तेस्रोलिंगी, समलिंगी हुनु रोग होइन



यौन व्यवहारमा महिला र पुरुषभन्दा फरक चाहना राख्ने व्यक्ति पनि हाम्रो समाजमा छन् । जो अहिले आत्मसम्मानका लागि समाजसँग लडिरहेका छन् । उनीहरू आफ्नो पहिचानसँगै कानुनी अधिकार प्राप्तिका लागि संघर्षरत छन् । बालक वा बालिकाभन्दा फरक भएर जन्मिँदा उसले पछि आफूलाई कसरी चिनाउन चाहन्छ भन्ने कुराले लैंगिक पहिचान निर्धारण गर्छ । हाम्रो समाजमा अझै पनि समलिंगी र तेस्रोलिंगीलाई मात्र यौनिक अल्पसंख्यक मानेर चर्चा गर्ने गरिएको छ । तर, यस समुदायलाई एलजिबिटिआई भनेर विश्वव्यापी रूपमा परिभाषित गरिएको छ । जसमा एलको अर्थ लेस्बियन अर्थात् समलिंगी महिला, जीको अर्थ गे अर्थात् समलिंगी पुरुष, बीको अर्थ बाइसेक्सुअल अर्थात् उभयलिंगी, टीको अर्थ ट्रान्सजेन्डर अर्थात् तेस्रो लिंगी, आईको अर्थ इन्टर सेक्सुअल अर्थात् अन्तरलिंगी भन्ने हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका रूपमा समलिंगी र तेस्रोलिंगी मात्र नभएर फरक लैंगिक तथा यौनिक समुदायका मानिस पनि हाम्रो समाजमा छन् ।

रोग होइन, प्राकृतिक पक्ष हो
कुनै पनि मानिस यौनिक तथा लैंगिक रूपमा फरक हुनु कुनै रोग वा मनोवैज्ञानिक समस्या होइन । तर, हाम्रो समाजले यसलाई अझै पनि रोग वा विकृतिका रूपमा लिने गरेको छ । हामीले बुझ्नुपर्ने के हो भने संसारमा महिला र पुरुष भनेको हामीले चिनेर, थाहा भएर आएको समुदाय हो, जसलाई हामी सहर्ष स्विकार्छौं । हामी यसरी महिला र पुरुषको सम्बन्धलाई प्राकृतिक, बहुसंख्यक मान्ने तर त्यसभन्दा न्यून संख्यामा रहेका हामीजस्ता समुदायका मानिसलाई चाहिँ विभेद गर्ने, महिला र पुरुषभन्दा फरक प्रकृतिको भएकाले अप्राकृतिक मान्ने गरिन्छ । महिला र पुरुषको सम्भोग वा समागमलाई हामी प्राकृतिक मान्छौँ । तर, सोही प्रक्रियाबाट कुनै अन्तरलिंगी व्यक्तिको जन्म हुन्छ भने त्यसलाई किन अप्राकृतिक मान्ने रु वा उनीहरूबाटै जन्मिएको बच्चा बालक भएर बालिकाको गुण हुनु अथवा बालिका जन्मिएर उसमा पुरुषको गुण हुनु कसरी अप्राकृतिक हुन्छ रु विश्व स्वास्थ्य संगठनले पनि यसलाई प्राकृतिक मानिरहेको अवस्थामा यसप्रति नकारात्मक धारणा बनाउनु मूर्खताबाहेक अरू केही होइन । कोही पनि ३२ लक्षणले सम्पन्न हुँदैन । जन्मपछि मृत्युलाई जसरी स्विकारिन्छ, त्यसैगरी एलजिबिटिआईलाई स्विकार्नु मानवताको परिचय हो ।

व्यक्ति, परिवार र समाज
अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई परिवार र समाजले स्विकारिसकेको अवस्था छैन । व्यक्तिगत रूपमा पनि परिवार र समाजमा ‘एक्स्पोज’ भएपछि आउने उतारचढावका कारण कतिपय आफ्नो पहिचान लुकाउन बाध्य छन् । अरूसँग जुध्नका लागि पहिले आफैँ सक्षम हुनु जरुरी छ । तर, आफू खुलेर परिवारले सपोर्ट गरेन भने झनै अप्ठ्यारो हुन्छ । कसैले पनि इच्छा गरेर तेस्रोलिंगी वा गे हुने होइन । भइसकेपछि अरूभन्दा फरक हुनुले हीनताबोध हुने गर्छ । मानसिक रूपमा उसलाई अन्य व्यक्तिसँग घुलमिल हुन गाह्रो परिरहेको हुन्छ । यसका लागि परिवारले आफ्नो सन्तान जस्तोसुकै भए पनि त्यसलाई स्वीकार गर्दै सपोर्ट गर्नुपर्ने हुन्छ । परिवारको सपोर्ट भयो भने उनीहरूलाई समाजमा बाहिर आउन, प्रतिस्पर्धा गर्न र लड्न सहज हुन्छ । अर्को कुरा, हाम्रो घर, परिवार र समाज अझै पनि शैक्षिक र आर्थिक रूपले सबल छैन । परम्परावादी सोच र अन्धविश्वासले जरा गाडेको छ । जसले गर्दा हाम्रो समुदायप्रतिको बुझाइमा नकारात्मक सोचको विकास भएको छ । यसका लागि देशका सबै मानिस पहिले शैक्षिक, बौद्धिक र मानसिक रूपमा सक्षम हुनु र सबैमा चेतनाको विकास हुनुपर्छ।

