रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन् ।
निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन् ।
आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन् ।
उनले भने, ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस् । देखिनुस् र सुनिनुस् । मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्, ‘मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस् ।’
उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए । रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए । रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे ।
ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ । बुधबार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन् । पश्चिमा विश्लेषकहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र केही साना सहर पुनः आफ्नो कब्जामा लिएको बताएका छन् ।
भूउपग्रहले खिचेका तस्वीरमा मारिओपोल सहरमा व्यापक क्षति पुगेको अनि आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ । उत्तरतर्फ रुसले डेस्ना नदीमाथिको एक महत्त्वपूर्ण पुल ध्वस्त पार्दै चेर्निहिव सहर र राजधानीबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ । बीबीसीबाट