सोमलालका कारण निजामती सेवाकै बेहाल, राष्ट्रको शिर निहुराएर कसको बने ढाल ?



मुख्यसचिव सोमलाल सुवेदीले आफ्नो पदावधि बाँकी छँदै फिलिपिन्सको मनिलास्थित एसियाली विकास बैंकको मुख्यालयमा वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान जाँदै छन् । मुलुकको कर्मचारीतन्त्रको सर्वोच्च पदमा पुग्नका निम्ति उनले जेजस्ता हत्कण्डा गरे, ती सम्झने हो भने आज जोकोही स्वाभिमानी राष्ट्रसेवकले लाजले शिर निहुराउनु पर्ने अवस्था छ । आज त्यसलाई समेत बिर्साउने गरी उनी एडीबीमा डलर लोभमा आफ्नो सम्पूर्ण स्वत्व राजनीतिक नेतृत्वको हातमा सुम्पिन पुगेका छन् । उनका यी हर्कतले सिंगो राष्ट्रको शिर निहुराउने काम गरेको छ भने कर्मचारीतन्त्रमा अस्थिरता, अराजकता र राजनीतिक नेताको पिछलग्गु बन्ने प्रवृत्तिलाई थप प्रश्रय दिने भएको छ । निनिष्ठावान् कर्मचारी एवं प्रशासकहरुलाई यस्तो प्रवृत्तिले झन् निरुत्साहित बनाउनेछ ।
सुवेदीले बुझ्नुपर्ने हो, उनलेजस्तै थप आकर्षक पदको लोभ लीलामणि पौड्यालले गरेका भए सुशील कोइराला नेतृत्वको सरकार उनलाई के दिन तयार थिएन ? राजदूत, सभासद आदिको लोभ उनलाई नदेखाएका होइनन् । पदको प्रलोभनसँगै उनी आफ्नो स्वाभिमान त्याग्न तयार भएनन् । जुन दिनसम्मका लागि यो पदमा म नियुक्त भएको हुँ, त्यतिञ्जेल बस्छु भनेर उनले अडान लिए । उनले लिएको त्यही अडानको प्रतिफलस्वरुप आज सोमलाल सुवेदी मुख्यसचिव बन्न पाएका हुन् । यदि पौड्यालले आफ्ना पूर्ववर्ती भोजराज घिमिरेहरुले जस्तै गति छाडेका भए पद र आकर्षक सुविधा त पाउँथे नै, उनीपछि आउने मुख्यसचिवबाट समेत प्रशस्तै कृतज्ञता हासिल गर्थे । तर, सोमलालको ठाउँमा मुख्यसचिव भएर अर्कै व्यक्ति पुगेको हुन्थ्यो । सोमलाल आज स्थानीय विकास मन्त्रालयका केही परियोजनाको कन्सल्ट्यान्ट भएर झोला हल्लाउँदै सिंहदरबार भित्र—बाहिर गरिरहेका हुन्थे ।
यत्ति कुरा पनि सोमलालले बुझ्न सकेनन् । आफ्नो पदप्रति इमानदार बन्न नसक्ने, आफ्नो पदलाई सम्मान गर्न नसक्ने र आफ्नो मर्यादा आफैले राख्न नसक्ने व्यक्ति कसरी त्यो सर्वोच्च प्रशासकको कुर्सीमा बस्ने पुगे होलान् भनेर आज जिब्रो काढ्नुपर्ने अवस्था छ । सोमलाललाई लाग्दो, यो मुलुकमा आफूभन्दा जान्नेमान्ने व्यक्ति कोही छैन । त्यसैले उनी आज मिडियामा अन्तर्वार्ता दिइरहेका छन्, सरकारले खटाएपछि खटाएको ठाउँमा जानु कर्मचारीको बाध्यता हो । योभन्दा ढाँट कुरा अर्को के हुन सक्छ ? के नेपाल सरकारले मुख्यसचिवको सरुवा गरेको हो ? के एडीबीको वैकल्पिक कार्यकारी निर्देशक भन्ने पद नेपाल सरकार निजामती सेवाअन्तर्गतको पद हो ? आफू उक्त पद प्राप्त गर्न सुवेदीले केकस्ता सम्झौता राजनीतिक नेतृत्वसँग गरे भन्ने कुरा आमनागरिकलाई थाहा छैन र ?