प्रेम र विवाह
एलजिबिटिआई समुदायका मानिसभित्र प्रेम हुने भए तापनि विवाहको कानुनी मान्यता हालसम्म स्थापित भइसकेको छैन । जसका कारण सामाजिक रूपमा आफ्नो सम्बन्धलाई स्थापित गरेर बस्न गाह्रो भएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि शारीरिक र मानसिक आवश्यकता पूर्ति हुनु, माया, प्रेम गाँस्नु आवश्यक हुन्छ । तर, त्यस खालको वातावरण अझै बनिसकेको छैन । जसका कारण हाम्रो समुदायभित्रका मानिसबीच प्रेम सम्बन्ध भएमा पनि विवाह गर्ने कानुनी आधार नभएका कारण विभिन्न समस्या झेल्नुपरिरहेको अवस्था छ ।

संविधान र कानुन
नेपालको संविधानको धारा १८ अन्तर्गत समानताको हकमा लैंगिक पहिचानको आधारमा कहीँ कतै विभेद नगर्ने भन्ने उल्लेख छ । सोही मर्मअनुसारको कानुन बन्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन । मुख्य गरी संविधान, कानुन भनेको हामीले आफ्नो अधिकारका लागि लड्ने एउटा आधार हो, यसलाई सपोर्ट गर्ने अन्य नीतिगत कुरा हुनु आवश्यक छ । सामाजिक विभेद राज्यको नीति, कानुन नभएका कारण गाह्रो छ । संविधान र कानुनभन्दा बाहिर रहेर मानिसले गाँस, वास र कपासका लागि गर्ने संघर्ष नै मुख्य पाटो हो । यसका लागि व्यक्ति आर्थिक रूपमा समृद्ध हुनुपर्छ । एलजिबिटिआई समुदायका मानिसलाई आरक्षणको व्यवस्था गर्ने, नीति निर्माणको तहसम्म लैजाने, विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने, विभिन्न तह र तप्कामा अवसर सिर्जना गर्ने, आर्थिक उपार्जनका लागि वातावरण बनाइदिने हो भने हामी केही हदसम्म माथि उठ्न सक्थ्यौँ भन्ने लाग्छ ।

परिवर्तन र उपलब्धि
हामीले सन् २००१ देखि पहिचानका लागि संघर्ष गरेका हौँ । अहिले १६–१७ वर्ष भइसक्यो । यस समयावधिमा धेरै परिवर्तन भएको छ । त्यसअघि समाजमा समलिंगी र तेस्रोलिंगी छन् भन्ने स्विकार्न गाह्रो थियो । नेपालमा यस खालको समुदाय एकजुट भएर आवाज उठाउने वातावरण थिएन । सबैजना लुकेर, आफ्नो पहिचान लुकाएर बसेका थिए । फरक यौनिकता र लैंगिकता प्राकृतिक हो र यो मानवअधिकारभित्र पर्छ भन्ने यस समुदायलाई ज्ञान थिएन । तर, हामीले संघर्ष गर्दै अधिकारको आवाज उठाएसँगै जागरण बढ्दै गएको छ । हामीले चालेका विभिन्न अभियानका कारण संविधानको धारा १२, १८ र ४२ मा हाम्रो अधिकार समावेश गरिएका छन् । पहिले समाज संकुचित थियो, हाम्रा मुद्दाहरू बुझ्न सकिएको थिएन, तर अहिले त्यो अवस्था छैन । व्यक्तिगत रूपमा पनि खुलेर आफ्ना अधिकार स्थापनाका लागि आउन सक्ने वातावरण सिर्जना भएको छ । ७, ८ र ९ कक्षाको ‘हेल्थ एन्ड फिजिकल एजुकेसनको’ करिकुलममा पनि एलजिबिटिआईको इस्यु समेटिनु र नागरिकतामा महिला र पुरुषबाहेक अन्य उल्लेख गर्ने प्रावधान सुरुवात हुनुलाई पनि हामीले उपलब्धिका रूपमा लिएका छौँ ।

(गुरुङ नीलहिरा समाज नेपालकी अध्यक्ष हुन्, नयाँ पत्रिकाबाट ।)

प्रतिक्रिया दिनुहोस
करका दर व्यापारीले तोक्छ, जनता लुटिएको छ : अध्यक्ष ओली

      नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारबाट जनता लुटिएकाले

मुख्यमन्त्री र मन्त्रीहरु नै देउवा सरकारविरुद्ध धर्ना

    पटक-पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्ध

१ करोड ३० लाखले मतदान गर्ने निर्वाचन आयोगको अनुमान

      मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १

राष्ट्रपतिले नागरिकता विधेयक फिर्तागर्ने संकेत

        राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने