एलईडी: केही तथ्य र केही कठिनाइ



विद्युत् प्राधिकरणले एलईडी चिम किन्ने प्रसङ्गले बजार तताइरहेको छ। प्रायजसो मनिस हरु आआफ्नै तर्क बेचिरहेका छन् — कोही २०० मेगावाट बचत हुन्छ भन्दैछन् भने कोही ५० अर्ब बचत हुन्छ किनिहाल्नु पर्छ भन्दैछन् । अर्कोतर्फ होइन खुला प्रतिस्पर्धाको प्रक्रिया पु¥याएरमात्र किन्नुपर्छ भन्ने तर्क गर्दैछन् । शंका छैन कुलमान र जनार्दनले प्रशंसनीय काम गरेका छन् । लोडसेडिङ हटाउनेमात्र होइन विद्युत् प्रधिकरणको समग्र व्यवस्थापनलाई चुस्त राख्दै निजी लगानी कर्तालाई निश्चिन्त भएर लगानी गर्ने वातावरण तयार गर्ने प्रयासमा छन् । यो पनि स्वागतयोग्य छ । लोडसेडिङ त हट्यो तर अब यसलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण छ । प्राविधिक रूपमा भारतबाट आयात बढाउन कठिन छ र आर्थिक दृष्टिकोणबाट त्यो उपयुक्त पनि होइन । यसैले विद्युत् खपत घटाउनु उत्तम उपाय देखिन्छ । अहिले चर्चामा रहेजस्तै विद्युत् खपत घटाउने उत्तम उपाय परम्परागत चिमलाई एलईडी चिमले विस्थापित गर्नु नै हो । यो छिटो र सरल उपाय पनि हो ।

पुराना चिम विस्थापित किन गर्ने ?

एलईडी अर्थात् लाइट इमिटिङ्ग डिओड चिम परम्परागत चिमको तुलनामा निकै लामो समय टिक्ने, चम्किलो र भरपर्दो हुन्छ । परम्परागत चिमको औसत आयु १ वर्षको हुन्छ भने एलईडी चिमको आयु १५ देखि २५ वर्षसम्मको हुन्छ धेरैजसो एलईडी चिम कम्पनीले ३ वर्षसम्मको ग्यारेन्टी नै गरेका हुन्छन् । एलईडी चिमको विकल्प सीएफएल चिम पनि हुनसक्छ जुन अहिले निकै प्रचलनमा छ । साठी वाटको परम्परगत चिमलाई १३ वाटको सीएफएल वा १० वाटको एलईडी ले विस्थापित गर्न सकिन्छ भने ४० वाटको परम्परागत चिमलाई १० वाटको सीएफएल वा ५ वाटको एलईडीले विस्थापित गर्न सकिन्छ । ऊर्जा खपतको दृष्टिकोणबाट उस्तै देखिए पनि एलईडी चिमको आयु सीएफएलभन्दा दोब्बर हुने हुनाले दीर्घकालीनरुपमा निकै सस्तो पर्न आउँछ ।

तीन चिमको तुलना हेरौँ ।

विश्वमै परम्परागत चिमलाई एलईडी र सीएफएलले विस्थापित गरिरहेका छन् । कतिपय विकसित देशहरुजस्तै अमेरिका, धेरैजसो युरोपेली देश, मलेसिया, दक्षिण कोरियालगायतले परम्परागत चिमको उत्पादन र आयातमै प्रतिबन्ध लगाइसकेका छन् । चीन र भारतले बिस्तारै विस्थापित गर्दैछन् । सम्पूर्ण परम्परागत चिमलाई विस्थापित गरिनेछ भन्ने केही वर्ष पहिलेको नेपाल सरकारको कार्यक्रममै थियो तर त्यो कागजमै सीमित रह्यो । तर, पनि धेरैजसो परम्परागत चिमलाई उपभोक्ताले आफँै सीएफएल चिमद्वारा विस्थापित गरिसकेका छन् । अब आउने हिउँदमा विद्युत् भार घटाउने हो भने त्यसभन्दा पहिला नै चिम खरिद गरी सम्पूर्ण परम्परागत चिमलाई एलईडी चिमले विस्थापित गर्नु आवश्यक छ ।

कति बचत गर्न सकिन्छ त ?

मानौ, २ करोड एलईडी चिम विक्रीवितरण गरियो । तर, ती सबै चिम एकैचोटी बल्ने अर्थात् प्रयोग हुने होइनन् । धेरै चिम हुने (८ भन्दा धेरै ) घरहरुमा एकैपटकमा लगभग ४० देखि ५० प्रतिशत चिम प्रयोग हुने र थोरै ३—४ चिम हुने घरहरुमा लगभग सबै चिम एकैचोटी प्रयोग हुनसक्ने आकडा छ । यसरी हेर्दा २ करोड चिममध्ये धेरैमा एकैचोटी बल्ने चिमको संख्या लगभग १ करोडको हाराहारी हुनआउँछ । यसमध्य ५० प्रतिशत परम्परागत चिमको संख्या मान्ने हो भने ५० लाख चिमले एकैपटक औसतमा ४० वाटको ( ४० र ६० वाटका चिम बराबरी प्रयोगमा छन् भन्ने अनुमानमा ) बचत गर्न सक्ने देखिन्छ । यसअनुसार लगभग २०० मेगावाट विद्युत् भार कम हुनसक्ने अवस्था देखिन्छ । यसरी २ करोड एलईडी चिम विक्री वितरण गर्न सकियो भने राष्ट्रिय प्रसारण लाइनमा निकै सहयोग पुग्न सक्छ ।

नेपालीले उज्यालोका लागि विद्युत् प्रयोग गर्ने औसत समय दैनिक ३ घन्टा हो । यो ३ घन्टामा पूरै २ करोड एलईडी चिम विक्रीवितरण गरिसकेपछि ती चिम प्रयोग गरी बचत हुने विद्युत् भनेको ६०० मेगावाट घन्टा हुन आउँछ । प्रचलित दर १ युनिटको ८ रुपैया ६० पैसाको दरले करिब रु १ अर्ब ८५ करोड रुपैया वार्षिक बचत हुने देखिन्छ । चर्चा गरिएजस्तो रु ५० अर्बको बचत हुने हल्ला निराधार हो । दुई सय मेगावाट बराबरका नयाँ विद्युत् आयोजना बनाउन ४० देखी ५० अर्ब लाग्ने अनुमान ठीकै हो तर पिक लोडको समयमा दैनिक धेरैमा ३ घन्टा २०० मेगावाट लोड घटाउनु नयाँ आयोजना बनाउनु सरह हो भन्नु पनि सर्वसाधारणलाई मूर्ख ठान्नुमात्र हो । एउटा प्रसँग जोडौं । एक जना कर्मचारी अफिसबाट हिंडेर घर पुग्छ अनि पत्नीलाई भन्छ आज मैले पाँच सय रुपियाँ कमाएँ । पत्नीले सोध्छिन् कसरी ? अनि ऊ भन्छ मैले ट्याक्सी चढिन हिँडेर आए अनि ट्याक्सीलाई तिर्ने पाँच सय त कमाएँ नि । हो त्यस्तै हो । यो २०० मेगावाट केही समय भार कम हुने हो तर नयाँ आयोजना निर्माण गर्नु बराबर होइन । बचत हो कमाइ होइन । एलईडी प्रयोग गरेर बचत गरेको धेरैमा ६०० मेगावाट घन्टाको वार्षिक बचत कमाइ होइन रु. १ अर्ब ८५ करोड बराबरमात्रै हो ।

के छन् त कठिनाइ ?

सामान्यतया मंसिर महिनादेखी विद्युत् उत्पादनको लागि सुख्खायाम भनेर गणना गरिन्छ तर मौसममा फेरबदल भइरहने हुनाले त्यसभन्दा अगाडिदेखी नै नदीहरुको बहाबमा निकै कमी आउने र विद्युत् उत्पादन घट्ने गरेको छ । अब सुख्खा समय आउन लगभग ५ महिनामात्र छ । यही समयभित्रै २ करोड एलईडी खरिद गरेर विक्रीवितरण गर्नु निकै गाह्रो काम हो । विद्युत् प्राधिकरण ले २०० स्थानबाट विक्रीवितरण गर्ने प्रबन्ध गरेको बताइएको छ । एक महिनाभित्रै खरिद गर्ने हो भने पनि उक्त स्थानमा आपूर्ति र भण्डारण गर्नु पनि चुनौतीपूर्ण देखिन्छ । हिउँदअगाडि विद्युत् प्राधिकरणले सम्पूर्ण चिम विक्री गर्ने लक्ष्य राख्दा प्रतिदिन एउटा स्थानबाट एक हजारभन्दा धेरै चिमहरु विक्री गर्नुपर्ने देखिन्छ ।

गाँउघरका प्रायः घरमा २ देखि ४ वटासम्म ४० वा ६० वाटका चिमहरु प्रयोग गरी २० युनिटभन्दा कम बिजुली खपत गर्दै न्यूनतम महसुल ८० रुपियाँ तिर्नेहरुको संख्या निकै धेरै छ । उनीहरुलाई पुरानै चिमले काम गरिरहेको अवस्थामा नयाँ एलईडी चिम विक्री गर्न निकै कठिन छ । किनभने नयाँ चिम प्रयोगले उनीहरुको प्रतिमहिना तिर्ने महसुलमा कुनै कमी आउँदैन । धेरै विद्युत् खपत गर्ने बजार क्षेत्रका धेरैजसो उपभोक्ताले पहिले नै सीएफएल चिम राखिसकेका छन् । सीएफएल र एलईडी चिममा धेरै भिन्नता नहुने हुनाले काम गरिरहेको चिम फालेर नयाँ चिममा कसैले खर्च गर्दैन । यसरी हेर्दा २ करोड चिम हिँउद अगाडि नै विक्रीवितरण गर्न असम्भवजस्तै देखिन्छ ।

विक्रीवितरण, आपूर्ति र भण्डारणको लागि आवश्यक पर्ने जनशक्ति त विद्युत् प्राधिकरणसँग होला तर त्यो सँगसँगै खर्चको पनि चाँजोपाँजो मिलाउनु जरुरी छ । कम्तीमा उक्त बल्ब विक्रीवितरण गर्नका लागिमात्रै २०० स्थानमा ४ जना कर्माचरी कम्तीमा ४ महिना खटन गर्दा ८ देखि १० करोड रुपैया अतिरिक्त लाग्ने देखिन्छ ।

एकै समय र एकै ठाउँमा त होइन तर समग्रमा पुराना चिम व्यवस्थापन गर्नुपर्ने भनेको २ करोड वटा नै हुन आउँछ । वातावरणीय दृष्टिकोणले २ करोड पुराना चिमको व्यवस्थापन गर्नु पनि ठूलै चुनौती छ । चिम विस्थापित प्रक्रियासँगै वातावरणीय असर न्यून गर्न साबधानी अपनाउनु जरुरी छ ।
स्रोत बाह्रखरी

प्रतिक्रिया दिनुहोस
पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन दिएका छन्। 

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा

    नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ ।

ललितपुर महानगरले हटाउँदै लगनखेलको मञ्जुश्री पेट्रोल पम्प

  ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ ।

अरुण तेस्रो जलविद्युत निर्माणले देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ : मन्त्री यादव

        वन तथा वातावरणमन्त्री प्रदीप यादवले सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा