नेकपाका यी ‘बिग फोर’ले किन गरे बैठक बहिष्कार ?



 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै चार शीर्ष नेताहरु उत्रिएका छन् । उनीहरु ओलीले पार्टी र सरकार संचालनमा देखाएको रवैया विरुद्ध उत्रिएका हुन् ।

 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको कारणले गर्दा सरकार र पार्टी दुबै बद््नाम हुँदै गईरहेको सन्दर्भमा स्थायी कमिटीको बैठक बोलाउने माग पार्टी शीर्ष नेताहरुबाट भएपनि उनले पटक पटक बैठक टार्दै आइरहेका थिए ।

 

यसैबिच मंसिर २२ गते सचिवालयको बैठक दिनको ३ बजेको लागि राखिएको थियो । बैठकको लागि नेकपाका शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा प्रवक्ता नारायाणकाजी श्रेष्ठ समयमै पुगे । तर अध्यक्षद्वय केपी शर्मा ओली तथा प्रचण्डका साथै महासचिव विष्णु पौडेल भने तोकिएको समयमा उपस्थित भएनन् ।

 

ओलीले यसअघि पनि बैठक बोलाउने र नेताहरुलाई घण्टौं कुराउने गर्दैं आएका थिए । उनको यस्तो व्यवहारबाट वाक्क दिक्क भएका नेताहरुले बैठक बोलाएको समयभन्दा १५ मिनेट मात्रै ढिला भएपनि सचिवालयले जानकारी गराउनुपर्ने नियम बनाए ।

 

तर निर्धारित समय भन्दा १७ मिनेट ढिला भईसक्दा पनि बैठकमा न अध्यक्षद्वय र महासचिव भए, न त सचिवालयमार्फत्  नेताहरुलाई कुनै जानकारी नै गराइयो । यसो भएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकस्थल छाडेर हिँडे ।

 

त्यसपछि नेतात्रय माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतम समेत बैठकस्थलबाट बाहिरिए । आधा घण्टासम्म कुर्दापनि बैठक स्थलमा ओली, प्रचण्ड र पौडेल नदेखिएपछि नेतात्रय बाहिरिएका हुन् ।

 

सचिवालयको बैठक सरकारको कामकारबाही र पार्टी समायोजनको एजेन्डामा छलफल गर्नको लागि बोलाईएको थियो । शीर्ष चार नेताबिनाको अनुपस्थितिमा बसेको अध्यक्षद्वय र महासचिवको अनौपचारिक बैठकले यही मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

 

पार्टीको अन्य कार्यक्रममा पनि समयको ख्याल गर्न र अनावश्यक रुपमा अतिथिको थुप्रो नलगाउन कार्यकर्तालाई सुझाउँदै आएका ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वलाई सचेत गराउन तथा पार्टीमा एउटा थिति बलाल्नको लागि आफूले १७ मिनेटपछि बैठक स्थलबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् । नेताहरुले आफैको निर्मम समीक्षा गर्नुपर्ने सुझाव उनको रहेको छ ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने ओलीले भने टार्ने नियतले बैठकमा ढिलाई गरेको कुराको खण्डन गरे । ‘बैठक टार्ने कुरा हुँदै होइन ।’ उनको प्रतिक्रिया थियो – ‘पार्टीगत समस्या र कारणबारे कुरा के थिए र के कारणले यस्तो भयो भन्नेबारे उहाँहरूसँगै सोध्नुभयो भने थप जानकारी होला । मसँग यसबारे जानकारी भएन ।’ तर नेकपाका नेताहरुले भने शीर्ष नेताहरुबाट आफूविरुद्ध हुने आलोचनाबाट बच्न सकभर स्थायी कमिटी बैठक टार्न खोजेको बताइरहेका छन् ।

 

यसैको लागि पार्टीबाट स्थायी कमिटीको बैठक बोलाउन दवाव आएपछि ओली बैठक बोलाउने बाध्यतामा परेका हुन् । गत असारमै स्थायी कमिटीको बैठक बोलाएर सरकारका कामकारबाहीको समीक्षा गर्ने भनिएपनि उक्त बैठक सर्दै सर्दै मंसिर २९ गते पुगेको छ ।

 

‘आफू विदेश भएको मौका पारेर एकलौटी निर्णय लिइएको’मा ठुस्किँदै आएका पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी सञ्चालनको कार्यशैलीप्रति तीव्र आलोचना हुन सक्ने देखेर ओलीले स्थायी कमिटी टार्दै आएको आरोप लगाएका छन् ।

 

बैठक प्रधानमन्त्रीनिवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ : वामदेव गाैतम

तपाईंहरू चारजना नेताले किन बैठक छाडेर हिँड्नुभो ?
हामी किन हिँड्यौँ, सबैले देखेका छन् । धेरै कारण छन् । हामीले यो पार्टीलाई राजनीतिक पार्टीका रूपमा कसरी सञ्चालन गर्नुपर्छ भन्ने शिक्षा दिनका लागि बैठक हुनुभन्दा पहिल्यै निस्किएर हिँडेका हौँं, बैठक बहिष्कार गरेका होइनौँ ।

बैठक बोलाउने, ३ घन्टासम्म कुराएर बैठक स्थगित गर्ने, दुवैजना अध्यक्ष उपस्थित नहुँदा बैठकै नबस्ने, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीका कारण बैठक सरेकोस¥यै हुने, अब त्यो परम्परा तोड्नुपर्छ भनेर बैठक बहिष्कार गरेका हौँ ।

 

नौमध्ये चार नेताले बैठकै छाडेर हिँडेपछि अध्यक्षहरूले सम्पर्क गर्नुभएन ?
मलाई चाहिँ पछि दुवै अध्यक्षले फोन गरेर फर्किनुस् भन्दै बोलाउनुभयो । तर, हामी कोही पनि गएनौँ । मैले फर्किन्नँ भन्ने जवाफ फर्काएँ । हामी निस्किएपछि ५ जनाको बैठकले २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गर्नुभएछ ।

 

तपाईंहरू हिँडे पनि पाँचजनाको बहुमतले निर्णय भएको छ, त्यसले के अर्थ राख्छ र ?
आजसम्म हाम्रो पार्टीमा दुईजना अध्यक्षमध्ये एकजना उपस्थित नहुँदा बैठक नबस्ने, अनौपचारिक भेला मात्रै गर्ने परम्परा थियो । अब त्यो परम्परा तोडियो । अबदेखि दुईमध्ये एक अध्यक्ष मात्र उपस्थित हुँदा पनि बैठक बस्छ, पार्टी सञ्चालन हुन्छ ।

 

हामी नै बैठक बसाउँछौँ । कोरम पुगेको स्थितिमा बैठक बस्छ, निर्णय गर्छ । हामीसँग बदला लिनकै निम्ति उहाँहरूले निर्णय गरेको भए पनि पार्टीलाई अगाडि बढाउने सिलसिलामा सकारात्मक पहल नै भएको छ भन्ने हामीले बुझेका छौँ । यसले पार्टीलाई राम्रै गरेको छ ।

 

त्यसो भए बैठकको निर्णय मान्नुहुन्छ ?
किन नमान्ने ? कोरम पुगेर गरेको निर्णय मानिन्छ नि । हाम्रै बारेमा या मेरै बारेमा पनि जे निर्णय बैठकले गरेको छ, त्यो मान्छु, तर निर्णय विधिवत् ढंगले गरिएको हुनुपर्छ । अबका दिनमा प्रधानमन्त्रीले समय निकाल्न सक्नुभएन भने बाहिर रहनुभएका अध्यक्षको नेतृत्वमा बैठक बस्छ, निर्णय गरिन्छ । हाम्रो उपस्थितिविनाको निर्णयले यो परम्परा बसालेकाले अब पार्टी सकारात्मक ढंगले अघि बढ्छ ।

 

यो प्रकरणले पार्टीमा के संकेत गरेको छ ?
चारजनाले बैठक बहिष्कार गरेको होइन, उहाँहरूको शैलीलाई बहिष्कार गरिएको हो । अध्यक्ष पदका कारण उहाँहरू वरिष्ठ हुनुहुन्छ । आन्दोलनको हिसाबले, अरू धेरै हिसाबले उहाँहरूको समकक्षी कमरेडलाई ३ घन्टासम्म कुराइएको इतिहास छ । मुख्य कुरा अबदेखि त्यस्तो स्थिति समाप्त भएको छ । कसैलाई कुराउनुहुने छैन, समयमा आउनुहुनेछ, त्यो परम्परा बस्छ ।

 

सरकारीनिवास बालुवाटारमा बैठक बसेकोमा पनि आपत्ति हो ?
शनिबार हामीले त्यो कुरा उठाउन पाएनौँ । तर, भविष्यमा उठाइनेछ । हरेक बैठक प्रधानमन्त्रीनिवासमा हुन सक्दैन, पार्टी कार्यालयमै बस्नुपर्छ भन्ने मेरो मान्यता हो । आगामी सचिवालय बैठकमा म यो कुरा राख्छु ।

 

प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ, प्रधानमन्त्रीकै अध्यक्षतामा प्रधानमन्त्रीनिवासमा बैठक बस्छ, अनि अनेक हिसाबले त्यो प्रभावित हुने स्थिति पार्टी कार्यालयमा बस्दा हुनेछैन, त्यसैले पार्टी कार्यालयमै बैठक बस्नुपर्छ । प्रधानमन्त्री पार्टी कार्यालय जान सक्नुभएन भने अर्को अध्यक्षको नेतृत्वमा बस्छ ।

 

प्रदेश कमिटी सदस्यहरूको नाम सार्वजनिकबारे तपाईंको के प्रतिक्रिया छ ?
त्यसरी नाम सार्वजनिक गर्नै हुन्नथ्यो । हामी स्थायी समितिमा दृढतापूवर्क मत राख्छौँ । त्यो परम्परा तोड्नुपर्छ । स्थायी समितिले अधिकार प्रत्यायोजन गरेको अवस्थामा मात्रै सचिवालयले निर्णय गर्न पाउँछ । स्थायी समितिले नै निर्णय गर्नुपर्छ भन्ने कुरा राखिन्छ । सार्वजनिक गरिएको नामको सूची स्थायी समितिबाट अनुमोदन गर्नुपर्छ ।

 

के आपत् आइलाग्यो र उहाँहरू बाहिरिनु भयो, बुझ्नै सकेनौं : विष्णु पौडेल

सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । म ३ बजे नै बैठककक्षमा पुगेको थिएँ, त्यतिवेला माधव नेपाल आइसक्नुभएको थियो । उहाँलाई अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छ, सुरु हुने वेला आइपुग्नुहुन्छ भन्ने जानकारी गराएर म काममा अर्को कक्षतिर लागेँ ।

त्यसबीचमा अरू कमरेडहरू पनि आइपुग्नुभो । उहाँहरू सवा ३ बजेसम्म बस्नुभो र बाहिरिनुभो । उहाँहरू किन बाहिरिनुभो अचम्मित भएका छौँ । एक्कासि असिना बर्सेजस्तो, ठूलै आपत् परेजस्तो गरेर किन बाहिरिनुपर्‍यो ? कारण बुझ्न सकिएको छैन ।

 

खासमा अध्यक्षद्वय बैठककक्षमा आउँदै गर्दा उदयपुर जिल्लाबाट ०६४ मा प्रत्यक्ष निर्वाचित सांसद मणि खम्बू भेट्न आउनुभएको थियो । लामो समय जनयुद्ध र जनआन्दोलनमा योगदान गर्नुभएको उहाँ क्यान्सरपीडित एकल महिलासमेत हुनुहुन्छ । प्रधानमन्त्री र अध्यक्षले उहाँसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएर सरकार र पार्टीले गर्न सक्ने सहयोगबारे कुराकानी गर्दा १५ मिनेट ढिलो भएको सत्य हो । तर, बैठककक्षमा आउँदै गर्दा उहाँहरू बाहिरिसक्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
नागरिकता विधेयक बिरुद्ध नेमकिपा सडकमा

    नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले

नागरिकता विधेयक जस्ताको तस्तै पारित नर्गन प्रदीप ज्ञवालीको चेतावनी

    नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएको

जसपाका बरिष्ठ नेता राईसहित डेढ सय एमालेमा प्रवेश (सूचीसहित)

    जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र

महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको ओलीको आरोप

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा