कसरी टाट फर्कियो श्रीलंका, प्रश्नपत्र छाप्ने कागज किन्ने पैसापनि छैन सरकारसँग



 

 

प्रश्नपत्र छाप्ने कागज खरिद गर्न नसकेर दक्षिण एसियाली मुलुक श्रीलंकाले शनिबार विभिन्न परीक्षा स्थगन गरेको समाचारले अन्तर्रााष्ट्रिय समुदाय नै तरंगित बनेको छ । श्रीलंकाका शिक्षा अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले सोमबारबाट हुने परीक्षा अनिश्चितकालका लागि स्थगन भएको समाचार प्रकाशित गरेको थियो ।

प्रश्नपत्र छाप्ने कागजदेखि लेख्ने मसीसम्म खरिद गर्न आवश्यक रकम नभएको भन्दै परीक्षा स्थगनको सनसनीपूर्ण खबर विश्वभर फैलियो । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाको दुरावस्था झल्काउने खबर यो मात्र होइन । पेट्रोलियम पदार्थको लाइनमा बस्दा आइतबार दुई नागरिकको मृत्यु भएको छ । पेट्रोलियम पदार्थका लागि लामो लाइनमा उभिने क्रममा सत्तरी वर्ष उमेर समूहका दुईजनाको ज्यान गएको श्रीलंकाली प्रहरीलाई उद्धृत गर्दै भारतीय च्यानल एनडीटीभीले उल्लेख गरेको छ ।

सन् २०२१ अगष्ट ३० बाट श्रीलंकामा खाद्य संकट घोषणा भएको थियो । खानेकुरामा कोटा निर्धारण गरिएको थियो । हालसालै सीएनबीसीसँग बोलेकी एक श्रीलंकाली आमाले पहिले एक किलो दूध किन्न पाइनेमा अहिले ४०० ग्राममा झरेको बताएकी थिइन् ।

खाद्यान्नदेखि पेट्रोलियम पदार्थ किन्नसमेत श्रीलंकालाई हम्मेहम्मे परेको समाचार धेरै अगाडि आएको थियो । राष्ट्रपति गोताबाया राजापाक्षेले खाद्य संकटकाल घोषणा गरेकै बेला मेजर जनरल एनडीएसपी निउनहेल्लालाई आपत्‌कालीन खाद्य खामग्री दिने निकायको अख्तियारी दिएका थिए ।

कत्तिसम्म भने श्रीलंकाले डलर अभावमा इरानसँग चियामा तेल साट्ने समझदारी गरेको थियो । सन् २०२१ डिसेम्बर २१ मा २५ करोड १० लाख अमेरिकी डलरको तेलको बाँकी रकम चिया दिएर साट्ने सम्झौता भएको थियो ।

सन् २०२१ डिसेम्बर २७ मा श्रीलंका सरकारले डिसेम्बर ३१ भित्र लागू हुनेगरी नाइजेरियाको अबुजा, जर्मनीको फ्राङ्कफर्ट र साइप्रसको निकोसियामा रहेका कूटनीतिक नियोगहरू बन्द गरेको घोषणा गर्‍यो । घोषणाको मुख्य कारण आर्थिक संकट नै भएको बिजनेस स्ट्यान्डर्डले लेखेको छ ।

आर्थिक संकटको अझ जटिल उदाहरण त हालसालै रुस-युक्रेन युद्धका कूटनीतिक कदममा समेत देखिएको थियो । गत मार्च २ मा विश्वका १४१ देशले रुसले युक्रेनमा गरेको सैन्य हमलाको विपक्षमा मत दिएर संयुक्त राष्ट्रसंघको संकल्प प्रस्तावलाई साथ दिए । त्यो क्रममा संकल्प प्रस्तावमा सहभागी नहुने ३५ देशहरूमा श्रीलंका पनि एक थियो । नेपालदेखि भुटानले रुसको विरोध गरेकोमा श्रीलंकाको प्रस्तावमा सहभागी नहुने कारण मतदान सकिएको तीन दिनपछि खुल्यो ।

श्रीलंकाले रुससँग श्रीलंकाको लागि अत्यावश्यक समान किन्न ३० करोड अमेरिकी डलर मागेको थियो । श्रीलंकाकी मस्कोस्थित राजदूत प्राध्यापक जनिथा लियानागेले मार्च ४ मा उक्त कुरा खुलासा गरेको श्रीलंकाली मिडिया डेल्ली न्यूजले उल्लेख गरेको छ । राजदूत लियानागेले कच्चा तेल, ग्याँस र कोइला किन्न उक्त रकम प्रयोग हुने बताएकी थिइन् ।

प्रश्नपत्र छपाइमा समस्यादेखि आफैं समस्यामा रहेको रुससँग पैसा माग्ने अवस्थामा पुगेको श्रीलंकाको आर्थिक संकटको गहिराइ बुझौँ ८ प्रश्नोत्तरमा ।

 

१. आर्थिक संकटको सुरू कहिलेबाट भयो ?

श्रीलंकाको आर्थिक संकटको सुरूआत कोभिड-१९ सँगै भएको भन्दा हुन्छ । सन् २०१९ मा चीनमा देखिएर सन् २०२० मा विश्वभर फैलिएको कोरोनासँगै श्रीलंकामा आर्थिक समस्या देखिएको थियो । दुरावस्था सुरू भएको तीन वर्ष पुग्न लागेको छ ।

श्रीलंकाले आर्थिक संकटकालको औपचारिक घोषणा भने सन् २०२१ अगष्ट ३० मा गरेको थियो । संकटकालको समयमा श्रीलंकाली रूपैयाँ अमेरिकी डलरसँग २० प्रतिशत कमजोर भएको द हिन्दूले उल्लेख गरेको छ । यस्तै, श्रीलंकाको केन्द्रीय बैंकले आर्थिक संकटकालको चित्र देखाउँदै वैदेशिक मुद्रा सञ्चिति सन् २०१९ को नोभेम्बरताका साढे ७ अर्ब डलरबाट घटेर सन् २०२० को जुलाइमै २ अर्ब ८० करोडमा झरेको तथ्यांक दिएको थियो ।

२. आर्थिक संकटका प्रमुख कारणहरू के-के हुन् ?

श्रीलंकाको आर्थिक संकटको मुख्य जड वैदेशिक मुद्राको सञ्चिति शक्तिशाली नहुनु नै भएको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् । वैदेशिक सञ्चिति स्वाट्टै घट्नुमा मुख्यतया तीन कारणको चर्चा गरिएको छ । पहिलो, पर्यटन आम्दानीमा गिरावट । दोस्रो, अर्गानिक खेतीको समस्याग्रस्त तयारी । तेस्रो, वैदेशिक ऋण ।

श्रीलंकाको अर्थतन्त्रको एक प्रमुख हिस्सा पर्यटन क्षेत्र हो । अर्थतन्त्रको १० प्रतिशत कुल गार्हस्थ उत्पादनको हिस्सा पर्यटन क्षेत्रको छ । तर, सन् २०१९ को अन्तिमबाट कोभिड-१९ आतंक सुरू भएसँगै श्रीलंकाको यो महत्वपूर्ण आर्थिक क्षेत्र ठप्प भयो ।

नेपालजस्तै श्रीलंकाले भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । सन् २०१९ मा लोन्ली प्लानेटले श्रीलंकालाई विश्वको सबैभन्दा उत्कृष्ट गन्तव्य घोषणा गरेका थिए । श्रीलंका पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१९ मा १९ लाख १३ हजार ७ सय २ पर्यटक श्रीलंका आएका थिए । सन् २०२० को भ्रमण वर्षमा श्रीलंकाले कोभिडको कारण ५ लाख ७ हजार ७ सय ४ मा झर्‍यो । वैदेशिक मुद्रा आर्जनको एक मुख्य स्रोत कोभिड-१९ ले थलिएपछि श्रीलंकालाई आर्थिक भार बढ्यो ।

अर्गानिक खेतीको समस्याग्रस्त तयारी श्रीलंकाको अहिलेको आर्थिक संकटको अर्को कारण मानिन्छ । कुनै योजनाबद्ध तयारी नगरिकन घोषणा भएको अर्गानिक देश बनाउने सरकारी योजनाको कारण उत्पादनमा वृद्धि नभएर समस्या थपिएको विभिन्न संचारमाध्यमहरूले लेखेका छन् ।

द हिन्दूले अर्गानिक कृषिको घोषणालाई पनि श्रीलंकाली आर्थिक संकटको एक कारण मानेको छ । सन् २०२१ मे ६ मा श्रीलंकाले किटनाशक औषधि तथा रसायानिक मल आयातमा निषेध गरेको थियो । यसलाई धेरैले अर्गानिक देश बनाउने कार्यक्रमका रूपमा लिएका थिए । तर, उक्त महत्वाकांक्षी घोषणाको प्रभाव नकारात्मक मात्रै आयो । श्रीलंका सरकार यो निर्णयमा अडिग हुन सकेन । श्रीलंकाको आर्गानिक अभियान असफल भएपछि श्रीलंका सरकारले २०२२ जनवरी २५ मा देशका १० लाखभन्दा बढी कृषकलाई २० करोड अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेको अलजजिराले उल्लेख गरेको छ ।

श्रीलंकाले लिएको वैदेशिक ऋण आर्थिक संकटको अर्को प्रमुख कारण भनिएको छ । द गार्जियनका अनुसार सन् २०२१ अप्रिल सम्ममा श्रीलंकाको वैदेशिक ऋण ३५ अर्ब अमेरिकी डलर छ, जसमा यो वर्ष मात्रै ६ अर्ब ९० करोड डलर तिर्नुपर्ने दायित्व छ । तर, फेब्रुअरी अन्तिमसम्मको श्रीलंकाको वैदेशिक मुद्रा सञ्चिति २ अर्ब ३० करोड मात्रै भएको द गार्जियनले उल्लेख गरेको छ । विभिन्न देश तथा दातृ निकायहरूसँग श्रीलंकाले ऋण लिएको छ ।

३. श्रीलंकाको वैदेशिक ऋणमा चिनियाँ हिस्सा कत्ति छ ?

श्रीलंकाले चीनबाट आफ्नो कुल वैदेशिक ऋणको १० प्रतिशत जति चीनसँगलिएको द गार्जियनले लेखेको छ ।

४. श्रीलंकाको वैदेशिक ऋण कुल ग्राहस्थ उत्पादनको कत्ति प्रतिशत छ ?

सीएनबीसीले उद्धृत गरेको एक अध्ययनअनुसार श्रीलंकाको सन् २०१९ मा कुल गार्हस्थ उत्पादनको ९४ प्रतिशत वैदेशिक ऋण थियो भने सन् २०२१ मा आइपुग्दा बढेर ११९ प्रतिशत पुगेको छ । आर्थिक संकट चुलिएमा यसको मात्रा झनै बढ्दै जाने अनुमान धेरैको छ ।

५. श्रीलंकाली आर्थिक संकट टार्न भारतीय र चिनियाँ सहयोग सहयोग कत्ति प्रभावकारी ?

श्रीलंकाको आर्थिक संकट समाधान गर्न भारतले यही मार्च १७ मा एक अर्ब अमेरिकी डलर ऋण दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्नो ट्वीटमार्फत् उक्त घोषणा सार्वजनिक गरेका थिए । यसमध्ये ५० करोड अमेरिकी डलर इन्धन किन्न प्रयोग हुनेछ ।

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले सन् २०२२ जनवरी ९ मा श्रीलंका भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीलाई ऋण तिर्ने प्रावधान पुनःसंरचना गर्न आग्रह गरेका थिए । चीनले भारतले जस्तो श्रीलंकालाई ठूलो मात्राको ऋण दिएको कुनै सार्वजनिक जानकारी छैन । भारतको ऋणले मात्रै श्रीलंकाली आर्थिक संकट टार्न पुग्दैन ।

६. अन्तर्राष्ट्रिय मुद्रा कोषसँग किन लत्रियो श्रीलंकाली सरकार ?

श्रीलंकाले भोगिरहेको आर्थिक संकट समाधानमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग नलिने बताएको थियो । तर, सबैतिरबाट समस्यामा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसमेत गुहार्न बाध्य भएको छ ।

यही बुधबार श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले गरेको आग्रहलाई शुक्रबार कोषले बेलआउट दिनेबारेमा विचारमा गर्ने प्रतिक्रिया दिएको द गार्जियनले लेखेको छ ।

७. के श्रीलंकाले एमसीसी पारित गरेको भए त्यसको पैसाले आर्थिक संकट टर्ने थियो ?

नेपालमा सामाजिक सञ्जालतिर धेरैले नेपालले जस्तै श्रीलंकाले एमसीसी पारित गरेको भए आर्थिक संकट टर्ने तर्क गर्दै आएका छन् । यो तर्कमा खासै दम छैन । एमसीसीको रकम पूर्वाधार परियोजनाको हो । श्रीलंकाको ऋण यसबाट चुक्ता गर्न मिल्दैन ।

श्रीलंकाले एमसीसी पास गर्दा पाउने रकम ४८ करोड अमेरिकी डलर मात्रै हो । तर, श्रीलंकाको वैदेशिक ऋण द गार्जियनले २०२२ को जनवरी ९ मा लेखेअनुसार ३५ अर्ब डलरको छ ।

८. आर्थिक संकटमा श्रीलंकाका राजनीतिक प्रतिक्रिया कस्तो छ ?

श्रीलंकाको आर्थिक संकटको समाधानका लागि दबाब दिन राजनीतिक दलहरू सडकमा छन् । यसको मुख्य नेतृत्व एकीकृत जनशक्ति नामक दलले गरिरहेको छ ।

गत मंगलबार राष्ट्रपति भवनबाहिर दसौँ हजार प्रदर्शनकारीहरू भेला भएर विरोध गरेका थिए । प्रतिपक्षी नेता तथा एकीकृत जनशक्ति पार्टीका नेता साजिथ प्रेमादशाले विगत दुई वर्षबाट आर्थिक संकटबाट गुज्रिनु परेको भन्दै श्रीलंकाली सरकारलाई दैत्यको संज्ञा दिएर कटाक्ष गरेको अलजजिराले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रचण्डको नगरपालिकामा एमालेकी ताराकुमारी विजयी

    माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित निकालेको छ

बुनपा १० मा एमालेका नवराज भट्टराईको प्यान नै विजयी

    बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा नेकपा एमालेको प्यानल भारी अन्तरले

बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता

    बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ।

गुल्मीको मुसिकोट नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी

    नेकपा एमालेका सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा गठबन्धनलाई