालेले काम गरिरहेको छ । जसले पार्टीभित्र आफूलाई सहज महसुस गर्न सकेनन्, कांग्रेसको बैसाखी टेकेर ती बाहिरिइसकेका छन् ।

साथसाथै, तिनीहरूसँगै एमालेभित्रको निरन्तरको किचलो पनि बाहिरिएको छ । वडा अधिवेशन, पालिका अधिवेशन, जिल्ला अधिवेशन, राष्ट्रिय महाधिवेशन, जनसंगठनका अधिवेशनहरूमा देखा परेको सुझबुझ र एकताले नेकपा (एमाले) मा नयाँ प्रकारको ऊर्जा उत्पन्न गराएको छ ।

तर, एमालेका प्रतिस्पर्धी पार्टीहरू भने आन्तरिक किचलो र भागबन्डाबाट गुज्रिरहेका छन् । नेपाली कांग्रेसमा त टिकट नै किनबेच भएको सार्वजनिक वक्तव्य शेखर कोइरालाले निकालेका छन्, विभिन्न ठाउँमा बागीहरूको विगविगी छ । सत्ताका लागि माओवादीसँग सिद्धान्तको लेनदेन गर्‍यो भन्दै ठूलो संख्यामा नेता–कार्यकर्ताले कांग्रेस छाडिरहेका छन् ।

फुट्दाफुट्दा ‘हिङ बाँधेको टालो’ मा रूपान्तरण हुन लागिरहेको माओवादीमा त्यस्तै हालत छ । एमसीसीका बारेमा उनीहरूका नेताहरूको अडान र भित्रभित्रै गुम्सिरहेको अवस्था सबैलाई थाहै छ । भर्खरै जन्माइएको सानो पार्टीमा पनि ठूला नेताहरूको गाँड कोराकोर सतहमै प्रकट भइरहेको छ भने मधेशी पार्टीमा शक्ति–संघर्षले कतिबेला फुट्ने हो भन्ने नै थाहा नहुने अवस्था छ ।

यस्तो अवस्थामा नेकपा (एमाले) चाहिं एकताबद्ध रूपमा निर्वाचनमा होमिएको छ । माथिबाट कुनै नेताले फेर समात्न नदिएका कारण उम्मेदवार चयनमा यसपटक आम रूपमा विवादरहित निर्णयहरू भएका छन् । लडाइँमा जति बढी एकता हुन्छ, त्यति नै बल प्राप्त हुन्छ । त्यसैले नेकपा (एमाले) ले बल प्राप्त गरिरहेको छ ।

यीबाहेक पनि एमालेका लागि प्रशस्तै अनुकूलता छन् । सत्तामा आएको नौ महिनासम्म शेरबहादुर देउवाको गठबन्धन सरकारले कुनै पनि सरकारात्मक र जनतालाई प्रभाव पार्न सक्ने काम गर्न नसकेका कारण मानिसले अघिल्लो सरकारलाई सम्झिरहेका छन् । एकपछि अर्को विवादास्पद, अलोकप्रिय र जनतालाई कुनै प्रभाव नपार्ने काममा लिप्त गठबन्धनका कारण पनि एमालेलाई अतिरिक्त फाइदा भएको छ ।

हिजो ओली सरकारमाथि लगाएका गलत आरोपहरू अहिले गठबन्धन सरकारतिरै फर्किएका छन् । यतिसम्म कि, आफैं समेत सहमत भएर संसदबाट सर्वसम्मत रूपमा जारी भएको नक्साका विषयमा समेत देउवाले भारतसँग कुरा उठाउन नसकेको विषय जनताका मनमा गम्भीरतापूर्वक गढेको छ र उनीहरूले आफ्नो भावनामा एमाले र ओलीलाई खोजेका छन् ।

बलियो जनाधार, सक्रिय कार्यकर्ता पंक्ति, बलियो नेतृत्व र जनतालाई छुने एजेन्डाका कारण स्थानीय निर्वाचनमा विजय हासिल हुन्छ भन्नेमा नेकपा (एमाले) विश्वस्त छ ।

( लेखक, नेकपा एमाले केन्द्रिय सदस्य,  प्रचार तथा प्रकाशन विभाग उपप्रमुख, प्रेस चौतारी नेपालको सहइञ्चार्ज हुन )

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम

    नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष

म पुरानो डाइभर हुँ नि : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धान रोपाईंमा सहभागी हुुनुभएको

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सबीच सम्झौता

      प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. का विच

विवादित मन्त्री विमलाले दिइन् राजीनामा

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्