सुवेदी जाँदाजाँदै विभिन्न मन्त्रालयका कोही प्रस्तावहरु रोकेर हिरो बन्न पनि नखोजेका होइनन् । तर, सुशासन ऐनको प्रयोगमा उनी सबैभन्दा निरीह मुख्यसचिव हुन् । अहिलेसम्म उनले कुनै सचिव वा मातहत कर्मचारीलाई दण्डित गर्न सकेका छैनन् । नसिहत वा चेतावनी दिन सकेका छैनन् । लीलामणि पौड्यालले सुरु गरेको बागमती सफाइसम्बन्धी स्वयंसेवी अभियानमा केही दिन फोटो खिच्न पुगे तर नतिजा देखिने काम केही गरेनन् । प्रचण्ड सरकारका नीतिगत भ्रष्टाचारहरुका सहयोगी बने । निष्ठावान प्रशासकहरुको हुर्मत लिने मन्त्रीहरुसँग एक शब्द राय बझाउन सकेनन् । बरु मन्त्रीले भनेअनुसारका निर्णय टिपेर आफ्नो जागिर पकाउन खोजे । इमानदार र निष्ठावान कर्मचारीलाई संरक्षण दिन नसक्नुभन्दा अर्को नालायकी मुख्यसचिवको के हुन्छ ?
मुख्यसचिव सुवेदीले राष्ट्रप्रति घात गर्ने काम गरेका छन्, भइरहेको पदभन्दा सानो पद रोजेपछि हालको पद त्याग्नुपर्ने हो । तर, एडीबीको जागिर पक्का गरिसकेपछि पनि उनी मुख्यसचिवका हैसियतले नेपाल सरकार मन्त्रिपरिषदको सचिवालय छाडेका छैनन् । कुनै पदमा रहनु वा नरहनु उनको व्यक्तिगत निर्णयको विषय मान्न नसकिने होइन । तर, सोमलाल अन्तर्राष्ट्रिय संस्थाको जागिरे व्यक्ति मन्त्रिपरिषदजस्तो मुलुकको सर्वोच्च कार्यकारी संरचनाको सचिवालयमा रहिरहँदा मुलुकको सार्वभौमसत्ताको हालत के हुन्छ ? मुलुकका संवेदशील सूचनाको गोपनीयताको सुरक्षा कसरी हुन्छ ? नेपाल राष्ट्रको हितमा काम गर्ने शपथ खाएर सेवा प्रवेश गरेका उनी बीचैमा नेपाल राष्ट्र र मुख्यसचिवको पदप्रति बीचैमा धोका दिएका छन् । उनी अर्कैप्रति वफादार भइसकेका छन् ।
त्यसै त नेपालको कर्मचारीतन्त्र दातामुखी भएको आरोप छ । कतिपय मन्त्रालयका सचिव र सहसचिवहरु दाताका गोटी बनेर काम गरिरहेका छन् । मन्त्रालयले आफै गर्न सक्ने काम पनि दातृ निकाय वा संघसंस्थाका तर्फबाट प्रपोजल माग गरेर आउट सोर्सिङ गर्ने, त्यसैमा आफू कन्सल्ट्यान्ट बन्ने, विदेश घुम्ने, तारे होटल र रिसोर्टहरुमा सपरिवार सयर गर्ने÷गराउने सामान्य बनेको छ । कतिपय सचिव—सहसचिवहरु दातृ निकाय र नेपाल सरकार दुवैतिरबाट दोहोरो तलब थाप्छन् । सरकारको मानो खान्छन् र परियोजनाका गाडी चढ्छन् । यो हदसम्मको लालची प्रवृत्ति कर्मचारी तन्त्रमा हुर्किएको छ । त्यसमाथि भावी पदका निम्ति जस्तोसुकै सम्झौता गर्न तयार हुने लुप्त प्रवृत्ति मुख्यसचिवले नै प्रदर्शन गरेपछि बाँकी कर्मचारीहरुमा नैतिकता, इमानदारिता, वफादारिता, राष्ट्रभक्ति खोज्नु भनेको व्यर्थ छ । सोमलालले यो प्रवृत्ति झनै निकृष्ट तहमा प्रदर्शन गरे । पूर्वमुख्यसचिव विमल कोइरालाले मुख्यसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको सचिवालजस्तो बनाएको आरोप लागेको थियो । यस्ता अनगिन्ती शृंखला छन्, जसले मुलुकको स्वतन्त्र व्यक्तित्व र निर्णय क्षमतालाई अन्तर्राष्ट्रिय समुदायको हातमा सुम्पिएका ।
पूर्वमुख्यसचिव भोजराज घिमिरेले आफ्नो स्वार्थका निम्ति के मात्रै गरेनन् । पछिल्लो समयमा कर्मचारी प्रशासनमा देखिएका विकृतिका ८० प्रतिशत कारक तिनै घिमिरे थिए । गिरिजाप्रसाद कोइरालादेखि ट्रेड युनियनहरुलाई खुसी पार्ने नाममा उनले के मात्रै गरेनन् ? अन्ततः आफ्ना लागि दूतावास नै नभएको क्यानाडामा राजदूतावास खोल्न लगाएर त्यसमा आफ्नो नियुक्ति निश्चित गरेर मुख्यसचिवबाट विदा भए । जुन मुलुकको राजदूतावास नेपालमै छै, उसकोमा राजदूतावास राख्नु र राख्न लगाउनु भनेको कूटनीतिमा पारस्परिकताको सिद्धान्तविपरीत हो । नेपाल कम्तीमा त्यो स्तरसम्म झर्नुपर्ने होइन, जुन मुलुकले सम्मान दिँदैन र पारस्परिकता निभाउँदैन, उसकहाँ आवासीय दूतावासै खोलेर कूटनीति निभाउनु परोस् । भोजराज घिमिरेका निम्ति खोलिएको त्यो दूतावासका कारण मुलुकलाई अटूट रुपमा वार्षिक करोडौँ व्ययभार थपिएको छ र राजनीतिक नेताका आसेपासेलाई भाग पु¥याउने एउटा नयाँ ठाउँ सिर्जना भएको छ । योभन्दा ठूलो राष्ट्रप्रतिको घात अर्को के हुन सक्छ ? राष्ट्रको हितमा काम गर्न, राष्ट्रको सम्मान उँचो पार्नका निम्ति दिइएको यो उच्च पदमा भएकै व्यक्तिले यो हदसम्म राष्ट्रप्रति घात गर्छ भने अरुबाट के अपेक्षा गर्ने ?
अहिले मुख्यसचिव सोमलाल सुवेदी भावी मुख्यसचिव कसलाई बनाउने भनेर क्यालेन्डर हेरेर बसेका छन् र मनिला उड्ने दिन गन्दै छन् । सत्ताधारीहरुको इशारामा उनी आफ्नो दैनिकी चलाइरहेका छन् । आफ्नो व्यक्तिगत हैसियत कुनै बाँकी नरहेपछि अरुको इशारामा चल्नु स्वाभाविक परिणति पनि हो । तर, संसारमा योभन्दा निकृष्ट अवस्था संसारको कुनै मुलुकले झेलेको होला, जहाँ सोमलालजस्ता व्यक्ति मुख्यसचिवको पदमा पुग्छन् ।

विशाल छेत्री

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता