तालमेलले कांग्रेसमा गोलमाल, भरतपुरमा संगठित विद्रोहको तयारी



 

 

आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूसँग चुनावी तालमेल गर्ने तयारीमा रहेको नेपाली कांग्रेसभित्र ‘परालको आगो’ दन्किरहेको छ । केन्द्रीय समितिको बैठकले ‘स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने’ निर्णय गरेको भएपनि सबैजसो स्थानीय तहमा केन्द्रको निर्णय ‘लाद्ने’ प्रयास सुरू भएको छ । कांग्रेसको आन्तरिक संरचनाभन्दा ५ दलीय गठबन्धनको संयन्त्रले गर्ने निर्णय हाबी हुने देखिएपछि कांग्रेसमा असन्तुष्टि चुलिदो छ ।

सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको मापदण्ड बनिसकेको छैन । यद्यपि शीर्ष तहको छलफलमा केही महानगरको भागबण्डा टुंगिसकेको बताइन्छ । सर्वाधिक चासोका हेरिएको चितवनको भरतपुर महानगरपालिकाको नेतृत्व फेरि पनि माओवादीले नै पाउने देखिन्छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरू ‘प्रधानमन्त्रीभन्दा मेयर ठूलो नहुने’ भन्दै गठबन्धनको पक्षमा दृढ देखिएका छन् । सभापति देउवा चुनाव अघि र पछिसम्म गठबन्धन जोगाएर सरकारको नेतृत्व सुरक्षित गर्न चाहन्छन् । त्यसका लागि स्थानीय निर्वाचनमा गठबन्धनका साझेदारहरूलाई आधा हिस्सा छोड्ने तयारी देउवाले गरेका छन् । ६ वटा महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलहरूले ३ मा नेतृत्व पाउने सम्भावना बढेको छ । गठबन्धनका कारण कांग्रेसले नेतृत्व नपाउने निश्चित देखिएका स्थानीय तहहरूमा असन्तुष्टीसँगै विद्रोहको क्रम पनि सुरू भएको छ ।

हालै नुवाकोट कांग्रेसका पूर्वउपसभापति यामबहादुर थापा र नेता भगवान पौडेल एमालेमा प्रवेश गरे । पूर्वगाविस अध्यक्षसमेत रहेका थापासहितका नेताहरूले चुनावी तालमेलकै विषयमा असन्तुष्ट रहेर विद्रोह गरेका हुन् । महोत्तरीमा प्रेस युनियन र पत्रकार महासंघको नेतृत्व गरिसकेका पत्रकार कमलेश मण्डल माओवादीमा प्रवेश गरेका छन् । गठबन्धन हुँदा माओवादीको भागमा पर्ने देखिएको मठिहानी नगरपालिकाको मेयरमा मण्डललाई उम्मेदवार बनाउने सहमति भएको छ ।

माओवादीसँगको तालमेलबाट असन्तुष्ट चितवनको माडी नगरपालिकामा कांग्रेसबाट निर्वाचित एकमात्रै वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले पनि पार्टी त्यागेको घोषणा गरेका छन् । रौतहटको राजपुर नगरपालिकामा निर्वाचित मेयर मोहम्मद साकिल अख्तर नै कांग्रेस त्यागेर एमालेमा प्रवेश गरे । अन्य जिल्लाहरूमा पनि कांग्रेसका असन्तुष्ट नेताहरू पार्टीबाट बाहिरिने क्रम बढेको छ ।

कांग्रेसवृत्तमा पार्टीभित्रको आन्तरिक उतारचढावलाई सामान्य मानिए पनि पार्टी नै छाड्ने विषयलाई गम्भीर रूपमा लिने गरिन्छ । स्थानीय निर्वाचन नजिकिदै जाँदा कतिपयले माओवादीसँगको गठबन्धनलाई कारण बनाएर त कतिपयले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस छाडेका छन् । यो क्रम बढ्ने हो भने गठबन्धन गर्दापनि कांग्रेसको शक्ति बढोत्तरी हुन समस्या पर्ने देखिन्छ ।

‘जति नै असन्तुष्ट भएपनि अपमान सहेपनि पार्टी छाडिहाल्ने कल्चर कांग्रेसको थिएन । तर हिजोआज यो वा त्यो बाहनामा सम्भावना बोकेका नेताहरूले पनि विद्रोह गर्ने क्रम देखिन्छ । यसप्रति पार्टीले गम्भीर समिक्षा गर्नुपर्छ’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् । संस्थापनइतर समूहका ती केन्द्रीय सदस्यका अनुसार स्थानीय आवश्यकता नभइ केन्द्रबाट तालमेल लादेको अवस्थामा कांग्रेसमा विद्रोहको लहर अझ बढ्नेछ ।

भरतपुरमा संगठित विद्रोहको तयारी

नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरका लागि २५ जनाले आकांक्षा देखाएका छन् । चितवन कांग्रेसका सबैजसो नेताहरूले यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा पनि हसियाँ हथौडामा भोट हालेका भरतपुर महानगरका कांग्रेसीहरू यसपटक रुखबाहेक अन्यत्र भोट नहाल्ने बताउन थालेका छन् । सामाजिक सञ्जालमार्फत अधिकांश कांग्रेस कार्यकर्ताहरूले भरतपुरको मेयरमा कांग्रेसले उम्मेदवारी नदिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

चितवन कांग्रेसका पुराना नेता, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले त भरतपुरको मेयर माओवादीले पाए आफू स्वतन्त्र उम्मेदवार बन्न घोषणा गरेका छन् । अर्कोतिर भरतपुरको मेयरमा कांग्रेसले उम्मेदवारी नदिए पूर्वजिल्लासभापति विकास कोइराला स्वतन्त्र उम्मेदवार बन्ने सम्भावना पनि छ ।

विगतमा टिकट खोसिएकै कारण सुशिल कोइरालाविरुद्ध दोस्रो संविधानसभामा बागी बनेका विकासमाथिको कारबाही अझै फुकुवा भएको छैन । यस्तो अवस्थामा कोइराला स्वतन्त्र उम्मेदवार बने असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताको मत तान्नसक्ने देखिन्छ । चितवन कांग्रेसका जिम्मेवार नेताहरूले नै भरतपुरमा माओवादीले मेयर पाए जिताउन गार्हो पर्ने बताउँदै आएका छन् ।

‘भरतपुरमा रुखमा भोट दिन नपाउने हो भने हसिँया हथौडामा पनि दिइँदैन । जसले विद्रोह गर्छ उसैलाई मत दिन्छौं’, भरतपुरका एक कांग्रेस कार्यकर्ताले भने । पार्टीको जिम्मेवार पदमा रहेकाहरूले संगठित विद्रोह गर्न सम्भव नभएपनि आम कार्यकर्ताबीच विद्रोहको मनोविज्ञान बढेको तथ्य भने कांग्रेस नेताहरूले अनौपचारिक संवादका दौरान स्वीकार्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
जसपाले सवै मन्त्री फिर्ता बोलायो

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता

रवि लामिछानेको पार्टी निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

    सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं महानगरमा भिख माग्न नपाँउने

    काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं

एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम

    नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष